कला

एक लाख जितेको ‘अन्तिम अतिथि’ कथा पढ्नुहोस्

मनोजादित्य न्यौपाने |
मंसिर ९, २०७८ बिहीबार १३:५२ बजे

मैले एउटा निम्तोपत्रमा लेखे“ –
–‘मृत्यु, तिमी जहा“ भए पनि मेरो जन्मदिनमा आऊ । आउ“दा मेरा नाङ्गा आँखाले देखिने स्वरूपमा आऊ  । तिम्रो ठेगानामा निम्तो पुर्‍याउने मानिस कोही पनि नभएकाले यो पत्र मैसँग रह्यो ।’

साँचो कुरा त, मैले ठेगाना नै लेखेको थिइन । ‘यमलोक’ लेख्न मनले मानेन । अर्को शब्द तत्काल सुझेन । यो निम्तोपत्र अरूलाई  देखाउन पनि मन लागेन । त्यसैले यसलाई नीलो आवरण भएको डायरीभित्र लुकाएँ ।
००
म पचास वर्ष पुगेर एक्काउन्नौँ वर्षमा प्रवेश गर्दै थिएँ । यसलाई राम्रैसँग मनाउने इच्छा अमेरिका बस्ने छोराले गर्‍यो । जन्मोत्सव मनाउने खर्च पठाइदिने भएपछि उसले भनेअनुसारको काम गर्नैपर्‍यो । छोरोको अनुरोध थियो – ‘एकाउन्न वटा मात्र निम्तापत्र छाप्नू । निम्तापत्र पठाउनू अघि अतिथिलाई फोन गरेर त्यसदिन तिनीहरू आउन भ्याउने हुन्; होइनन्; त्यो सुनिश्चिित गर्नू । नभ्याउने रहेछन् भने निम्ता पत्र नपठाउनू । घरपट्टि र मावलीपट्टिकालाई फोनबाटै खबर गर्नू ।’
अर्डर एकाउन्न वटाको भए पनि प्रेसले बाउन्न वटा निम्तोपत्र पठाएछ । एकाउन्न वटा पत्रमा लेख्ने नामको सूची तयार थियो । त्यही हेर्दै खुरुखुरु नाम लेखियो । बाँकी रह्यो ५२औँ नम्बरको कार्ड । यसमा केही लेख्नुपर्ने बाध्यता त थिएन तर मलाई खाली पनि छोड्न मन लागेन । के लेखूँ; के लेखूँ; लाग्यो । कुनै जीवित मान्छेको नाम लेखूँ त, त्यो छोराको इच्छा विपरीत हुन्थ्यो । लेखूँ के ? सोच्दै जाँदा निम्ता मान्न नआउने एउटा नाम सुझ्योे – ‘मृत्यु’ । मृत्यु नाम गरेको मानिस दुनियाँमै छैन भन्‍ने लाग्यो ।
००
 जन्मोत्सवको राति एघार बजेसम्ममा मैले निम्तोपत्र पठाएका पचास जना व्यक्ति उपस्थित भए । निम्तार्थी गुमनाम क्षेत्री भने बिरामी भएर अस्पताल भर्ना भएकाले उपस्थित हुन सकेनन् । अरू सबै अतिथि बिदा भइसकेका थिए । क्याटरिङका कामदारहरू थान्कोमुन्कोमा लागे । छोराको इच्छा पूरा गर्न नसकेकोमा मलाई नमज्जा लागिरहेको थियो । यत्तिकैमा एकजना अपरिचित व्यक्ति हात हल्लाउँदै मछेउ आए र – ‘ओइ मनोज, म पनि आएँ है निम्ता मान्न ।’– भने ।


मैले कहिल्यै नदेखेको अनुहार थियो; तर कताकता चिनेजस्तो पनि लाग्यो । नियालेर हेरेँ, उसको अनुहार विश्वप्रसिद्ध लेखक खलील जिब्रानसँग दुरुस्तै मिल्थ्यो । खलीलकै जस्तै ठूलो निधार, आँखा पनि उस्तै आकर्षक, जुँगा पनि खलील शैलीको । एकाउन्न वटा कार्डमा मैले ज–जसका नाम लेखेँ, ती सबैलाई म चिन्थेँ । तीमध्ये कसैको पनि अनुहार खलीलसँग मिल्दैनथ्यो । मैले खलील जिब्रानसँग यसरी अनुहार मिल्ने मान्छे देखेको यो नै पहिलोचोटि थियो । लाग्यो, मलाई ‘ओइ’ भन्‍न सक्ने भनेपछि पक्कै राम्रोसँग चिनाजानी भएको मान्छे हुनुपर्ने हो । कस्तो अफ्ठ्यारो ! चिनिनँ भन्‍न पनि नमिल्ने र कहिले, कहाँ चिनेको हो; त्यो ठम्याउन पनि नसक्ने अवस्था मेरो थियो ।

यो मान्छेलाई कसले बोलायो ? कतै प्रेसवालाले नै त निम्ता बाँडेन ! मनका शङ्का उठ्यो ।

एकछिन पछि ऊ आफैँले परिचय दियो –‘मलाई चिनेनौ ? म मृत्यु ! तिम्रो निमन्त्रणा स्वीकार गर्न आएको ।’

लौ मार्‍यो ! यो त मृत्यु पो रैछ । डरले चिटचिट पसिना आयो । ‘मलाई डर लाग्यो, तिमी जाऊ’– भन्‍न पनि मिलेन । के भन्‍ने के ! सकेसम्म आफूलाई सम्हाल्दै भनेँ– ‘तिम्रो अनुहार त खलीलसँग मिल्दो रहेछ ।’

–‘खलील तिम्रा प्रिय लेखक होइनन् र ?’ – उसले सोध्यो ।

–‘हुन त हुन् तर उनको अनुहार लिएर तिमी आउँछौ भन्‍ने सोचेको थिइन मैले ।’

–‘कस्तो अनुहारको कल्पना गरेका थियौ त ?’

–‘कुनै पनि अनुहारको कल्पना गरेको थिइन । तिमी आउँछौ भन्‍ने विश्वास नै थिएन ।’

–‘मैले कुन अनुहारमा आऊँ; भनेर सोचेँ । गुगलमा सर्च गर्दा तिमीले खलीलका लघुकथा अनुवाद गरेको भेटेँ । त्यसैले यस रूपमा तिमी छेउ प्रकट भएको हुँ ।’

–‘तर म खलीललाई जीवनका रूपमा मात्र सम्झन्छु । मृत्युका रूपमा त कल्पना पनि गर्न सक्तिनँ । खलीलको अनुहार लिएर तिमी मकहाँ आउने कुराको कसरी कल्पना गर्नू !’

मृत्यु हाँस्यो । उसको हाँसो अनौठो थियो । यो देखेर मभित्र पहिरो जान थाल्यो । ऊ भने मायालु पाराले मलाई हेरिरहेथ्यो ।

–‘जीवन र मृत्यु अलग अलग कुरा हुन् र होइनन् पनि । होइनन् भन्‍नु अझ ठीक होला ।’– उसले  दर्शन बोल्यो ।

मैले प्रसङ्ग बदल्नु ठीक सम्झिएँ – ‘किन ढिलो आयौ ?’

–‘अरू सामु मेरो परिचय खुलाउन मन लागेन ।’ – उसले भन्यो । उसको उत्तर सुनेर म मुस्कुराएँ ।

–‘किन मुस्कुरायौ ?’ – उसले सोध्यो ।

–‘मृत्यु डराएको देखेर ।’

–‘डराएको होइन । अरूलाई अनाहकमा भयभीत तुल्याउनु हुँदैन भन्‍ने ख्याल गरेको ।’

–‘म भयभीत भएको चाहिँ तिमीलाई थाहा रैनछ ।’ – घाँटीसम्म आएको यो वाक्य मैले मुखमा ल्याउन सकिनँ । निम्तो गर्नु र भयभीत छु, भन्‍नु अशिष्ट हुन्छ जस्तो लाग्यो ।

