कला

स्वस्तिमासँग निश्‍चलको ‘चट्ट रुमाल’

इकागज |
कात्तिक ३, २०७७ सोमबार १४:२३ बजे

तस्बिर सौजन्य : तिभेश एलसी

काठमाडौं : अहिले मनोरञ्‍जनमा म्युजिक भिडियोको दबदबा छ ।  दिनकै ३० वटासम्म गीत सार्वजनिक हुने गरेको पत्याइनसक्ने आँकडा छ । फिल्मका हिरो हिरोइन म्युजिक भिडियोमा व्यस्त छन् । म्युजिक भिडियोको यो माहोलले निश्‍चल बस्‍नेतलाई पनि तानेको छ । महेश काफ्लेको आवाजमा रहेको गीत ‘नाच फिरिरी’ निर्देशन गरेका निश्‍चल दोस्रो पटक म्युजिक भिडियो निर्देशन  गरेका छन् । 

आइतबार उनले ‘चट्ट रुमाल’ बोलको गीतको सुटिङ गरे । अघिल्लो पटक अरुको आवाजलाई निर्देशन गरेका निश्‍चलले यो पटक भने गीत पनि आफैं गाएका छन् । रोशन थापाको संगीत रहेको गीतमा उनले निर्देशनसँगै अभिनय पनि गरेका छन् । आवाजमा भने उनले मुस्कान रानाभाटको साथ लिएका छन् जो नेपाल आइडलको तेस्रो सिजनकी प्रतिस्पर्धी थिइन् । 


अभिनयमा भने उनले स्वस्तिमा खड्कासँग जोडी बाँधेका छन् । निश्चलले फिल्मका लागि भनेर राखेको गीतको म्युजिक भिडियो बनाएको बताए । ‘गीत मन परेर फिल्ममा राख्नु पर्‍यो भनेर राखिराखेको थियौं । तर, फिल्म कहिले कहिले भन्ने जस्तो छ । दसैंको मुखमा रमाइलो खालको गीत जाओस् भनेर सुटिङ गरियो,’ निश्‍चलले भने, ‘लोकलयमा डान्सिङ नम्बरको गीत छ । चाडपर्वमा मज्जाले नाच्‍न मिल्छ ।’ निश्‍चलले गीत दसैंअघि नै सार्वजनिक गर्ने तयारी गरिरहेको पनि बताए । निश्‍चल र स्वस्तिमाले म्युजिक भिडियोमा सहकार्य गरेको यो दोस्रो अवसर हो । यसअघि उही ‘नाच फिरिरी’मा निश्‍चल र स्वस्तिमा सँगै देखिएका थिए । 

निर्देशन पछि बस्‍नेतको रूची गायन हो । आफ्नो पहिलो चलचित्र ‘लुट’मै गायकी देखाएर दर्शक-स्रोताको माया जितेका निश्‍चलले त्यसयता थुप्रै चलचित्रको पार्श्र्व गायन गरेका छन् । ‘पर्व’ फिल्मको ‘काले दाइ’, ‘बुलबुल’को ‘खुद्राखाद्री’ ‘गरुण पुराण’को ‘म त पिरिममा पर्‍याछु’ उनको आवाजमा हिट भएका केही प्रतिनिधि गीत हुन् । 


 
 


Author

थप समाचार
x