कला

अस्करका लागि दुई नेपाली फिल्म प्रतिस्पर्धामा

इकागज |
कात्तिक ४, २०७७ मंगलबार १८:१२ बजे

काठमाडौं : अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डमा ९३ औं संस्करणमा सहभागिताका लागि दुई फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई असोजको २९ गते भित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट दीपेन्द्र के खनाल निर्देशित ‘आमा’ र सर्जियो बासो निर्देशित ‘सरिता’ले सहभागिताका लागि आवेदन दिएको समितिका सदस्य सचिव चिरञ्‍जीवी गुरागाँइले जानकारी गराएका छन् ।

यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको छ । नयाँ मिति अनुसार अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्‍जल्सको डल्बी थिएटरमा सम्पन्‍न हुनेछ ।  महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको थियो । परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान एक थियो । 


अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् । 

सदस्य सचिव गुरागाइँले केही दिनमै दुवै फिल्म हेरेर निर्णय गर्ने जानकारी गराए । ‘दसैं र महामारीका कारण सबै सदस्य भेला हुन गाह्रो भइरहेको छ । सकभर दसैं अघि नै निर्णय गर्ने सोचमा छौं । दसैंमा भ्याइएन भने दसैं लगत्तै निर्णय गर्छौं,’ उनले भने । नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । 
 


Author

थप समाचार
x