दश महिनापछि थियटरमा फर्किएको खुशी
काठमाडौँ : माघ लागेकै दिनदेखि शिल्पीको अँध्यारो कोठामा बत्ती बल्न थाले । ढोका खुल्न थाल्यो । मान्छे भित्र पसेपछि बन्द हुन थाल्यो । खाली कुर्सीमा मान्छे बस्न थाले ।
कोभिडले टाढिएका कुर्सी नजिकिन थाले । कोही हाँस्दै । कोही मुस्कुराउँदै । कोही खासखुस गर्दै कुर्सीभरी मान्छे देखिन थाले । भित्तामा कालो पर्दा र सिलिङबाट फालिने प्रकाश घरी देखिन्थ्यो । घरी हराउँथ्यो । झण्डै १० महिना सन्नाटा छाएको थियटरमा अहिले दिनहुँ यस्तै दृश्य देखिन्छन् ।
शिल्पी थियटरले ‘६ पात्रको एकालाप’ नाटक मञ्चन गरेर लकडाउनपछिको १० महिने सन्नाटालाई विसर्जन गरिदिएको छ । कोभिड-१९ को त्रासले मानिसहरू एक अर्कासँग कुरा गर्न समेत हिच्किचाएका बेला शिल्पीका शिल्पकार घिमिरे युवराजले लकडाउनपछिको पहिलो नाटक मञ्चन गर्ने हिम्मत गरेका हुन् ।
उनको हिम्मतलाई कलाकारले साथ दिए भने दर्शकले ताली बजाएर स्वागत गरे । दश दिनसम्म नाटक चल्दा हलमा दर्शकको अभाव छैन । नाटकले उठाएका विषयमाथि बहस गर्नेको संख्या थपिएको छ ।
युवराजको हिम्मतले दर्शकलाई नाटक हेर्ने तलतल मेटाएको मात्रै छैन्, दर्शकको अगाडि जीवन फुलाउने कलाकारको खुशी फर्काएको छ ।
‘कोरोनापछि हामीले दर्शक पाउने आश मारिसकेका थियौ । फेरि अब त्यही अवस्था रहन्छ र ? मान्छेले नाटक हेर्छन् र ? यो कुरा सपनामा सिमित भइसकेको थियो’ नाटक मञ्चन गरेपछि कलाकार पवित्रा खड्काले इकागजसँग भनिन्, ‘ढिलै भएपनि हामीले जीवन पाएका छौ । सन्नाटा चिर्ने पहिलो नाटक गर्न सफल भएका छौँ । उस्तै माया गर्ने दर्शक पाएका छौ । महिनौपछि थियटरमा खुशी फर्किएको छ ।’
लकडाउनको सास्ती
कोभिड १९ ले महामारीकै रुप लिएपछि नेपालले पनि चैत ११ देखि लकडाउन घोषण गर्यो । मानिसहरू धमाधम घर फर्किन थाले । घर फर्किन नसकेकाहरू हिडेरै पनि घर पुगे ।
अवस्था यस्तो थियो कि बाहिर निस्के मरिन्छ भन्ने चिन्ता डरलाग्दो थियो । जनजीवन कहिले सामान्य बन्छ भन्ने टुंगो थिएन । यो अनिश्चित समयमा काठमाडौंमा निस्सासिनुभन्दा घर जान पवित्राले ठीक ठानिन् । मन्थली पुगिन् ।
सधैं हतारमै मन्थलीमा पाइला टेकेर काठमाडौं फर्किहाल्ने उनका खुट्टाहरू यसपटक राम्रैसँग अडिए । लामै समय बाल्यकाल बिताएका ठाउँमा उसैगरी हिँड्न थाले ।
यसबीचमा पवित्रा रेडियो सुन्थिन् । अनलाइन समाचार पढ्थिन् । फेसबुक चलाउँथिन । खोप बन्ने टुंगो थिएन् । मान्छेहरू दैनिक मरेका बाहेक अरु समाचार भेट्न मुश्किल थियो ।
‘दिनहुँ समाचार हेर्दा यस्तो लाग्थ्यो, अब संसार सकियो । दिन मात्रै कहिले हो ? भन्ने अवस्था थियो’ शिल्पीको डबलीमा लकडाउनको स्मृति पल्टाउँदै पवित्रा भन्छिन्, ‘तर पनि हामी सामान्य अवस्थामा फर्कियौ । नाटकघरमा फेरि दर्शक आउने वातावरण पायौं । साँच्चै समय शक्तिशाली रहेछ ।’
यस्तै सास्ती काठमाडौँमै बसेकी संगीताले पनि झेलिन् । शिल्पीबाट बाहिर निस्कने मुश्किल पर्ने, चोक चोकमा प्रहरी तैनाथ हुने, रित्ता सकडमा चरो मुसो समेत देख्न नपाइने जस्तो सन्नाटाका बीच काठमाडौंमा संगीताले साथीहरूसँग थुप्रै कष्ट भोगिन् ।
