कला

१० महिनापछि खुल्दै सिनेमा घर, यस्तो छ सरकारको निर्णय

इकागज |
पुस २८, २०७७ मंगलबार १२:३४ बजे

काठमाडौं :  सरकारले १० महिनायता बन्द रहेका सिनेमा घर खोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्री परिषद्को बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अनुगमन गर्ने व्यवस्था गराउने निर्देशन दिँदै सिनेमा घर खोल्ने स्वीकृति दिएको हो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना हुने गरी सिनेमा हलमा चलचित्र प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ । 

सरकारले गरेको यो निर्णय औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर, सरकारको यो निर्णय थाहा पाएका चलचित्रकर्मीले आइतबार साँझ देखि नै सामाजिक सञ्जालमा सरकारको यो निर्णयको स्वागत गरेका थिए । सरकारको यो निर्णयसँगै सिनेमा घरमा नयाँ फिल्म चल्ने वातावरण बनेको छ । सरकारले औपचारिक रुपमा हल खोल्ने निर्णय नगर्दा सिनेमाको सेन्सर प्रक्रिया र सेन्सर भएका सिनेमा पनि हलमा रिलिज हुन पाएका थिएनन् । सेन्सर भएका केही अंग्रेजी चलचित्रले ‘कि’ नपाउँदा अन्तिम समयमा प्रदर्शन रोक्नु परेको थियो । 


हल खोल्ने निर्णयसँगै सञ्चार मन्त्रालयले अनुगमनको जिम्मेवारी आफैंले लिने संकेत पाइएको छ । चलचित्र विकास बोर्ड स्रोतले सञ्चार मन्त्रालयले आफैं समिति बनाएर अनुगमन गर्ने तयारी गरिरहेको जानकारी गरायो । हल खुल्ने निर्णयले सबैभन्दा ठूलो राहत शिव श्रेष्ठ निर्मित ‘एउटा यस्तो प्रेम कहानी’लाई भएको छ । फिल्म आउँदो बिहीबारबाट देशभर प्रदर्शन हुँदैछ । 


Author

थप समाचार
x