कला

जन्मदिनमा पुरनको ‘तीन जुङ्गे’ घोषणा

इकागज |
पुस १२, २०७७ आइतबार १३:५२ बजे

काठमाडौं :  हास्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन (पुस १२) को अबसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ बनाउने घोषणा गरेका हुन् । 

यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरि’ लगायतका कमेडी फिल्म तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिश्रृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेस्रो साताबाट सुरु हुने जानकारी दिएका छन् । बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’ मा प्रमुख तीन जुङ्गे को–को हुने छन् भन्ने चाहिँ अहिले खुलाइएको छैन ।


ती तीन जुङ्गेको साथमा फिल्ममा निर्देशक थापा स्वयम्, लय संग्रौला,दमन रुपाखेती,निक शर्मा,सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, ललितसिंह साउद, विकल उप्रेती, सविता दनाइ, शिखा सुवेदी, छायाँ भुजेल, सुपा खनाललगायतका कलाकारले अभिनय गर्ने छन् । 

प्रमुख नायक–नायिका साथै केही प्राविधिकको छ्टिटै टुंगो लगाइने फिल्म विमल ढकालले खिच्ने छन् । विनोदकुमार भुजेलको संगीत, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहने फिल्मलाई ललितसिंह साउदले सम्पादन गर्ने निर्देशक थापाले जनाएका  छन् । सामाजिक विषयमा हास्यरस मिलाएर निर्माण गर्न लागीएको ‘तीन जुङ्गे’ काठमाडौ, मुस्ताङ, पोखरालगायतका स्थानमा खिचिने छ । 


Author

थप समाचार
x