‘अब नाटकबाट बिदा पो लिनुपर्ने हो कि भन्ने अवस्थासम्म आएको थियो’ डबलीमा नाटक मञ्चन गरेपछिको खुशी व्यक्त गर्दै संगीताले भनिन्, ‘तर होइन् । त्यो चिन्ता थियो । सास्ती झेलेर सम्हालेका पीडादायी संग्रहलाई फुकाउने अवसर पाएका छौ । अब फेरि आफ्नो दैनिकीमा फर्किएका छौँ । ’
लकडाउनपछिको पहिलो नाटक
लकडाउनमा पाइला पाइलामा भोगेको सास्ती हरेक नेपालीको मनमा सुरक्षित छ । जुन सास्ती कलाकारले पनि भोगे । फरक यति रह्यो, थोरैले बाहिर पोखे । धेरैले मनमै गुम्साए ।
त्यो पीडामा संगीताको बेचैन त्यतिबेला बढ्थ्यो, जतिबेला बाटोमा हिड्दा पनि चिन्नेले फ्याट्टै सोधिदिन्थे, ‘नाटकघर कहिले खुल्छ ?’
यहाँ जीवनकै टुंगो थिएन् । मानिसहरू नाटकको पर्खाइमा थिए । नाटकघर वरपर भेटिने दर्शकले दोहोर्याई तेहेर्याई सोधिरहन्थे, ‘नाटक कहिलेदेखि सुरु गर्ने ?’
यो प्रश्नको सामना सबैभन्दा बढी संगीता उरावले गरिन् । लकडाउनमा घर जान नपाएकी संगीता उठ्दा, बस्दा, हिड्दा आफैलाई प्रश्न गर्थिन । बाटोमा भेट्दा चिन्ने आफन्त र साथीभाइले गर्थे ।
मुखमा उत्तर थिएन् । विकल्प थियो त केवल धैर्यता । संगीताले धैर्यता गरिन् । घर जान नपाएकी उनी काठमाडौंमै बसिन् । अनेकन कष्ट झेलिन् । लकडाउनकै बीच माइतीघरमा चर्किने आन्दोलनदेखि देशका कुनाकाप्चामा घट्ने हिंसा, विभेद र अपराधका घटनाका बारेमा सोचमग्न भइन् ।
अवस्था सामान्य बन्दै जाँदा उनको मनमा आशाको सञ्चार भयो । तर लकडाउन अवधिमा घटेका घटना, विभेदको जड र समाजको वास्तविक ऐनालाई रंगमञ्चमा उतार्ने पवित्रा र संगीताको योजनाले विस्तारै मूर्त रूप लिन थाल्यो ।
लकडाउनपछि सटडाउन हुँदै कोभिड-१९ को महामारी घट्दै गयो । मुखमा मास्क लगाएर जनजीवन सामान्य बन्दै गयो । सरकारले महिनौदेखि ताला लगाएको रंगमञ्च खोल्ने अनुमति दियो ।
महिनौदेखि मनमा गुम्सिएका पीडा खोल्ने अवसर आयो । प्रकृतिले दिएको जीवन भएपनि मानिसको ‘असली हैसियत’ लकडाउनले देखाएको थियो । तर आधुनिकताका नाममा देखिएको विभेदको डरलाग्दो अपराध यही कोभिड-१९ को महामारीले देखायो ।
घिमिरे युवराजले नाटक लेख्न थाले । लकडाउनमा देखिएका विभेदका अनेकन दृश्य आँखै अगाडि थिए । संगीता र पवित्राले तिनै दृश्यमा जीवन्त अभिनय गरेर रंगमञ्चमा उतार्ने गरी युवराजले लेखेको कथामा ‘प्राण’ भरे ।
नाटक तयार भयो । पन्ध्र दिन रिहर्सल गरियो । दर्शकलाई पस्किने नाटक तयार भएपछि माघदेखि सुरु गर्ने निर्णय शिल्पीले गर्यो । दर्शक आउँछन् र ? भन्ने शंका मनमै रहेका बेला गोठाले नाटकघरमा चहलपहल बढ्यो ।
साँच्चिकै दर्शक आए । नाटक हेरे । धेरैले राम्रो नाटक भन्दै प्रशंसा गरे । नेपाली समाजको सुन्दरताभित्रको कुरुप तस्बिर देखाएको भन्दै धेरैले सामाजिक सञ्जालमा लेखे । यसले दिने खुशी बेग्लै छ । किनकी समाजको वास्तविकतामाथि व्यंग्य होइन, चोटिलो प्रहार गर्ने ‘प्याकेज’ दर्शकले रुचाउँछन् ।
नाटक कस्तो छ ?
