कला

स्टोरी बैंकमा दर्ता भए १८ पटकथा , बोर्डले थप्यो पटकथा बुझाउने म्याद

इकागज |
पुस १२, २०७७ आइतबार १४:५० बजे

काठमाडौं :  मौलिक तथा कलात्मक चलचित्र निर्माणमा सघाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को परिकल्पना गर्दै फिल्मकर्मीबाट पटकथा आह्वान गरेको थियो । २१ दिनको समयसीमा दिएर गरिएको आह्वानको समय आइतबार सकिएको छ ।  तर, फिल्मकर्मीले थप समय माग गरेपछि विकास बोर्डले १ हप्ता समय थप्ने निर्णय गरेको जनाएको छ । विकास बोर्ड अधिकृत गिरिश शर्माले फिल्मकर्मीले समय अपुग भएको भन्दै समय थप्न आग्रह गरेकाले हप्ता दिन थप गरिएको जानकारी गराए । 

‘समय पुगेन भन्ने कुरा आएकाले एक हप्ता थप्ने निर्णय गरेका छौं । अब इच्छुक फिल्मकर्मीले अर्को आइतबारसम्ममा पटकथा बुझाउन सक्नुहुनेछ,’ गिरिशले भने । आइतबारको समयसीमा भित्र भने १८ वटा पटकथा प्राप्त भएका छन् ।  गिरिशले यसरी आएका पटकथामा सर्ट फिल्मका पटकथाको संख्या ४ र फिचर फिल्मको संख्या १४ रहेको बताए । बोर्डले गत २२ गते सोमबार पत्रिकामा सूचना प्रकाशित गर्दै इच्छुक फिल्मकर्मीबाट पटकथाको माग गरेको थियो । 


बोर्डले यसरी प्रतिस्पर्धामा आएका पटकथामध्ये केहीलाई छानेर सहनिर्माण गर्ने र लेखन प्रक्रियामा पनि आवश्यकता अनुसार विशेषज्ञता उपलब्ध गराउने जनाएको छ । बोर्डमा प्राप्त पटकथालाई तीन सदस्यीय मूल्यांकन समितिले मूल्यांकन गरेर बोर्ड समक्ष सिफारिश गर्ने र सोही सिफारिशका आधारमा बोर्डले उत्कृष्ट पटकथा छनोट गर्ने गिरिशले जनाए । 

स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले केही समयअघि नै स्टोरी बैंकको कार्यविधि २०७७ बनाएको थियो । बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिमा नवल खड्का सह–संयोजक थिए । ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका स्टोरी मध्येबाट छानिएका ५ मौलिक कथाले फिल्म निर्माणका लागि राज्यको विभिन्न सुविधा पाउनेछन् । बोर्डले ५ मध्ये तीन वटा फिचर फिल्म र दुई सर्ट फिल्मलाई सहनिर्माणमा सघाउने जनाएको छ । तीन सदस्य निर्णायक बोर्डले अवस्था हेरी २५ देखि ५० प्रतिशतसम्म निर्माणमा सघाउने कार्यविधिमा व्यवस्था रहेको छ । 

समितिमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरिश शर्मा सदस्य रहेका थिए । विकास बोर्डले यसअघि पनि सोही पटकथा लेखन प्रतियोगिता आयोजना गरेको थियो । शम्भुजित बाँस्कोटा विकास बोर्ड अध्यक्ष भएको समयमा गरिएको यस्तै प्रकृतिको प्रतियोगिता भने असफल भएको थियो । सो समयमा बोर्डले २७ वटा पटकथा पाए पनि पुरस्कारका लायक कुनै पनि पटकथा नभएको भन्दै बोर्डले यो कार्यक्रम खारेज गरेको थियो ।


Author

थप समाचार
x