कला

किन युट्युबमा धमाधम रिलिज हुँदैछन् नेपाली फिल्म ?

इकागज |
पुस ९, २०७७ बिहीबार १६:४८ बजे

काठमाडौं :  नेपाली फिल्मको सबैभन्दा ठूलो लाइब्रेरी बनाएको ओएसआर डिजिटलको च्यानलबाट  विगत एक महिनामा ५ वटा ठूला भनिएका फिल्म रिलिज भए ।  यसरी रिलिज भएका फिल्ममा ‘साइँली’, ‘जात्रैजात्रा’ ‘प्रसाद’ , ‘क्याप्टेन’ मुख्य हुन् । ओएसआरले बुधबार मात्रै ‘वीरविक्रम २’ रिलिज गरेको छ । यता युट्यबुमा सकभर रिलिज नगर्ने अडान लिएर बसेको ‘छक्का पञ्जा ३’ पनि बुधबार नै युट्यबुमा रिलिज भएको छ ।

यो फिल्म हाइलाइट नेपालको च्यानलबाट रिलिज भएको हो । बिहीबार बिहान अचानक बुढासुब्बा डिजिटलले पनि ‘साङ्लो’ रिलिज गर्ने सूचना जारी गर्यो । बिराज भट्टको डेब्यु निर्देशन रहेको फिल्म पनि सूचना जारी गरेको केही केही घण्टापछि नै युट्युबमा सार्वजनिक भयो । अहिले नेपाली फिल्मको डिजिटल अधिकार मुख्यतः तीन कम्पनीले लिँदै आएका छन् । हाइलाइट्स नेपालले आजभोलि नेपाली फिल्म लिन कम गरेको छ तर उसँग पहिले नै लिएका फिल्मको स्टक राम्रै छ । बुढासुब्बा र ओएसआर भने नेपाली फिल्म लिने मामलामा एक अर्काका प्रतिस्पर्धी हुन् ।


त्यसैले कतै प्रतिस्पर्धाका कारण यसरी एकै पटक युट्यबुमा फिल्म रिलिज हुन लागेका त होइनन् ? ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले प्रतिस्पर्धाभन्दा पनि दुई कारणले आफूले युट्यबुमा फिल्म रिलिज गरेको जानकारी गराए । ‘पाइरेसी र युट्युब पोलिसी । दुई कारणले हामीले युट्युबमा बाँकी फिल्म रिलिज गर्ने निर्णय गरेका हौं,’ इकागजसँगको कुराकानीमा ओमले बताए ।

उनका अनुसार उनले पछिल्लो समय युट्युबमा राखेका फिल्म भिडियो स्ट्रिमिङ साइटमा पनि राखेका थिए । तर, यहाँ राखेका सबै फिल्म पाइरेसीको चपेटामा परे । पाइरेसी रोक्न प्रहरी प्रशासनसँग हार गुहार गरे तर पर्याप्त सहयोग पाएनन् । बाध्य भएर उनले ती सबै फिल्म भिडियो स्ट्रिमिङ साइटबाट निकाले । अचानक युट्यबुमा फिल्म रिलिज गर्न हतारो गर्न पर्ने दोस्रो कारण चाहिँ युट्यबु स्वयं हो । ओमका अनुसार आउँदो जनवरी महिनादेखि युट्युबले रेभिन्यु पोलिसीमा परिवर्तन ल्याउँदैछ । यसले भिडियोवापत् आउने पैसामा उल्लेख्य कटौती गर्ने आशंका छ ।

यही डरका कारण पनि कम्पनीले जनवरी नलाग्दै युट्युबमा फिल्म रिलिज गर्ने निर्णय गरेका हुन् । ओएसआरका फिल्म झैं ‘छक्का पञ्जा ३’ पनि हालै पाइरेसीको मारमा परेको थियो । चलचित्र टिभी एपमा राखेको फिल्म पाइरेसी भएर हात हातमा पुगेको थियो । पाइरेसी भएपछि युट्युबमा हेर्ने दर्शक संख्यामा कमी आउने डरले हाइलाइटले पनि हतार हतार फिल्म युट्युबमा हालेको अनुमान गर्न सकिन्छ । नत्र हाइलाइटले डिजिटल अधिकार लिएका धेरै फिल्म युट्यबुमा सार्वजनिक भएका छैनन् ।


Author

थप समाचार
x