कला

शिव श्रेष्ठ भन्छन्, ‘फिल्म माघ १ मै रिलिज हुन्छ’

इकागज |
पुस २६, २०७७ आइतबार १४:१५ बजे

काठमाडौं :  गत शुक्रबार एप्पल इन्टरटेनमेन्टले ‘मन्स्टर हन्टर’ रिलिज गर्ने गरी सेन्सर गर्यो । चलचित्र विकास बोर्डको हलमा बिहीबार सेन्सर बोर्ड सदस्यले फिल्म पनि हेरे । तर, फिल्मपछि सेन्सर सर्टिफिकेट पनि जारी भयो तर फिल्म चलाउन चाहिने ‘कि’ सरकारले दिन मानेन । देशभरका फिल्म हलले सो फिल्म आउने भनेर सो समय पनि छुट्याएका थिए । तर, सरकारले ‘कि’ नदिएपछि हलले रातारात सो हटाउनु पर्यो । हलमा दुई हप्तादेखि बाध्यतावश झुण्डिरहेका ‘आमा’ र ‘सेन्टिभाइरस’ले पालो पाएनन् । 

गत पुस १० गतेबाट हलव्यसायीले एकतर्फी हल खोलेका छन् । तर, सरकारले औपचारिक रुपमा हल खोल्ने अनुमति नदिँदा नयाँ फिल्म रिलिज हुन पाइरहेका छैनन् । यसले माघ १ गते रिलिज हुने भनेर चर्चामा आएको ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज होला कि नहोला भन्ने आशंका छ । तर, निर्माता तथा अभिनेता शिव श्रेष्ठले फिल्म रिलिज हुने कुरामा निश्चिन्त रहन सुझाए । ‘सरकारले अझै हल खोल्ने अनुमति दिएको छैन । फिल्म रिलिज हुन्छ त ?’ इकागजको प्रश्नमा उनले  रिलिज नहुने प्रश्नै नरहेको जवाफ दिए ।


‘ फिल्म रिलिज हुन्छ । हामी १ गते हलमा सँगै फिल्म हेर्छौं,’छोटो प्रतिक्रिया दिँदै शिवले भने । उनले सेन्सर पनि हुने र ‘कि’ पनि पाउने दाबी गरे । शिव श्रेष्ठले फिल्म रिलिज हुने दाबी गरे पनि रिलिजको तीन दिन बाँकी रहँदासम्म निर्माण टिमले ट्रेलर सार्वजनिक गर्न सकेको छैन । केही दिनअघि ठमेलमा ट्रेलर सार्वजनिक गर्ने कार्यक्रम राखेको भए पनि ट्रेलर तयार नभएका कारण शीर्ष गीत देखाएर फर्काइएको थियो ।

१० महिनापछि हलमा ताजा फिल्म रिलिज हुन लागेको भए पनि फिल्मलाई फिल्ममै आबद्ध कलाकारले साथ दिएका छन् । दर्जन हाराहारी चिनेका अनुहार भएका फिल्मका एक जना कलाकारले पनि फिल्मको पोस्टर न गीत केही पनि सेयर गरेका छैनन् । कलाकारले फिल्मको सुटिङ नै बाँकी रहेको र पूरा पैसा पनि नपाएको गुनासो गर्दै आइरहेका छन् । 


Author

थप समाचार
x