कला

‘पल्पसा क्याफे मेरो पहिलो प्रेमपत्र’

इकागज |
माघ ६, २०७७ मंगलबार १६:४१ बजे

निर्देशक विमल सुवेदी, अभिनेत्री स्वस्तिमा खड्का र लेखक नारायण वाग्ले

काठमाडौं : कान्तिपुर दैनिकको सम्पादक रहँदा नै नारायण वाग्लेले ‘पल्पसा क्याफे’ लेखेका थिए । एक तहमा अड्किरहेको आख्यानको बजारलाई उचाइमा पुर्याउन सो उपन्यासको योगदान रहेको थियो । यो पुस्तक प्रकाशन भएकै आज १५ वर्ष नाघिसकेको छ । वाग्लेले ‘पल्पसा क्याफे’ को सिक्वेल चाहियो भन्ने धेरै पाठक पनि भेटेका छन् ।

मंगलबार वाग्लेले फेरि एक पटक यो प्रश्नको सामना गर्नु पर्यो, ‘ यति सफल किताबको सिक्वेल लेखुँ भन्ने लागेको छैन ?’ पत्रकारले सोधेको प्रश्नमा वाग्लेको जवाफ थियो, ‘ पल्पसा क्याफे मेरो पहिलो प्रेमपत्र हो । पहिलो प्रेमपत्र जुन अनेस्टी र इनोसेन्समा लेखिन्छ त्यो दोहोर्याएर लेख्न सकिन्न । किनकि दोस्रो कहिलै पहिलो हुन्न ।’
‘पल्पसा क्याफे’ चाँडै नै उपन्यासबाट नाटकमा रुपान्तरण हुँदैछ ।


'मकैको अर्कै खेती', 'सान्दाजुको महाभारत', 'साबिती' जस्ता नाटक निर्देशन गरेका विमल सुवेदीले यसको नाट्य रुपान्तरण गरिरहेका छन् । यही नाटकको जानकारी दिने कार्यक्रममा उपस्थित हुँदै लेखक वाग्लले १५ वर्षपछि पनि उपन्यास आलो रहेको बताए । ‘केही दिन अघि नेकपाका नेताले शाकाहारी हैन मांसाहारी आन्दोलन गर्नुपर्यो भनेर भाषण गर्नुभयो । मांसाहारी आन्दोलनको घाउमा अझै खाटा बसेको छैन,’ वाग्लेले भने, ‘ यसले पनि उपन्यास अझै सान्दर्भिक छ कि भन्ने जस्तो लाग्यो ।’

वाग्लेले यसअघि पनि उपन्यास नाटक वा फिल्मका लागि मागिएको भए पनि दिन मन नलागेको स्मरण गरे । तर, निर्देशक विमल सुवेदीको उद्देश्य र शैलीका बारेमा विश्वस्त भए पछि नाट्य रुपान्तरणका लागि अनुमति दिएको खुलाए । ‘तर, उहाँले स्क्रिप्ट पढ्न दिनु भएको थियो जुन मैले आजसम्म पनि यत्तिकै राखेको छु । नाटकमा जुन पल्पसा आउँछ त्यो निर्देशकको कल्पना हो । मैले पढेँ भने त्यो कल्पनामा खलल पुर्याउँला भनेर पढिँन । तपाईंहरू जस्तै म पनि नाटक हेर्न उत्सुक छु,’ उनले भने । 
निर्देशक विमल सुवेदीले दुई वर्ष अघि भएको एउटा निर्देशक वर्कसपमा द्वन्द्व सम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रुपान्तरण गर्न कस्सिएको बताए । ‘बिहान घरबाट निस्किएको मान्छे बेलुका फर्कन्छ भन्ने आसमा परिवार हुन्छ । तर, कति परिवार पर्खेको पर्खै हुन्छ,’ सुवेदीले भने, ‘यही फुटप्रिन्टको प्रतीक्षामा बस्ने परिवारको आँखा सम्झेर यसलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं ।’

सुवेदीले लेखनका क्रममा धेरै दृष्टिकोणमा काम गरेको र तयार हुँदै गरेको नाटक पल्पसाको हजुरआमाको दृष्टिकोणबाट प्रस्तुत गर्ने निक्र्योल गरेको बताए । नाटकमा पल्पसाको चरित्र अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गर्दैछिन् । उनले नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच रहेको र यसै समयमा पल्पसा बन्ने प्रस्ताव आएकाले सहर्ष स्वीकारेका बताइन् ।

उनले पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोही अनुसार तयारी गरिरहेको बताइन् ।  थिएटर भिलेजले मण्डला थिएटरको सहकार्यमा   निर्माण गरेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ । कास्टिङ निर्देशक तथा सहायक निर्देशक दीलिप रानाभाटले नाटक सातै प्रदेशमा गर्ने योजना रहेको अवगत गराए ।

नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ । सुरज सुवेदीले उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् । 

तस्बिर : सुनिल महर्जन


Author

थप समाचार
x