–‘तिमी भयभीत हुन्छौ कि भनेर मैले यहाँ नआउने सोच बनाएको थिएँ । पछि गुमनाम क्षेत्री अनुपस्थित भएको थाहा पाएर आउने निर्णय गरेँ । तिम्रो छोराको इच्छा अपूर्ण नहोस् भनेर मात्र म आएको हुँ ।’

–‘मेरो छोराको इच्छा पूरा गरिदिएकोमा म कृतज्ञ छु ।’

ऊ फेरि मुस्कुरायो । अघिको अनौठो हाँसो अहिले मीठो लाग्यो ।

सोधेँ– ‘कुन मदिरा पिउँछौ ? रेड लेबल, ब्ल्याक लेबल, कुन ?’

भन्यो –‘तिम्रो देशमा लोकल मीठो हुन्छ भन्थे । मलाई पनि लोकल नै देऊ । तर मिसावट नभएको है ।’

–‘हुन्छ नि, तिमीलाई आज टिम्बुरको खुवाउँछु । तर किन एक पेग मात्र ? यदि एन्टिबायोटिक खाँदै छौ भने त्यो एक पेग पनि खान हुँदैन ।’ मृत्युसँग कुरा गर्दै छु भन्‍ने ख्यालै नगरी बोली त हालेँ ।

तर उसले नराम्रो रूपमा लिएन –‘मृत्युले मात्नु हुँदैन । मात्ने काम जीवनको हो । त्यसैले एक पेग मात्र । आज तिम्रो मृत्युदिन । तिम्रो आग्रह अस्वीकार गर्न नसकेर मात्र एक पेग लिन्छु भनेको हुँ ।’

जब मेरो जन्मदिनलाई उसले ‘मृत्युदिन’ भन्यो :

मेरो अनुहार कालोनीलो भयो । मैले टेकेको जमिन भास्सिँदै गएझैँ लाग्यो । कुहिएको बदाम चपाएजस्तो अनुभूति भयो । उसका अगाडि उभिन सकस पर्‍यो ।
– ‘एकछिन है; म आइहाल्छु ।’ – भनेर घरभित्र छिरेँ ।

मैले लुकाएको निम्तोपत्र छ कि छैन भनेर डायरी पल्टाएँ – ‘मृत्यु’लाई सम्बोधन गरेको निम्तोपत्र त्यहीँ छ । अब मलाई पक्का भयो– यो मान्छे होइन, मृत्यु नै हो । मेरो होश हवास उड्यो ।

श्रीमती निधाएकी रैनछिन् । सोधिन् –‘अझै सकिएको छैन पार्टी ?’

उनको प्रश्नले म नराम्ररी झस्किएँ । उनको सोधाइमा झस्किनै पर्ने त्यस्तो केही थिएन । सामान्य हुँदै भनेँ –‘सकियो भने हुन्छ । तिम्रो टाउको दुखाइ बिसेक भयो कि उस्तै छ ?’

–‘उस्तै छ अझै पनि । कतिजना पाहुना बाँकी छन् ?’

–‘एकजना मात्र । यो मेरो नीलो डायरी कसैले चलाएको त छैन नि ?’

–‘यो कोठामा बाहिरी मान्छे को पस्छ र ! किन, केही हरायो र ?’

–‘एउटा कागत कता राखेँ, कता ? यादै भएन ।’

–‘यतिबेला कागत किन चाहियो ?’

–‘मृत्युलाई देखाउनु थियो ।’

–‘के अलच्छिनी शब्द बोल्नुभएको, त्यो पनि जन्मदिनको दिन ।’

–‘जीवनलाई देखाउन भन्‍न खोजेको थिएँ; जिब्रो चिप्लियो ।’

–‘यसरी पनि जिब्रो चिप्लिन्छ !’

