जो दसैंमा पनि माछा-मासु खाँदैनन्
दसैैं लागेपछि नेपालीले जोहो गर्ने दुई कुरा विशेष छन्, नयाँ लुगा र मासु । अरु केही गरुन् नगरुन् नेपालीले ऋण काढेरै भए पनि नयाँ लुगा र मासु जोहो गर्छन् । यसैले दसैं भन्ने बित्तिकै मासु र यसका परिकारको सम्झनामा धेरैको मुख रसाउँछ । आम नेपाली झैं अधिकांश सेलिब्रेटी पनि मासु भनेपछि हुरुक्कै हुन्छन् तर केहीले भने जिन्दगी मासुको स्वाद चाखेका छैनन् ।
मांसहारीबाट शाकाहारी बन्नेमा अनमोल केसीको नाम अगाडि आउँछ । चार वर्षअघिसम्म अनमोल मांसाहारी नै थिए । तर, ‘कृ’ फिल्मको सुटिङका क्रममा इस्कोनको संगतमा पुगेपछि उनले चटक्क मासु छाडेका थिए । उनले देहीले नमागेका कारण मासु खान छाडेको बताए ।
‘खासमा मलाई पहिलादेखि नै माछा मासु खाँदा दिङमिङ लाग्थ्यो । जति पाकेको भए पनि काँचै छ भने जस्तो लागिरहन्थ्यो । इस्कोन गएपछि त झन् खानै मन लागेन,’ अनमोलले भने ।
तीन वर्षअघि अनमोल ‘कृ’ फिल्मको तयारीमा जिम धाउने गर्थे । उनलाई जिम सिकाउने गुरु सुरज कृष्णभक्त थिए र बुढानिलकण्ठमा रहेको इस्कोनका अनुयायी । उनकै पछि लागेर अनमोल पनि इस्कोन गए । त्यहाँ जाँदा उनलाई बेग्लै भाइब्स आयो । फिल्मको तयारीकै बीचमा उनले कृष्ण कन्सेन्सन्सको एक हप्ते प्रशिक्षण लिए । त्यसपछि त उनलाई माछा मासु खाने मोह चटक्कै छुट्यो ।
‘कृको समयमा मैले हेभी डाइट लिनु पर्ने हुन्थ्यो तर यो समयमा पनि मैले माछा मासु खाइँन । मेडिटेसनबाट फर्केपछि त जनावरको पनि माया लाग्छ । सायद फेरि खान्छु जस्तो लाग्दैन,’ अनमोलले भने ।
अभिनेत्री निशा अधिकारीले भने माछा मासु खाने ÷छाड्ने गरिरहेकी छिन् । केही वर्ष माछा मासु बारेकी उनले गर्भवती भएपछि डाक्टरको सल्लाहमा माछा मासु खान थालेकी हुन् ।
उनले बच्चा अलि ठूलो भएपछि पुनः भेजिटेरियन बन्ने बताउँदै आएकी छिन् । अनमोल र निशाको ठिक उल्टो दीलिप रायमाझीले भने आजसम्म मासुको एक चोक्टा पनि मुखमा हालेका छैनन् । कीर्तिपुरको नेवार बस्तीमा हुर्किएका दीलिपले आमाको परम्परा पछ्याउँदै मासु कहिलै नखाएको बताए ।
‘ घरमा हाम्रो आमा भेज हुनुहुन्थ्यो । यही कारण हामी सबै भेज भयौं,’दीलिपले भने, ‘सानोमा नखाएपछि ठूलोमा मतलब हुँदोरहेनछ । मामा मावली, आफन्त नातागोता कसैले पनि मासु खानुहुन्नथ्यो । त्यो भएर कहिलै पनि यसको तिर्सना भएन ।’ दीलिपले जमघटमा यदाकदा साथीभाइलाई पकाएर खुवाएको अनुभव भने समेटेका छन् । ‘ पकाएर खुवाउन मलाई खुब मजा लाग्छ । यसरी मुड चलेको बेलामा एक दुई पटक पकाएर खुवाएको छु । यसो गर्दा गन्ध लिएँ होला तर खाने कुरा दिमागमा आएन,’ उनले भने । उनले दसैंमा मासुको साटो घिऊ बढी खाने गरेको बताए ।
मासु नखाने अर्की कलाकार हुन्, दीपाश्री निरौला । दुई दशकदेखि शाकाहारी खानपान अपनाइरहेकी दीपाश्रीले एउटा ध्यान केन्द्रमा पुगेपछि मासु छोडेकी थिइन् । ध्यान केन्द्रका सबै शाकाहारीको प्रभावले मासु छाडेकी उनलाई एउटा घटनाले मासु नै नहेर्ने बनायो । ‘मासु छाड्छु भनेको तीन महिनापछि मेरो जन्म दिन परेको थियो । जन्मदिनमा बुबाले खसी काटेर भोज खुवाउने रहर गर्नुभयो । मैले पनि केही पिस खाएँ । तर, केहीबेरमा वान्ता भयो । त्यसपछि कहिलै मासु खाउँ नै लागेन’ उनले भनिन् । तर, यसरी चटक्क मासु छाड्नुअघि दीपा दुई तीन केजी मासु ढुक्कैसँग खान्थिन् ।
अभिनेता निखिल उप्रेति माछा मासु नखाने सेलिब्रेटी हुन् । निखिल उप्रेतिलाई सानैदेखि माछा मासु मन पर्दैनथ्यो । घरमा माछा मासु पाकेको दिन भान्सामा छिर्दैनथे । तर, परिवार उनको यही स्वभावले पिरिएको थियो । किनकि निखिल सानोमा साह्रै दुब्लो पातलो थिए र गाउँघरमा माछा मासु खाएमात्र ज्यान मोटाउने विश्वास थियो । लगभग १४÷१५ वर्षको उमेरसम्म यो दोहोरी चलिरह्यो ।
अन्ततः निखिल हारे र वयस्क हुँदैगर्दा मासु खान थाले । यो क्रम हिरो भएको केही वर्षसम्म चल्यो । यहीबीच निखिल आध्यात्मको संगतमा लागे । जीवन जगतका रहस्यमाथि चिन्तन गर्न थाले । यसपछि भने उनलाई फेरि मासु खान मन लाग्न छाड्यो । उनले फेरि चटक्क छाडे ।
‘एक त खाँदा पनि मेरो मन रमाएको थिएन । फेरि अध्यात्मको दुनियाँमा प्रवेश गरेपछि पशुपंक्षीको वध पनि निरर्थक लाग्न थाल्यो,’ निखिले भने, ‘यसपछि माछा मासु छाडेको पनि १०÷१५ वर्ष हुन लाग्यो ।’
दीलिप झैं निखिल पनि नखाए पनि छोइछिटै गर्ने गरी टाढा हुन नपर्ने बताउँछन् । आफू नखाए पनि उनले परिवारलाई रोकतोक गर्ने गरेका छैनन् । दीपाश्रीकै लहैलहैमा लागेर दीपकराज गिरीले पनि मासु छाडेका छन् । उनले भने मासु छाडेको दुई तीन वर्ष मात्र भयो ।
प्रदीप खड्काले भने मासु छाडेको ११ वर्षभन्दा ज्यादा समय भइसकेको छ । उनले पनि खान मन नलागेकोले छोडेको बताए । तर, जिम धाउने बेलामा उनले अण्डा भने सेवन गर्ने गरेका छन् । अनमोलसँगै इस्कोन गइरहने सुहाना थापाले पनि मासु खान छाडेकी छिन् । उनले मासु छाडेको दुई तीन वर्ष मात्र भयो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया