कला

‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट

इकागज |
कात्तिक ३, २०७७ सोमबार १७:० बजे

काठमाडौं : मोहन राई निर्देशित फिल्म ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्म एसियन सेलेक्टअन्तर्गत  दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको हो । नेटप्याक एसियाका २९ देशका फिल्मकर्मीको साझा संगठन हो । नोभेम्बर महिनाको ५ तारिखदेखि १२ तारिखसम्म कोलकातामा हुने फेस्टिभलको यो २६ औं संस्करण हो ।

‘अञ्‍जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यु फिल्म हो । ‘अञ्‍जली’ तेस्रो लिंगी अञ्‍जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो  भने ‘सखी’ छोटो फिल्म । 


तीन वर्षअघि घोषणा भए पनि फिल्म बल्ल तयार भएको हो । मेहनत गरेर काम गर्दा गर्दै  समय लागेको निर्देशक राईले बताए । ‘केही हाम्रै कारणले पनि ढिला भयो । अनि अलिकति चैं मेनुकाजी (मेनुका प्रधान)को इन्जुरीले पनि दुःख दियो । ढिला भए पनि दुरुस्त आएका छौं,’ राईले भने । 

फिल्ममा एक रातको कथा समेटिएको छ । ‘एउटा दुर्घटनाले दुई अपरिचित भेट हुन्छन् र बाध्यताले एक रात सँगै गुजार्छन् । बिहान आ-आफ्नो बाटो लाग्‍नुअघि रातको समयमा देखिने काठमाडौं, फिल्मको कथा हो,’ राईले भने । फिल्ममा कर्मा, मेनुका प्रधान, जीवन बराल आदि कलाकारको अभिनय रहेको छ । 

निर्देशक राईले विदेशका अन्य फेस्टिभलमा पनि फिल्म पठाइरहेको र फेस्टिभल चाहारेपछि मात्र नेपाल रिलिजको बारेमा सोच्‍ने बताए । महामारीका कारण विश्‍वका धेरै फिल्म फेस्टिभल झैं यो फेस्टिभल पनि भर्चुअल नै हुनेछ । 


Author

थप समाचार
x