–‘कुरा के भने, क्याम्पस स्तरीय कविगोष्ठीमा उसको मृत्यु शीर्षकको कविता पुरस्कृत भएको थियो । त्यसपछि हामीले उसलाई मृत्यु भनेर जिक्याउन थाल्यौँ । अझै पनि त्यो बानी छुटेको छैन ।’ 

तुरुन्तै यसरी ढाँट कुरा फुरेकोमा मलाई खुसी लाग्यो । नढाँटू त, श्रीमतीले पत्याउने थिइनन् । श्रीमतीको के कुरा, आफैँले पत्याउन सकिरहेको थिइन । नपत्याएरै डायरी पल्टाएथेँ ।  

–‘बाहिर पाहुना राखेर भित्र नअल्मलिनुस् ।’– श्रीमतीले भनिन् ।

साँचो कुरा त, पाहुनासँग डराएर म भित्र आएको थिएँ । तर यो कुरा श्रीमतीलाई भन्‍न भएन । डराईडराई बाहिरिएँ ।

मृत्यु भुटेका काजुसँग टिम्बुरको मदिराको अन्तिम चुस्की लिँदै थियो ।

–‘तिमी तनावमा देखिन्छौ नि ! कुरा के हो ?’ उसले सोध्यो ।

तनावको कारण तिमी नै हौ, भन्‍न भएन । – ‘श्रीमतीलाई सञ्चो छैन । औषधि खाइन्, खाइनन् भनेर सोध्न गएको ।’– भनेँ । 

मेरो कुरा सुनेर ऊ यसरी हाँस्यो, मानौँ मैले झूट बोलेको कुरा उसलाई सबै थाहा छ । त्यसो त ऊ हाँस्ने कारण अरू नै पनि हुन सक्थ्यो । तर त्यो सोध्ने आँट मसित थिएन ।

–‘अरू एक पेग थपौँ ?’– मैले सोधेँ ।

–‘भो, पुग्यो ।’– उसले भन्यो ।

–‘अब डिनर लेऊ न त ।’

–‘पर्दैन । म बेलुका खाना खान्नँ ।’

कतिखेर यो यहाँबाट जान्छ जस्तो भइरहेको थियो । उसले खान्नँ भन्दा साह्रै खुसी लाग्यो । डरले गर्दा केही सोच्न सकिरहेको थिइन । उसले जान्छु भन्‍नुअगाडि नै फ्याट्ट बोल्नपुगेँ –‘आउँदै गर । फुर्सदमा कुरा गरौँला ।’ – यो मैले मनले बोलेको थिइनँ । अरू अतिथिसँग बोलेकै वाक्यलाई कपी–पेस्ट गरेको थिएँ ।

–‘अब त म आइरहन्छु नि । मलाई तिमी औधी मनपर्‍यौ ।’

कहिल्यै छुटकारा नपाइने स्थिति पो देखियो । के गर्ने होला ! भीषण आँधीहुरी बीचको पानीजहाज बनेँ म । त्यसो त उसले मसँग कुनै नराम्रो व्यवहार गरेको थिएन । सँगै गोठालो जाँदाको साथीले जस्तो ‘ओइ’ भनेर आत्मीयता प्रकट गरेको थियो । उसले ओइ नभनेको भए, म उसलाई तिमी भन्‍न कहाँ सक्थेँ ! तर ऊ मान्छे होइन भन्‍ने बोधले म लगलग कामिरहेको थिएँ । राति निन्द्रा परेन । यता फर्किन्छु; यतै ऊ नै देखापर्छ । उता फर्किन्छु; उतै ऊ नै देखापर्छ । बिहानीपख कतिखेर निधाएँछु । एकैचोटि दिउँसो एक बजे बिउझिएँ ।

बिउँझिनासाथ डायरीको पाना पल्टाउन मन लाग्यो । कतै निम्तोपत्र गायब त भएको छैन ! तर डरले डायरीतिर हात लम्काउन दिए पो ! भित्तामा भएको खलील जिब्रानको तस्बिरमा आँखा परे । आफूलाई अति मन पर्ने ती लेखकको तस्बिरसँग आँखा जुधाउन सकिनँ । लाग्यो, त्यो तस्बिर खलील जिब्रानको नभएर हिजो निम्ता मान्न आउने अन्तिम अतिथिको होे । कुर्सी माथि चढेर तस्बिर झिकेँ र दराजको पछाडिपट्टि राखेँ । राख्दा तस्बिरको अग्रभाग भित्तातिर फर्काएँ ।

