कला

अस्करमा इन्टरनेसनल फिचर फिल्मको दायरा बढ्यो,  १० को साटो १५ फिल्म छानिने

इकागज |
माघ ४, २०७७ आइतबार ११:१६ बजे

लसएन्जल्स :  अस्करले कोरोना महामारीका कारण इन्टरनेसनल फिचर फिल्म विधामा सर्ट लिस्ट हुने फिल्मको संख्या बढाएको छ । अस्करको इन्टरनेसनल फिचर फिल्मको प्रारम्भिक छनोट समितिले सर्ट लिस्ट हुने फिल्मको संख्या १० बाट १५ बनाएको जनाएको छ । 

सदा कमिटी सदस्यले सशरीर उपस्थित भएर आफूलाई मन परेका फिल्मलाई भोट दिँदै आएका थिए । तर, यो साल महामारीका कारण भोटिङ प्रक्रिया अनलाइन भएको छ । अनलाइन भोटिङका कारणले कुनै फिल्म नछुटुन् भन्ने उद्देश्यले दायरा फराकिलो बनाएको अस्कर अवार्डका पब्लिसिस्टले जनाएका छन् । 
 सन् २००८ देखि यो विधाका फिल्मको भोटिङ लसएन्जल्समा हुँदै आएको छ ।


तर, सन् २००८ मा विदेशी भाषातर्फ अवार्डको मुख्य दाबेदार मानिएको ‘दि ग्रेट ब्युटी’ अन्तिम १० मै सर्ट लिस्ट नभएपछि भोटिङ शैली परिवर्तन गरिएको थियो । यसैगरी रोमानियाको बहुचर्चित फिल्म ‘फोर मन्थस्, थ्री विक्स एन्ड टु डेज’ पनि सन् २००७ मा सर्ट लिस्ट भएको थिएन । उसबेला कमिटी सदस्यले ‘सेभ’ बनेको फिल्मले मात्र सूचीमा ठाउँ पाउन सक्ने व्यवस्था थियो । नयाँ परिवर्तनले ‘सेभ’को साटो भोटिङ गर्ने व्यवस्था गरेको हो ।

परिवर्तित नियमले धेरै फिल्मबीच प्रतिस्पर्धा हुने बाटो खुलेको अस्कर अवार्डका पब्लिसिस्टले बताएका छन् । नयाँ नियमपछि यो साल १५ बाट ५ फिल्म छानिने छन् र ५ बाट कुनै एक फिल्म विजेता घोषित हुनेछ । फेब्रुअरी १ देखि ५ तारिखको बीचमा अन्तिम ५ फिल्मको छनोट हुनेछ । 

यो साल इन्टरनेसनल फिचर फिल्मको प्रतिस्पर्धामा ९३ देशका फिल्म सहभागी छन् । डेनमार्कको ‘अनोदर राउन्ड’, फ्रान्सको ‘टु अफ अस’, र मेक्सिकोको ‘आइ एम नो लंगर हियर’लाई यो सालका दाबेदार फिल्म मानिने गरेको छ । केही वर्षयता निरन्तर फिल्म पठाउँदै आएको नेपालले भने यो साल अस्करमा फिल्म पठाएको छैन । 
सदा फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड यो साल महामारीका कारण सरेर अप्रिल २५ मा पुगेको छ । 


Author

थप समाचार
x