कला

नेपाल-भारतमैत्री संयुक्त सांस्कृतिक कार्यक्रम काठमाडौंमा सम्पन्न

इकागज |
मंसिर ५, २०७८ आइतबार २०:० बजे

काठमाडौँ – संस्कृति र कूटनीति क्षेत्रमा सक्रिय भारतीय चार संस्थाको सहकार्यमा आइतबार काठमाडौंमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विश्व भारती स्कूल काठमाडौं, संस्कृति भारत, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको आयोजनमा नेपाल–भारतमैत्री सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गरेको कार्यक्रममा भारतीय गायिका रञ्जना झा, नर्तकहरू सुश्री यामिनी शर्मा र सुश्री रिजुला मिश्र, नेपालका स्वजन रघुवंशी समूह र सीबीएसइ स्कूलका विद्यार्थीले प्रस्तुति दिएका छन् ।


कार्यक्रमका सम्मानित अतिथिसमेत रहेका ठाकुरले नेपाल र भारतको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीबीच सदियौं पुरानो सम्बन्धलाई प्रवर्द्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताए ।

सो अवसरमा विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव नवीन कुमारले नेपाल र भारतका कलाकारको रमाइलो प्रस्तुति र कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद ज्ञापन गरे । भारतको स्वतन्त्रताको ७५  वर्षोत्सव मनाउन भारत सरकारको पहलमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
 


Author

थप समाचार
x