कला

टेलिग्राममा नेपाली फिल्मको पाइरेसी, टेलिग्राममा पाइन्छन् ‘घामड शेरे’ देखि ‘साङ्लो’सम्म

इकागज |
माघ ७, २०७७ बुधबार १५:१९ बजे

काठमाडौं : एक वर्षअघि मात्र प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ बुधबार निर्माण टिमले सुटुक्क रिलिज गर्यो । यही टिमले निर्माण गरेको अघिल्लो फिल्म पनि तीन हप्ताअघि मात्र युट्युबमा सार्वजनिक भयो । यति छोटो समयमा दुवै फिल्म युट्यबुमा आउने एउटा मुख्य कारण हो, पाइरेसी ।

ओटीटीका लागि दिएको फिल्म पाइरेसी भए पछि निर्माण टिमले युट्यबुमा नै रिलिज गर्न जाति मानेपछि युट्युबमा आएको हो । तर, पाइरेसीले दुःख दिने फिल्मको लिस्टमा यी फिल्म मात्र छैनन्, हलमा लागेर उत्रिएका थुप्रै फिल्म अनधिकृत रुपमा बजारमा उपलब्ध छन् । 


पहिला पहिला नेपाली फिल्म पाइरेसी भएर मोबाइल टु मोबाइल सर्कुलुट हुन्थे । गुगल डकमा पनि नेपाली फिल्म ओसार पसार हुने गरेका थिए तर पछिल्लो समय पाइरेसीको ठेगाना परिवर्तन भएको छ । हालसालै पाइरेसीमा परेका फिल्म भने टेलिग्राममार्फत पाइरेसी हुने गरेका छन् । जस्तो कि अहिले तपाईंले टेलिग्राममा रिलिज नभएका नेपाली फिल्म खोज्नु भयो भने पाउन सक्ने सम्भावना छ । 

इकागजले प्राप्त गरेको टेलिग्रामको एउटा च्यानलमा युट्युबमा सार्वजनिक नभएका केही फिल्म उपलब्ध छन् । निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय रहेको फिल्म ‘घामड शेरे’ युट्युबमा सार्वजनिक भइसकेको छैन तर यो फिल्म टेलिग्राममा पाइन्छ । त्यसैगरी बिराज भट्टको डेब्यु निर्देशन रहेको फिल्म ‘साङ्लो’ पनि टेलिग्राममा खोज्दा भेटिन्छ । सुशील श्रेष्ठ र आमिर गौतमको अभिनय रहेको ‘बादशाह’ पनि पाइरेसी हुने फिल्मको सूचीमा छ । यो फिल्म पनि टेलिग्राममा भेटिन्छ । 

निर्माताले फिल्म पाइरेसीको निवेदन प्रहरीमा दर्ता गराए पनि प्रहरीले सहयोग नगरेको गुनासो गर्दै आएका छन् । तर, प्रहरीले पर्याप्त जनशक्ति नभएको बहानामा निर्माताको करोडौं लगानीमाथि भएको खेलवाडलाई आँखा चिम्लँदै आएको छ । 


Author

थप समाचार
x