३० वटा स्क्रिप्टपछि राजेश हमालले छाने ‘सत्यम’, हमाल स्रोत भन्छ, ‘सम्झौता हुन बाँकी’
काठमाडौं : राजेश हमालले ३० भन्दा बढी स्क्रिप्टको अध्ययन्पछि ‘सत्यम’ खेल्ने निर्णय गरेका छन् । फिल्म निर्माता रेसम सापकोटाले नवयुग सिनेमाको ब्यानरमा बन्न लागेको फिल्मका लागि मुख्य भूमिकाका लागि राजेश हमालसँग सम्झौतासमेत भइसकेको बताए । तर, राजेश हमाल निकट स्रोतले भने फिल्म खेल्ने मौखिक सहमति भएको भए पनि कागजी सम्झौता भने भइनसकेको जानकारी गराए ।
राजेश हमाल र निर्माताबीच सेतुको काम गरिरहेका प्रडक्सन म्यानेजर प्रकाश महराले सबै कुरामा सहमति भइसकेको भए पनि हमालको व्यस्तताका कारण साइन हुन बाँकी रहेको बताए । ‘बागमती’ र ‘शकुन्तला’ फिल्म पछि ठूलो पर्दाबाट टाढिएका हमालले फिल्म खेल्ने आएका प्रस्ताव पन्छाउँदै आएका थिए ।
त्यसयता उनले दर्जनौं स्क्रिप्ट पढिरहेको र उपयुक्त स्क्रिप्टमा काम गर्न तयार रहेको बताउँदै आएका थिए । निर्माता रेसम सापकोटाले पनि स्क्रिप्ट चित्त बुझेको कारणले नै हमाल फिल्म खेल्ने राजी भएको बताए । ‘उहाँले अनौपचारिक कुराकानीमा ३० वटाभन्दा ज्यादा स्क्रिप्ट पढेको बताउनु भएको थियो । अब त्यो मध्ये उहाँलाई सत्यम असाध्यै मन परेकाले उहाँ काम गर्न राजी हुनुभएको हो,’ सापकोटाले भने, ‘ बाँकी कुरा केही दिनमै औपचारिक कार्यक्रम गरेर जानकारी गराउनेछौं ।’
राजेश हमालसँगै फिल्मका लागि अनुपविक्रम शाहीसँग पनि सम्झौता भइसकेको छ । सापकोटाका अनुसार फिल्ममा शाहीले भिलेनको भूमिका निर्वाह गर्नेछन् ।
फिल्मले हिरोको खोजीको कथा पेस गर्ने छ । ‘देशमा भएका हिरोलाई अमेरिका र युरोपले चिन्छ तर हामी चिन्दैनौं,’ सापकोटाले कथासारको बारेमा जानकारी गराउँदै भने, ‘ देश बनाउने हो भने ती हिरो चिनाउन जरुरी छ । फिल्मले यही सन्देश दिनेछ ।’
फिल्मको पटकथा सापकोटा स्वयंको हो । पटकथालाई रोचक बनाउन हमाल स्वयं लागिपरेको रेशमको कथन छ । उनले फिल्म फ्लोरमा गएसँगै हमालसँग म्युजिक भिडियो नखेल्ने सहमति भएको पनि इकागजलाई बताए । उनले राजेश हमाललाई दिएको पारिश्रमिकको बारेमा भने खुलाउन चाहेनन् । ‘महानायक’को व्यक्तित्व सुहाउँदो रकम दिन लागेको सापकोटाको भनाइ थियो ।
फिल्मका लागि दुई मुख्य हिरोइनको खोजी भइरहेको छ । एउटाका लागि उपासना सिंह ठकुरीसँग कुरा भइरहेको भए पनि दोस्रो हिरोइन अडिसनमार्फत खोजिने निर्माता सापकोटाले बताए । फिल्ममा रहने दोस्रो हिरोका लागि भने पल शाह र पुष्प खड्कासँग कुरा भइरहेको सापकोटाको भनाइ थियो । फिल्मका लागि दुवैले चासो देखाएको भए पनि कसको समय मिल्छ उसैसँग काम गर्ने निर्माण टिमको तयारी छ ।
३ करोड हाराहारीको बजेटमा बन्न लागेको फिल्ममा सापकोटाले गीत पनि लेखेका छन् । फिल्ममा संगीत भने योगेश काजी र कुटुम्ब ब्यान्डको रहनेछ । शंकर कार्कीको निर्देशन रहने फिल्मको सुटिङ चैतको पहिलो साताबाट सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया