कला

शुक्रबारबाट हलमा कुन  फिल्म हेर्न पाइन्छ ?

इकागज |
पुस ६, २०७७ सोमबार १३:३० बजे

काठमाडौं :  आउँदो शुक्रबारटबाट देशभर हल खुल्दैछन् । सरकारले औपचारिक रुपमा अनुमति नदिए पनि हल व्यवसायीले जबर्जस्ती हल सञ्चालन गर्ने निर्णय गरेका छन् । सरकारले हल व्यवसायीको यो सूचनामा कुनै प्रतिक्रिया दिएको छैन । तर, शुक्रबारदेखि हल खुल्दा हलमा दर्शकले कुन फिल्म हेर्न पाउँछन् ? हल व्यवसायीले औपचारिक रुपमा बताएका छैनन् ।

यसले हल खुल्ने समय नजिकै आइसक्दा पनि के गर्ने भन्ने अन्यौल व्यवसायीमा छ । अष्टनारायण हलका मालिक सोहित मानन्धरको अनभिज्ञताले यही पुष्टि गर्छ । हामीले उनलाई तपाईंको हलमा कुन फिल्म लाग्दैछ भनेर सोधेका थियौं । उनको जवाफ थियो, ‘थाहा छैन, पुरानै फिल्म लाग्छ होला’ । उनले इकागजलाई बुझेर बताउने जवाफ फर्काए ।


यता मुलुकको ठूलो सिनेमा हल चेन क्युएफएक्सले भने पुरानो फिल्मसँगै ‘मुलान’ रिलिज गर्ने तयारी गरिहेको छ । क्युएफएक्सको वितरण विभाग हेर्ने रुबेन श्रेष्ठले शुक्रबारबाट चल्दा चल्दै थाँती रहेको ‘ब्लडसेड’ र नयाँमा ‘मुलान’  रिलिज गर्ने तयारी गरिरहेको जानकारी गराए । तर, ‘मुलान’ को भने सेन्सर भइसकेको छैन । सरकारले औपचारिक रुपमा हल खोल्ने अनुमति नदिएकाले सेन्सर होला कि नहोला भन्ने दुविधा छ ।

तर, सेन्सर बोर्ड सदस्य शिव त्रिपाठीले प्रक्रिया पूरा गरेर आएका फिल्मको सेन्सर भइरहेको प्रतिक्रिया दिए । उनले नयाँ फिल्म पनि रोक्ने आफूहरूको कुनै नीति नभएको पनि जानकारी गराए । ‘छायांकनका लागि पनि मन्त्रालयले अनुमति दिइसकेको छ । हल खोल्ने विषयमा पनि छलफल चलिरहेको छ । सेन्सर रोक्ने भन्ने कुरा छैन । प्रक्रिया पूरा गरेर आएका फिल्मको सेन्सर हुन्छ,’ त्रिपाठीले इकागजसँग भने । 

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले शुक्रबारबाट धेरै हलमा ‘ सेन्टि भाइरस’ र ‘आमा’ लाग्ने जानकारी गराए । सरकारले महामारीका कारण हल बन्द गर्ने निर्णय गर्नुअघि सिनेमा घरमा यिनै दुई नेपाली फिल्म चलिरहेका थिए । उनले पुसमा जाडो धेरै हुने भएकाले माघ देखि भने नयाँ फिल्म पनि रिलिज हुन सक्ने संकेत गरे । ‘पुस त्यसै पनि हलमा दर्शक आउने समय मानिन्न । त्यसैले धेरै अपेक्षा राखेका छैनौं । माघ देखि भने नयाँ फिल्म रिलिज गर्ने र चलचित्र विकास बोर्डले डिजिटाइज गरेका पुराना फिल्म पनि लगाउने सल्लाह भइरहेको छ,’ प्रधानले भने । 

हल खुले पनि ताजा र स्टारभ्यालु भएका फिल्म हलमा नआउँदा दर्शक नआउने संकेत पाइएको छ । भारतले अक्टोबर १५ देखि हल खोल्ने निर्णय गरे पनि दोहोर्याएर रिलिज भएका फिल्ममा दर्शक आएका थिएनन् । ठिकैका कलाकार भएका एकाध नयाँ फिल्म रिलिज हुँदा पनि दर्शकको चाप देखिएको छैन । 


 


Author

थप समाचार
x