यत्तिकैमा मोबाइलको रिङटोन बज्यो । मैले उठाएँ –‘मनोज, गुमनाम क्षेत्री त बितेछन् नि । साँझतिर पशुपति ल्याउने रे । तिमी त्यहाँ आउँछौ कि आउँदैनौ ? आउँछौ भने म पनि आउँछु भनेर फोन गरेको ।’ 

मलाई लाग्यो, गुमनाम क्षेत्रीलाई मार्ने यही हो । पशुपति जाऊँ त यो हत्यारासँग भेट हुन्छ । त्यसैले शवयात्रामा सामेल नहुने निधो. गरेँ ।

००

सोचेँ, यसरी डराएर कसरी बाँच्न सकिन्छ ! समाधान नखोजी भएन । त्यसका लागि मेरा मनोचिकित्सक मित्र खगेन्द्र सुवेदीलाई फोन गरेँ र रिठ्ठोे नबिराई सबै घटना सुनाएँ ।

उनले भने–‘त्यो अरू कोही होइन, तिम्रै छायाँ हो ।’

–‘कसरी छायाँ हो ? उसलाई क्याटरिङ सर्भिसका कामदारहरूले देखेका छन् ।’

–‘तिमीले उससँग हात मिलायौँ ? फोटो खिच्यौ ?’

–‘ए, बाबा ! मृत्यु भनेर चिनेपछि कसैले उससँग फोटो खिच्ला त !’

–‘पार्थिव रूपमा मरिसकेका खलील जिब्रानसँग उसको अनुहार मिलेकाले तिमीले उसलाई मृत्यु ठानेका हौ । कुरा यत्ति हो ।’

–‘यदि ऊ मृत्यु होइन भने निम्तो मान्न कसरी आयो ? निम्तोपत्र त मैसँग छ । त्यसमा मैले उसको नाम लेखेको कसरी थाहा पायो ?’

–‘मलाई लाग्छ, तिमी भयभीत भएको देखेर उसले आफ्नो साँचो परिचय दिएन । अर्को कुरा, उसले मृत्यु हुँ भनेर तिमीसँग ठट्टा गरेको पनि त हुनसक्छ ।’

–‘तिमी के कुरा गर्दैछौ यार ! उल्टो मलाई पो पागल साबित गर्न खोज्दै छौ ।’

–‘नरिसाऊ न । भोलि दिउँसो दुई बजे क्लिनिकमा आऊ । बसेर कुरा गरौँला । आउँदा मृत्युलाई पनि सँगै लिएर आउनू ।’

–‘सँगै ल्याउन सक्तिनँ म ।’

–‘फोन गरेर भोलि दुईबजे म पुतली सडकको भय निवारण क्लिनिकमा हुन्छु, भन न । ऊ आइहाल्छ नि ।’

–‘आएन भने ?’ 

–‘ऊ नआए, हामी मात्र बसेर कुरा गरौँला ।’

भोलिपल्ट डेढ बजे नै पुगेँ म भय निवारण क्लिनिकमा । 

खगेन्द्रले ‘कल–ट्रू’मा मृत्युले गरेको फोन नम्बर चेक गरे । त्यो नम्बर जीवन शर्माको नाममा दर्ता रहेछ ।

– ‘देख्यौ त, यो मान्छेको नाम जीवन शर्मा रहेछ । तिमी त्यसै अत्तालिन्छौ ।’– खगेन्द्रले भने ।

–‘उसले खलीलको रूप धारण गरेझैँ सिम पनि अर्कैको प्रयोग गरेको पनि त हुनसक्छ ।’– मैले भनेँ ।

–‘अरे मनोज, तिमी आजको युगमा आएर पनि यमराज नै तिम्रो जन्मदिनको निम्ता मान्न आएजस्तो कुरा गर्दैछौ ।’

००

त्यही बेला मेरो मोबाइल कल आयो –‘ओइ मनोज, म मृत्युु बोल्दै छु । तिमी कहाँ छौ ?’