लकडाउनमा सामान्य मान्छे संक्रमित हुँदा उसमाथि हुने विभेद अचाक्ली थियो । तर कुनै पदमा बसेको मान्छे संक्रमित हुँदा उसलाई देखाइने स्वभाव फरक । एउटै रोग हो, तर गरीबले उपचार गर्ने अस्पताल फरक । धनीले उपचार गर्ने अस्पताल फरक ।
दानी पानी खाएर बाँच्जे मान्छे उही हो । रगत रातै हुन्छ । तर जातकै कारण, धर्मकै कारण मान्छेले मान्छेमाथि गर्ने विभेद सानो छैन् । विभेदकै कारण मान्छेमाथि मान्छे अपराध गर्छ ।
प्रकृतिको वरदान स्वरुप कोही पुरुष भएर जन्मिए । कोही महिला भएर जन्मिए । तर समाजले पुरुषलाई शक्तिशाली देख्छ, महिलालाई शक्तिहीन ठान्छ । त्यो विभेदविरुद्ध महिलाहरू आज पनि लडिरहेका छन् ।
नाटक अनेकन् स्वरुपका विभेद भोग्ने यस्तै चरित्रका कथामा केन्द्रित छ । विभेदलाई मुखरित गर्ने चोटिला शब्द सम्मिलित संवादले बेला बेला मथिंगल हल्लाउने गर्छ । महिलामाथि हुने विभेद, जातीय रुपमा दलितमाथि हुने विभेद, वर्गीय रुपमा धनी र गरीबबीचको विभेद, हुनेखाने र हुँदाखानेबीचको विभेदलाई नाटकले सशक्त रुपमा देखाएको छ । जसले लकडाउनपछिको पहिलो नाटक हेर्दै गरेका दर्शकलाई पनि सोचमग्न बनाउँछ ।
‘नाटक लेख्नु । मञ्चन गर्नु । त्यसलाई प्रदर्शन गर्नु सबथोक होइन’ थियटरमा खुशी फर्किएको सारमा नाटकले उठाएको विषयवस्तुबारे पवित्रा भन्छिन्, ‘जतिसुकै गफ दिएपनि नेपाली समाजमा विभेदले जरा गाडेको छ । यो कुरा सबैलै स्वीकार्छन् । तर हामी आदर्शको गफ दिएर फेरि समाजको साङ्लो तोड्न सक्दैनौँ । जुन सत्य हामीले नाटकमा देखाएका छौँ ।’
६ जना महिला पात्रले पैताँलिस मिनेटको समय बिताउँदा दर्शक हलबाट बाहिरिन हतार गर्दैनन् । बरु अब के आउँछ ? भन्दै पर्खेर बसिरहन्छन् । तर मञ्चबाट ओझेल परिसकेका पात्र फेरि नझुल्किएपछि दर्शक कुर्सीबाट उठ्न बाध्य हुन्छन् ।
पात्रले बोल्ने संवाद, शैली र ध्वनीको सम्मिश्रणले दर्शकलाई बाँधेर राख्छ । बीच-बीचमा गाइने गीत कारुणिक छ । तर विभेदको पीडा भोगिरहेका पुरुषको प्रतिनिधित्व मञ्चमा देखिदैन ।
यसबाहेक नाटक हेरिरहेका व्यक्तिलाई ‘६ पात्रको एकालाप’ नौलो पनि नलाग्ला । तर लामो समयपछि थियटर छिरेकालाई भने मनोरञ्जनसँगै परिवर्तन आवश्यक छ भन्ने ‘चस्का’ चाँही पक्का दिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया