कला

नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन :

जलवायु, उद्योगदेखि र साहित्यसम्मको चर्चा

इकागज |
पुस १५, २०७७ बुधबार १७:३९ बजे

पोखरा :  आइएमई नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन अर्थात् अन्तिम दिन पोखराको सराङकोटमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारसम्मले अन्तर्संवाद गरे । फेस्टिभलमा बुधबार पहिलो सत्रमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, वातावरणविद् डा. अरनिको पाण्डे र शिलशिला आचार्यसँग पत्रकार रमेश भुसालले संवाद गरे ।

 दोस्रो सत्र ‘प्रदेशबाट देखिने देश’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पत्रकार बसन्त बस्नेतले अन्तर्संवाद गरे । यो सत्रमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम एवम् परिदृश्यबारे गरमागरम बहस भयो । अर्काे सत्र ‘कोरोनाकालीन उद्योग वाणिज्य’ मा पत्रकार कुवेर चालिसेले आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग छलफल चलाए । यो सत्रमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाले नेपालको आर्थिक क्षेत्रमा पारेको प्रभाव र सरकारले चाल्नुपर्ने कदमका विषयमा चर्चापरिचर्चा भयो ।


साथै निजीक्षेत्रले कोभिड–१९ कै बीचमा गरिरहेका सकारात्मक प्रभावबारे पनि उनीहरूले संवाद गरे गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र जिल्ला समन्वय समिति महासंघकी अध्यक्ष सीता सुन्दाससँग पत्रकार दीपक परियारले ‘संघीयताका अवसरहरू’ सत्रमा छलफल चलाए । यसका वक्ताहरूले देशमा संघीयता आए पनि त्यो प्रदेशहरूमा प्रभावकारी कार्यान्वयन नभएको बताए । 

फेस्टिभलको अर्को सत्र रह्यो, ‘क्वयेर हुनुको अर्थ’ । यो सत्रमा अनुवादक तथा लेखक निरञ्जन कुँवर र ब्लु डायमन्ड सोसाइटीका संस्थापक भिक्षु कश्यप (सुनिलबाबु पन्त) बीच संवाद भयो । यो सत्रमा उनीहरूले समाजमा क्वेयर भएर जीवनयापन गर्नुका दुःख एवम् संघर्षबारे छलफल गरे ।  ‘युवाको नजरमा नेपाल’ सत्रमा अभियन्ता प्रकृति भट्टराई बस्नेत, चिकित्सक डा.भावना तामाङ र दृष्टिविहीन युवा अभियन्ता सौगात वाग्लेसँग लेखक तथा सामाजिक अभियन्ता जगन्नाथ लामिछानेले संवाद गरे ।

उनीहरूले अहिलेका युवाहरूले चाहेको नेपाल र भइरहेको अवस्थाबारे चर्चा गरे । साथै देशमा विकासका लागि गर्नुपर्ने र अपनाउनुपर्ने विषयमा पनि छलफल भयो । 
महोत्सवको अन्तिम सत्र थियो, ‘तीन आख्यान’ । यो सत्रमा लेखक केशव दाहाल, दुर्गा कार्की र बिना थिङसँग शिवानीसिंह थारु प्रस्तुत भए । उनीहरूले नेपाली साहित्यमा आख्यानको अवस्था आदिबारे छलफल गरे । साथै पात्र, तिनको चरित्र, आख्यान लेखन आदिका विषयमा पनि उनीहरूबीच संवाद चल्यो । 

फेस्टिभलको नवौं संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन् । भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भइरहेको छ । साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन् । 
 


Author

थप समाचार
x