– ‘म त क्लिनिकमा आइसकेँ ।’

–‘ल म पनि आइपुगेँ ।’

ऊ कोठाभित्र पस्दा नपस्दै मलाई हकार्न थाल्यो –‘डरछेरूवा ! मलाई भय निवारण क्लिनिकमा भेट्न बोलाउने ! के म बिरामी भएको छु !’

खगेन्द्रले कुरो मिलाउँदै भने –‘म खगेन्द्र सुवेदी, यो मेरै क्लिनिक हो । र, यहाँ बिरामी मात्र आउँदैनन् ।     मैले तिम्रो चर्चा सुनेर भेट्न खोजेको हुँ । तिमीलाई यहाँ हार्दिक स्वागत छ ।’

–‘धन्यवाद । म मृत्यु । यही हो मेरो परिचय । र, म बिरामी होइन ।’

–‘तिमीलाई त खलील जिब्रान भने पनि हुने रैछ ।’ 

–‘हिटलरसँग मेरो अनुहार मिलेको भए, हिटलर भन्‍नै रहेछौ तिमीले त ।’ 

–‘त्यसो त भन्‍ने थिइन ।’ खगेन्द्रले भने ।

–‘अनुहार हेर्न मात्र त मलाई भेट्न खोजेका होइनौ होला । भन, किन भेट्न चाह्यौ ?’ मृत्युले सोध्यो ।

–‘सबै मृत्युको भयसँग डराउँछन् । मेरो क्लिनिकको नाम नै भय निवारण छ । भय निवारण गर्न अरू मकहाँ आउँछन् । अनि, तिमीलाई मैले भेट्नु परेन त !’

मृत्यु खित्का छोडेर हाँस्यो । हामी सबै उससँगसँगै हाँस्यौँ । उसको जस्तो खित्का छोडेर चाहिँ होइन ।

–‘मृत्युसँग डराउनु मूर्खता हो । मृत्यु छ र नै जीवनको यति महत्त्व छ । मृत्यु छ र नै परिवर्तन यति अर्थपूर्ण छ । मृत्योर्मा–अमृतं–गमयको अर्थ बोध गर्न नसक्नेहरू डराउँछन् मृत्युसँग ।’ मृत्युले मतिर फर्केर कुरा टुङ्ग्यायो ।

म केही बोलिनँ । भित्रभित्रै जतिसुकै डराए पनि नडराएको अभिनय गरेर बसेँ ।

खगेन्द्रले मतिर हेरेर भने – ‘कसो भनेपछि यसो भन्‍नुपर्‍यो नि ।’

–‘मृत्युको बारेमा मृत्युले व्यक्त गरेको विचारप्रति असहमति कसरी राख्न सक्छु र म ?’ – मैले केही नभन्‍नुको कारण बताएँ ।

–‘तिमी असहमति राख्न स्वतन्त्र छौ । मनको कुरा बोल । ढाँट्छौ भने पनि म दुःखी हुन्नँ ।’ –मृत्युले भन्यो ।

मैले ढाँटेको चाल पाएर मृत्युले ममाथि व्यङ्ग्य गरेझैँ लाग्यो । गुमनामपछि मर्ने मेरै पालो हो जस्तो लाग्यो । यस्तो अनुमानले मेरा ओठतालु सुकायो । 

खगेन्द्रले मृत्युलाई भने–‘तपाईँ फोन त जीवन शर्माको प्रयोग गर्र्नु हुँदो रहेछ ।’

–‘जीवन र मृत्यु भन्‍नु एउटै हो मेरो निम्ति । जुन दिन तपाईँले यस धर्तिमा जन्म लिनुभयो; त्यहाँबाट तपाईँले गर्ने यात्रा भनेको मृत्युसम्म पुग्ने त हो । मानिस प्रत्येक क्षण मर्दै जान्छ । बाँच्ने भनेको त उसको कर्म मात्र हो । मानिसको जन्मदिन भन्‍नु मरण दिन पनि हो । मान्छेले जन्मोत्सव नभनेर जन्म–मरणोत्सव भन्‍नुपर्ने हो ।’

खगेन्द्रले भने –‘मान्छेले मरणोत्सव भन्‍न त कसरी सक्छ र ! तपाईँले मनोजको जन्मदिनलाई मृत्युदिन भनिदिनुभएछ । त्यसले गर्दा उनी साह्रै भयभीत छन् र तपाईँ सामु भयभीत छु भन्‍न पनि सक्तैनन् । मैले तपाईँलाई भेट्न चाहनुको मूल कारण यही हो ।’

–‘मलाई थाहा छ । त्यसैले आज मैले निमन्त्रणा पत्र नै बोकेर आएको छु । मृत्युसँग जिस्कनेले जोखिम पनि त उठाउन सक्नुपर्छ नि । होइन र !’ मृत्युले कोटको खल्तीबाट कार्ड निकाल्यो र खगेन्द्रलाई दियो ।

म तीन छक्क परेँ । कसरी कार्ड उसको हातमा आयो !

–‘यो तिम्रै अक्षर हो ?’ खगेन्द्रले मलाई कार्ड देखाउँदै सोधे ।

–‘हो । तर यो त हिजो रातिसम्म मेरै डायरीभित्र थियो ।

खगेन्द्र खितखित हाँस्न थाले । मृत्यु पनि खगेन्द्र सँगसँगै हाँस्यो । मलाई भने रुनु न हाँस्नु भयो ।

–‘अब मनोजको मृत्युको रहस्यको पर्दा उठ्ने अन्तिम समय आयो । ल, खोल्दिनुस् पर्दा ।’ खगेन्द्रले मृत्युतिर हेरेर भने ।

त्यसबेला मलाई खगेन्द्र पनि मृत्युकै मतियार जस्तो लाग्यो । मेरो अवस्था फाँसीको तख्तामा चढेको तर पासो नलगाइसकेको कैदीको जस्तो भयो । मानौँ, जीवनका केही पल मात्र बाँकी छन् मेरा । 

मृत्युले रहस्यको पर्दा उठाएसरि भन्यो –‘मेरो नाम मृत्यु होइन, जीवन शर्मा हो । म पनि मान्छे हुँ तिमीहरूजस्तै । र, यो निम्तो कार्ड मलाई भाउजूले दिनुभएको हो ।’
खगेन्द्रले पर्दा अझ माथि उठाए –‘तिमीले ५२ औँ कार्डमा केके लेखेको देखेर भाउजुलाई हेर्न सकसक लागेछ । जब हेर्नुभयो, तब कतै तिमीले आत्महत्या त गर्ने होइनौ भन्‍ने भयले छोपेछ । त्यसपछि मलाई फोन गर्नुभयो । निम्तोपत्रको फोटो पनि म्यासेन्जरमा पठाइदिनुभयो । तिमी प्रत्येक कुरा भयले सोच्ने गर्छौ । यो तिम्रो पुरानो बानी हो । यसले तिमीमा दूरगामी असर नपारोस् भनेर हामीले एउटा सानो नाटक तिमीसँग गरेका हौँ । यसमा जीवनले मलाई साथ दिएका मात्र हुन् । बुझ्यौ त ?’

म पक्क परेर मृत्यु नामधारी पात्र जीवनलाई हेरिरहन्छु । 

(बाह्रखरी कथा प्रतियोगितामा प्रथम भएको यो कथाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो । यो कथा बाह्रखरी उत्कृष्ट कथा २०७८ मा संगृहीत छ । लेखक र प्रकाशकको स्वीकृतिमा यो कथा यहाँ प्रकाशन गरिएको हो ।) ....


 


Author

थप समाचार
x