मुख्य कलाकारको डबिङविनै रिलिज हुँदै ‘एउटा यस्तो प्रेम कहानी’, वर्षा भन्छिन् ‘सुटिङ नै सकिएको छैन ।’
फिल्मको घोषणा समारोहमा आफ्ना छोराछोरीका साथ शिव श्रेष्ठ र करिष्मा मानन्धर ।
काठमाडौं : हल खुल्ने घोषणासँगै थाँती रहेका फिल्मले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । केही दिनअघि ‘लप्पन छप्पन २’ले आउँदो दसैँमा फिल्म रिलिज गर्ने घोषणा गरिसकेको छ । यसैबीच शिव श्रेष्ठको निर्माण रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शनको मिति तोक्न लागेको खबर छ । निर्देशक दीपेश सापकोटाले माघ १ मा प्रदर्शन गर्ने गरी फिल्मको काम धमाधम भइरहेको जानकारी गराएका छन् । उनले इकागजसँग कुराकानी गर्दै भने, ‘हो, शिव दाइले माघमा फिल्म रिलिज गर्नुपर्छ । फिल्म तयार राख्नु भन्नु भएको छ । हामी युद्धस्तरमा काम गरिरहेका छौं ।’
माघ १ फिल्म रिलिज गर्ने घोषणा केही दिनमै भव्य कार्यक्रम गरी गर्ने तयारी भइरहेको पनि उनले जानकारी गराए । तर, इकागजलाई प्राप्त सूचना अनुसार फिल्मको डबिङको काम नै बाँकी छ । फिल्मका मुख्य कलाकार प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, आयुष्मान जोशी,शक्ति श्रेष्ठ, कविता मानन्धर कसैले पनि डबिङ गरेका छैनन् । निर्माण टिमले उनीहरूको आवाजको साटो अरु कसैको आवाज राखेर फिल्म हलमा पठाउने तयारी गरिरहेको छ । निर्देशक सापकोटाले डबिङको काम बाँकी रहेको स्वीकार्दै कलाकारसँग सम्पर्कको प्रयास भइरहेको बताए ।
‘यो निर्माण टिमले गर्ने काम हो । निर्माताले प्रयास गरिरहेका छौं भन्ने जानकारी गराउनु भएको छ । उहाँहरू आउने बित्तिकै डबिङको काम सुरु हुन्छ,’ उनले भने ।
तर, अभिनेत्री वर्षा राउतलाई यही विषयमा जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरिन् । उनले फिल्मको सुटिङ र पेमेन्ट दुवै बाँकी रहेको बताइन् । ‘रिलिजको कुरा थाहा छैन । डबिङ त के फिल्मको पुरा सुटिङ नै भएको छैन । हामीले पूरा पैसा पनि पाएका छैनौं,’ वर्षाले भनिन् । यो फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यु गरेका थिए । तर, निर्माण भएको लामो समयसम्म पनि रिलिज हुन नसक्दा दुवैको डेब्यु फिक्का हुने अनुमान गर्न थालिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया