कला

जोशमा खुले हल, न नयाँ फिल्म छन् न दर्शक

इकागज |
पुस १९, २०७७ आइतबार १३:५५ बजे

काठमाडौं : सरकारले आफूहरूलाई बेवास्ता गरेको भन्दै सिनेमा घर सञ्चालकले पुस १० गतेबाट एकतर्फी रुपमा हल खोल्ने निर्णय गरे । हल खुल्ने निर्णयले अनिश्चयको बन्दी रहेको फिल्म क्षेत्र तरंगित रह्यो । किनकि हल नखुल्दा सिनेमाको गतिविधी नै ठप्प रहेको थियो । हल नखुल्दा केका लागि सुटिङ गर्ने र सुटिङ गरेका फिल्म कहाँ देखाउने ? फिल्मकर्मीमा अन्योल थियो ।

हल खोल्ने निर्णयको नेतृत्व हल सञ्चालकको साझा संस्था नेपाल चलचित्र संघले गरेको थियो । उसैको तजबीजमा महामारीका कारण चल्दा चल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा चल्न थाले । तर, दोहोर्याएर लागेका फिल्ममा विरलै दर्शक आउँछन् । अझ ‘सेन्टी भाइरस’ त उसबेलै दर्शकले नरुचाएर हलबाट उत्रिसकेको थियो । आज हल सञ्चालकले हल खोल्ने निर्णय गरेको दोस्रो हप्ता चलिरहेको छ । तर, हलमा न नयाँ फिल्म छन् न दर्शक । हल सञ्चालकले हल खोले पनि दर्शकलाई नयाँ फिल्म दिन सकेका छैनन् ।


चलचित्र संघका महासचिव अशोक शर्माले नयाँ फिल्म रिलिज गर्ने तयारी गरिरहेको बताए । पहिले नै रिलिज भइसकेका ‘कबड्डी ३’ देखि बक्स अफिसमा रुचाइएका अन्य फिल्म पनि रिलिज गर्ने विषयमा छलफल चलिरहेको शर्माले जानकारी गराए । ‘अहिले नयाँ फिल्म रिलिज गरेर रिस्क लिने अवस्थामा कोही पनि निर्माता हुनुहुन्न । हामीले पनि त्यो अपेक्षा गरेका छैनौं । तर, पहिला चलेका केही फिल्म रिलिज गर्ने छलफल चलिरहेको छ । अबको हप्ताबाट केही न केही नयाँ फिल्म आउँछ,’ शर्माले भने ।

शर्मा यो समयले नयाँ फिल्म भए दर्शक आउनेरैछन् भन्ने संकेत दिएको र त्यो आफूहरूका लागि सुखद संकेत भएको शर्मा बताउँछन् । उनले शनिबारका दिन पुरानै फिल्म हेर्न पनि दर्शकको उपस्थिति राम्रै देखिएकाले आफूहरू आशावादी रहेको उनले बताए । ‘शनिबारको दिन भएको सोमा ५० को हाराहारीमा दर्शक आएको पाएका छौं । नयाँ फिल्म रिलिज गर्ने हो भने यो संख्यामा राम्रै उछाल आउन सक्छ,’शर्माले इकागजसँग भने । शर्माको भनाइसँग शतप्रतिशत सहमत छन् वन सिनेमाका म्यानेजर उमेश गिरी । उमेशका अनुसार यदि फ्रेस सिनेमा हुन्थे भने क्रिसमस र नयाँ वर्षमा ती फिल्म हाउसफुल हुन सक्थे । 

‘ क्रिसमस र नयाँ वर्षमा फिल्म सोध्ने आउने दर्शकको संख्या लोभलाग्दो थियो । पुराना फिल्म भएर उति धेरै दर्शकले चासो दिएनन् । ताजा फिल्म रिलिज भएको भए राम्रै संख्या थियो फिल्म हेर्ने,’ उमेश भन्छन्, ‘यदि राम्रो पब्लिसिटी गरेर नयाँ फिल्म रिलिज गर्ने हो भने फिल्म चल्ने संकेत देखियो ।’ हल खुलेसँगै प्रदर्शन मिति तय गर्ने र सुटिङका लागि फ्लोरमा जाने फिल्मको संख्या बढेको छ ।

तर, सिनेमा हलमा पहिले झैं दर्शक कसरी आउलान् र कुन समयदेखि आउलान् सबैलाई कौतुहल छ । यो पनि निश्चित छ कि अहिलेकै अवस्थामा दर्शक आउन गाह्रो छ । यसका लागि ठूलो भनिएका एउटा दुइटा फिल्मले होइन तीन चारवटै फिल्मले रिस्क लिन जरुरी छ । तर, नेपालका लागि फाइदा यो छ कि नेपालमा नेपाली फिल्मको भन्दा ठूदो बजार हिन्दी फिल्मको छ । नेपाली फिल्मको साटो हिन्दी फिल्मले नै यो रिस्क लिइदिने हो भने माहोल १० महिना अगाडिको स्थितिमा फर्कन सक्छ ।
 


Author

थप समाचार
x