कला

‘मायालु हजार गाउने’ गायक ध्रुव केसीको निधन

इकागज |
माघ ८, २०७७ बिहिवार २०:४४ बजे

काठमाडौँ : ३० को दशकका चर्चित गायक ध्रुव केसीको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट पीडित केसीको बिहीबार साढे ४ बजे निधन भएको अभिनेता भुवन केसीले जनाएका छन् । अभिनेता भुवन केसी गायक केसीका भतिज हुन् । 

१० वर्षदेखि पार्किन्सन रोगबाट पीडित गायक भैंसेपाटीस्थित अर्किड केयर होम बसेर उपचार गराइरहेका थिए । ७५ वर्षीय उनको यहीँ उनको निधन भएको हो । 


सिनामंगलमा जन्मिएका केसीले ६ वर्षको उमेरदेखि रेडियो नेपालको बाल कार्यक्रममा सहभागिता जनाउँदै कलाकारिताको गोरेटो खनेका थिए  । १६ वर्षमा स्वर परिक्षा पास गरेका केसीले रेडियो नेपालमै क्लर्क पदबाट जागिरे जीवन सुरु गरेका थिए । 

ध्रुव केसीले भारतमा गएर पनि केही गीत रेकर्ड गराएको भुवन केसी सम्झन्छन् । काकाले मुम्बईमा गएर केही भजन र गजल गीत रेकर्ड गराएको पनि उनले बताए ।

३० को दशकमा गायक केसीका ‘मायालु हजार हुन्छन’ ‘जिउँदै मर्ने जिन्दगीमा’ ‘तिम्रो माया कागजको रंगीचंगी फूल’ आदि गीत चर्चित थिए । स्टेजमा निकै नै लोकप्रिय गीत ‘अरु कालो रेलको धुँवा’ले भने ध्रुव केसीले भतिज भुवनसँग युगल गाएका थिए ।
  
ऋभिनेता भुवन केसीले काकाको प्रेरणाले नै गाउन सुरु गरेको बताए । ‘स्टेजमा काकाको भयंकर डिमान्ड थियो उसबेला । उहाँको क्रेज देखेर नै म पनि गायक बनेको हुँ,’भुवनले इकागजसँग कुराकानी गर्दै बताए । भुवनका अनुसार धु्रव केसी दरबारका पनि प्रिय गायक थिए ।  ‘दरबार गएर गाएका किस्सा धेरै पटक हामीलाई सुनाउनु भएको थियो । दरबारमा पनि उहाँको खुब डिमान्ड थियो,’अभिनेता केसीले भने । 

वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए । गायक केसीका तीन छोरी छन् । २० वर्षको उमेरमा बिहे गरेका केसीकी श्रीमतिको १५ वर्ष अघि नै निधन भइसकेको छ । 


Author

थप समाचार
x