कला

यो वर्ष जुन फिल्मको दर्शक तथा हललाई प्रतीक्षा छ !

इकागज |
पुस २८, २०७७ मंगलबार १४:१ बजे

लसएन्जल्स :  सन् २०२० संसारकै फिल्म उद्योगका लागि निराशाजनक रह्यो । वर्ष सुरु हुने बित्तिकै कोभिड १९को प्रकोप सुरु भयो । रिलिजका लागि तयार भएका फिल्म भाका सार्न बाध्य भए । यो साल यसरी भाका सार्न बाध्य भएका फिल्मसँगै नयाँ फिल्म पनि रिलिज हुनेछन् । आइएएनएसले संसारकै फिल्म उद्योगले आश गरेका फिल्मको सूची सार्वजनिक गर्दै यो वर्ष बक्स अफिसमा सुपरहिरो र पूराना फिल्मको रिबुटको बाहुल्य हुने अनुमान गरेको छ । 


१. नो टाइ टु डाई 
जेम्स बन्ड सिरिजको यो पछिल्लो फिल्म सन् २०२१ को सबैभन्दा प्रतीक्षित फिल्म हो । अघिल्लो सालकै नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्म यही अप्रिलमा प्रदर्शन हुने घोषणा गरेर बसेको छ । तर, महामारीको स्वरुप यस्तै रहिरहने हो भने फेरि पनि यो फिल्म सर्न सक्ने सम्भावना व्यक्त गरिएको छ । तर, त्यसो हुँदा पनि यो फिल्म यही वर्ष रिलिज गर्ने सम्भावना धेरै छ । डेनियल क्रेग जेम्स बन्डको रुपमा देखिने अन्तिम फिल्मको रुपमा पनि यसको चर्चा छ । केही महिना पहिला यो फिल्म ओटीटीमा सार्वजनिक हुने खबर सार्वजनिक भएको थियो । खबरसँगै आत्तिएर धेरै हलले यो फिल्म पनि ओटीटीमा रिलिज भए आफूहरू हल बन्द गरेर सुपरस्टोर चलाउन बाध्य हुने धम्की दिएका थिए । पछि निर्माण कम्पनी एमजीएमले फिल्म ओटीटीमा रिलिज गर्ने कुनै योजना नरहेको बताएको थियो । 
२.ब्ल्याक विडो
यो वर्ष रिलिज हुने ‘ब्ल्याक विडो’लाई वर्षकै ठूलो फिल्म मानिएको छ । मार्भल युनिभर्सको यो फिल्ममा स्कारलेट जोन्सनले शीर्ष भूमिका निर्वाह गरेकी छिन् जो आफ्नो जिन्दगीको गुथ्थी सुल्झाउन पूर्व जन्ममा पुग्छिन् । यो फिल्म पनि अघिल्लो वर्ष नै रिलिज हुनेवाला थियो । तर, कोभिडका कारण फिल्म रोकियो । अब यो फिल्म मे ७ मा रिलिज हुने मिति कुरेर बसेको छ । 
३. फास्ट एन्ड फ्युरियस ९
हलिउडको सबैभन्दा लामो शृंखला हो,  ‘फास्ट एन्ड फ्युरियस ९’। फिल्ममा ड्वेन जोन्सन र जोन सिनाको ‘ब्रोमान्स’ देख्न सकिने निर्माण पक्षले दाबी गर्दै आएको छ । फिल्मको प्रदर्शन मिति सार्वजनिक भइसकेको छैन तर निर्माण टिमले फिल्म तयार रहेकाले जतिबेला पनि रिलिज गर्न सक्ने बताउँदै आएको छ ।



