कला

तारादेवी सम्मानबाट ३ स्रष्टा सम्मानित

इकागज |
माघ १०, २०७७ शनिवार १७:१६ बजे

काठमाडौं : स्वरकिन्‍नरी तारादेवीको १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टा सम्मानित भएका छन् । सम्मानित हुनेमा स्वर्गीय गीतकार भैरवनाथ रिमाल ‘कदम’, स्वर्गीय संगीतकार गणेश परियार र गायिका ज्ञानु राणा रहेका छन् । 

गीतकार रिमालको यसैवर्ष पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको थियो । उनीहरूको निधन हुनुअघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेकोले स्वर्गीय रिमालको सम्मान उनकी छोरी रेखा ढकालले र स्वर्गीय परियारको सम्मान उनकी नातिनी मरिया परियारले ग्रहण गरेका हुन् ।
 
तारादेवी स्मृति फाउन्डेसनद्वारा शुक्रबार महाराजगञ्‍जमा आयोजित कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य,  फाउन्डेसनका अध्यक्ष दीपक के. सी., नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले सम्मानितहरूलाई ताम्रपत्रसहित जनही २५ हजार १ रूपैँया हस्तान्तरण गर्दै दोसल्ला ओढाएका हुन् ।
 
त्यस्तै, झन्डै ४ घण्टा २० मिनेट लगातार गीत गाएर 'गिनिज बुक अफ वल्र्ड रेकर्ड'मा नाम लेखाएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई पनि विशेष सम्मान गरिएको थियो । यसै गरी सामाजिक सेवा गरेको भन्दै वडाध्यक्ष दीपक के. सी.लाई पनि सम्मान गरियो । 
 
कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारको रोयल्टीको अधिकार सुनिश्‍चित गरिनुपर्ने बताए । ‘अहिले सार्वजनिक सवारी साधन नविकरण गर्दा उनीहरूले गीत बजाएवापत रकम तिरेका छन् । रेडियो र टेलिभिजनले रोयल्टीवापतको शुल्क तिरेका छन् । यसरी संकलन भएको शुल्क कसको हातमा कति परेको छ? यसको खोजी हुनुपर्छ,’ उनले भने, ‘यसको व्यवस्थापनका लागि म पहल गर्नेछु ।’
 
कार्यक्रममा राज्यमन्त्री मानन्धर र सरीता शाहीले नारायण गोपाल र तारादेवीको ‘लुकँ लुकुँ लाग्यो मलाई ....’ बोलको गीत गाए । स्वर किन्‍नरी तारा देवीका कालजयी गीतहरूको संरक्षण र प्रवर्धन गरी नयाँ पुस्तालाई प्रोत्साहन गर्न २०७५ सालमा तारा देवी स्मृति फाउण्डेसन स्थापना गरिएको थियो ।  


महानगरले फाउन्डेसनमा २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ । महानगरले नारायण गोपालको अधुरो चाहना पूरा गराउन करीब ६ करोड रुपैयाँ लगानीमा ‘गीत गंगा अडिटोरियम’ निर्माण गर्दैछ । 


 


Author

थप समाचार
x