कला

सुटिङ नसक्दै रिलिज, कलाकारबिनै प्रचार प्रसार

इकागज |
पुस २२, २०७७ बुधबार १२:३ बजे

काठमाडौं : दुई वर्षअघि उपराष्ट्रपति नन्द किशोर पुनलाई सांग्रिला होटलमा निम्त्याएर धुमधामसँग फिल्मको घोषणा गरेका थिए पाका अभिनेता शिव श्रेष्ठले । ‘एउटा यस्तो प्रेम कहानी’शीर्षकको यो फिल्मबाट उनले आफ्नै छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरकी छोरी कविता मानन्धरलाई पनि डेब्यु गराउँदै थिए । उद्योगका ठूला हस्तीका छोराछोरीको डेब्यु फिल्म भएकाले सबैका आँखा फिल्ममा पर्ने नै भए । तर, रिलिजको संघारमा आउँदा फिल्म ४० वर्षे अनुभवी शिव श्रेष्ठले बनाएको हैन, कुनै सिकारुले बनाएभन्दा कमजोर महसुस हुन्छ ।

सबैभन्दा पहिला त यो फिल्म सुटिङको समयमा नै अनेक लफडामा परेको थियो । कहिले द्धन्द्ध निर्देशक त कहिले कलाकारसँगको झगडाका खबर मिडियामा चुहिने गरेका थिए । सुटिङ चलिरहँदा नै फिल्मको टिजर सार्वजनिक भएको थियो । तर, दुई वर्ष बित्दा न फिल्मको न थप कन्टेन्ट आयो प्रदर्शनको चालचोल । तर, लकडाउन चलिरहेको समयमै फिल्मको टिजर आयो । फिल्मका सारा गतिविधि ठप्प भएको समयमा आएको टिजर आफैंमा प्रश्न उब्जाउने खालको थियो । किनकि त्यतिबेला आजजस्तो न फिल्म हल खुलेका थिए न फिल्मको सुटिङका लागि सरकार लचिलो थियो ।


त्यो बेला फिल्मको कन्टेन्ट सार्वजनिक गर्नुको मतलब थियो बालुवामा पानी हाल्नु । तर, शिव श्रेष्ठले किन यसो गरे कसैको पाला परेको थिएन । स्रोत भन्छ, शिव श्रेष्ठ उसबेला फिल्म हलमा नभएर डिस होम वा यस्तै अरु माध्यममा रिलिज गर्न तयार थिए । तर, यसैबीचमा गत पुस १० गतेबाट हल एकतर्फीमा रुपमा खुले । शिव श्रेष्ठले हलमै रिलिज गर्न भनेर फिल्म बनाएका थिए । उनले अन्य विकल्प सोच्ने कुरा थिएन । उनले यही बीचमा माघ १ गतेदेखि फिल्म रिलिज हुने सूचना साथ पोस्टर सार्वजनिक गरे । गीत सार्वजनिक गर्न भनेर कार्यक्रम राखे र पछि रद्द गरे ।

अन्त्यमा मंगलबार ट्रेलर र शीर्ष गीत रिलिज गर्ने गरी कार्यक्रम राखे । तर, मंगलबार पत्रकारभन्दा शिव श्रेष्ठका निम्तालुले भरिएको हलमा ट्रेलर पनि रिलिज हुन सकेन । ठूलो पर्दामा रिलिज गर्न भनेर ठिक्क पारिएको गीत पनि सानो पर्दामा देखाइयो । तर, योभन्दा पनि उदेक लाग्दो त कलाकारकै उपस्थिति थियो । फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा सुष्मा कार्कीले एउटा आइटम गीत गरेकी छिन् । 

तर, मंगलबारको कार्यक्रममा सुष्माबाहेक कुनै पनि कलाकार उपस्थित थिएनन् । शक्ति श्रेष्ठ र कविता मानन्धरको अभिनय रहेको शीर्ष गीत रिलिज गर्ने पनि कार्यक्रम थियो तर यो जोडी पनि कार्यक्रममा थिएन । शक्ति श्रेष्ठ अष्ट्रेलियामा रहेको बुझिएको छ  तर कविता यहीँ थिइन् तर पनि कार्यक्रममा उपस्थित थिइनन् ।
इकागजसँगको कुराकानीमा वर्षा राउतले पहिले नै फिल्मको सुटिङ नै बाँकी रहेको बताएकी छिन् ।

उनीहरूले  पारिश्रमिक पनि पूरा पाएका छैनन् । सुटिङ सकेको भागको डबिङ पनि गरेका छैनन् तर निर्माण टिमले उनीहरूको ठाउँमा अरु कसैलाई डबिङ गराएको चर्चा छ । सामान्यतया फिल्म रिलिज गर्नु एक महिनाअघि ट्रेलर रिलिज गर्ने अभ्यास छ । तर, शिव श्रेष्ठका लागि एक हप्ताको समय पनि बाँकी छैन । तर पनि उनले उद्योगलाई चलायमान बनाउन ४० वर्षको अनुभव प्रयोग गरेको दाबी गरे । ४० वर्षको अनुभवले यसरी फिल्म बनाउने र रिलिज गर्ने हो भने विगत र वर्तमानलाई लिएर कति गुनासो गर्ने होला ?  


Author

थप समाचार
x