४. स्पाइडर मेन
यो फिल्मको नाम सार्वजनिक भएको छैन तर प्रदर्शनका लागि तयार यो फिल्म ‘फार फ्रम होम’को सिक्वेल रहने निर्माण टिमले जनाएको छ । टम हल्यान्ड मुख्य भूमिकामा रहेको यो फिल्ममा बेनेडिक्ट कमरवाच र जेमी फक्स पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्म यो वर्षको अन्त्यमा रिलिज हुने चर्चा छ । 
५ टपगन माभरिक
५८ वर्षका टम क्रुज फेरि एक पटक एक्सन हिरोको रुपमा फर्कंदैछन्, यो फिल्ममार्फत । न्युजिल्यान्डमा अधिकांश दृश्य सुटिङ गरिएको फिल्म सन् १९८६ को हिट फिल्मको सिक्वेल हो । फिल्ममा टम क्रुजले नाभेल अफिसरको भूमिका निर्वाह गरेका छन् । यो फिल्म जुलाइ २ मा रिलिज हुँदैछ ।
६. मिसन इम्पोसिबल ७ 
टम क्रुजकै ‘मिसन इम्पोसिबल’को सातौं शृंखला पनि यही साल प्रदर्शन हुँदैछ । यो फिल्म नोभेम्बर १९ मा रिलिज हुँदैछ । ‘स्पाइ थ्रीलर’ विधाको यो फिल्ममा रेबाका फर्गुसन, भेनेसा कर्बी, सिमोन पिग आदि कलाकारको पनि अभिनय रहेको छ । 
७. ड्युन
रेबाका फर्गुसन र टिमोथी चालमेटको मुख्य भूमिका रहेको ‘ड्युन’लाई पनि यो वर्षको प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ । साइफाइ विधाको यो फिल्म अक्टोबर १मा रिलिज हुँदैछ । 
८ म्याट्रिक्स ४
केन्यु रिभ्स र प्रियंका चोपडाको मुख्य भूमिका रहेको यो फिल्म पनि सन् २०२१ मा रिलिज हुने  ठूलो फिल्म हो । यो फिल्म पनि वर्षको मध्यमा रिलिज हुने चर्चा छ । 
९ टम एन्ड जेरी
बच्चा दर्शकबीच अत्यधिक लोकप्रिय ‘टम एन्ड जेरी’ फिल्मको रुपमा दर्शकमाझ आउँदैछ । यो फिल्म पनि वर्षको मध्यतिर रिलिज हुने चर्चा छ । 
१० किंग्समेन 
‘किंग्समेन’ फिल्म सिरिजको प्रिक्वेल मार्च १२ मा रिलिज हुँदैछ । यो फिल्मको कथा पहिला दुई सिरिजभन्दा एक दशकपछि जानेछ । राल्फ फिननेसको मुख्य भूमिका रहेको फिल्मका दुवै भाग सुपरहिट भएका थिए ।
११ दि सुसाइड स्क्वाड
जेम्स गनको यो फिल्म सन् २०१६ मा रिलिज भएको ‘सुसाइड स्क्वाड’ को रिबुट हो । पहिलाको फिल्मले ठिकै समीक्षा पाएपछि निर्देशक उही कलाकारलाई लिएर यो फिल्म बनाउन तम्सिएका हुन् । यो फिल्म अक्टोबरमा रिलिज हुने चर्चा छ ।
१२ इटर्नल्स 
चिनिया मूलकी क्लोई झाओ निर्देशित ‘नोम्याडल्यान्ड’लाई यो वर्ष अस्करको प्रमुख दाबेदार मानिएको छ । यिनै क्लोइले निर्देशन गरेको अर्को फिल्म ‘इटर्नल्स’ पनि यो साल प्रदर्शन हुँदैछ । निर्देशक तथा यसमा संलग्न कलाकारको उपस्थितिले पनि यसलाई वर्षको प्रतीक्षित फिल्म मानिएको छ । यो फिल्ममा एन्जेलिना जोली, रिचार्ड म्याडन, सलमा हायक आदि कलाकारको अभिनय रहेको छ । यो फिल्म नोभेम्बर ५ मा रिलिज हुने चर्चा छ । 


Author

थप समाचार
x