कला

‘गणपति’मा मेनुकासँग जोडी बाँध्दै मुकुन

इकागज |
पुस १४, २०७७ मंगलबार १६:१६ बजे

काठमाडौं : ‘बुलबुल’पछि चर्चामा आएका मुकुन भुषालप्रति निर्माताले राम्रै भरोसा देखाएका छन् । उनको दोस्रो फिल्म रिलिज भएको छैन तर निर्माता उनमाथि लगानी गर्न हिचकिचाएका छैनन् । उनको अभिनय रहने फिल्म एक पछि अर्को गरी घोषणा भइरहेका छन् । मंगलबार उनको अभिनय रहने अर्को फिल्मको घोषणा भएको छ । मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ आदि कलाकारको अभिनय रहने ‘गणपति’मा मुकुन मुख्य भूमिकामा रहनेछन् । 

 सविन अधिकारीको निर्देशनमा बन्न लागेको ‘गणपति’को  मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । निर्देशक सविनका अनुसार फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन् ।


तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा छायांकन हुने फिल्मलाई हरिबहादुर घलेले खिच्ने जिम्मेवारी पाएका छन् । बिक्रम स्वाँरको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहने फिल्ममा शंखर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला र किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायांकरको रुपमा रहेका छन् ।

फिल्मलाई गोविन्द शाहीले देशभर वितरण गर्नेछन् ।फिल्मको गीतमा अनिस अधिकारीको शब्द तथा संगीत रहनेछ भने अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज भर्नेछन् । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध र प्रचार नगरिने स्पष्ट पारे । ‘मान्छे र भगवानबीचको फरकलाई फिल्ममा देखाउनेछौं,’ उनले भने ।

कलाकार जयनन्द लामाले फिल्मको कथावस्तु अत्यन्त राम्रो भएका कारण काम गर्न आतुर रहेको बताए । अभिनेता भुषाल भने फिल्म साइन गरेपछि डर लागेको अनुभव सुनाए ।  उनले भने, ‘म शीर्ष भूमिकामा छु । एउटा कलाकारलाई राम्रो चरित्रको भोक सधैं हुन्छ र त्यो चरित्र बाँचिरहोस् भन्ने लाग्छ । मैले फिल्म गर्छु त भनेँ तर चत्रिर बुझ्दै गएपछि डर लाग्न थाल्यो ।’

उनले अगाडि भने, ‘सुरुमा मलाई यो चरित्रलाई न्याय गर्न नसकुँला कि भन्ने एकदमै डर लागेको थियो । तर, म बेकारमा आत्तिएको रहेछु । फिल्ममा अभिनयका गुरुहरू भएपछि म किन डराउनु ? सबैले मलाई गाइड गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’ खराब समय र कमजोर भाग्य हुँदा मान्छे कहाँसम्म गिर्न पुग्छ र भाग्य बलियो भयो भने कहाँसम्म पुग्छ भन्ने फिल्मले देखाउने उनले बताए ।

त्यस्तै, निर्माता लक्ष्मण थापाले फिल्मको कथावस्तु पृथक लागेका कारण लगानी गर्न तयार भएको बताए । फिल्मको स्क्रिप्ट पढ्दा आफू तीन पटक रोएको उनले सम्झिए । उनले भने, ‘यो फिल्मको स्क्रिप्ट फरक किसिमको छ । स्क्रिप्टले छोएपछि फिल्ममा आबद्ध भएको हुँ । दर्शकलाई पनि फिल्मले छुनसक्छ ।’


Author

थप समाचार
x