कला

बसाइँ हिँड्नुको पप्पी मन

विमल सिटौला |
माघ १०, २०७७ शनिबार १७:५३ बजे

सहरको एक कोठाभित्र बसेर गाउँ नियाल्दा गाउँमा व्यतित मनोरम र हृदयहारी स्मृति चित्रले वर्तमानलाई त्यतापट्टि डोहोर्याइरहन्छ, जहाँ मिनेट मात्र होइन, घण्टौँसम्म कुनै मन त्यतैपट्टि रमाइरहन सक्छ । 

त्यो पुरानो तर आलो स्मृतिमा हराएर तन्द्रारूपी यात्रामाझैँ जोडजोडले पैताला चाल्दै हर महत्वपूर्ण पयरको अनुभूति भइरहन्छ । साँच्चै भन्‍ने हो भने गाउँका याद दसी वा वास्तविक याद हुन्न जुन जीवनभर रातको बत्ती बनेर सुनसानमा आइरहन मन पराउँछन् । 


किनकि, त्यहाँ प्राकृत प्रक्रियामै घटित कार्य हुन्छ । ती स्मरण वाटिकामा एउटा तस्बिर खिचिक्क भइरहँदा, त्यसको वरपर, दायाँबायाँ राता, हरिया, पहेँला, नीला आदि पोतिएका अनगन्ती सरस रंगहरूबाट मानिस उम्कन सक्दैन । ऊ त्यतै बगिरहन्छ । बगिरहन्छ । त्यस्तै भएको छ प्रेमविनोदको आजको रात पनि ।

ऊ यतिखेर राजधानीको एक कोठाबाट घर सम्झिरहेछ । उसको घर मध्यनेपाल, चितवन । उसले हजुरआमा र आमाबुवासँग त भर्खरै कुराकानी गरेर सकेको छ तर पनि उसलाई घरका सदस्यबाट छिनछिनमा टाढा भएको अनुभूति भइरहेको छ । उसलाई घरको अर्को सन्तानले अति सताएको छ ।
०००

एक सदस्यरूपी प्राणीको चित्र, उसको आवाज, उसको मूक चेहरा, सम्पूर्ण रूपमा उसको दुई दशकको यात्रा एक साक्षीको रूपमा ताजा स्मरण बनेर दगुरेर आइरहेछ । एक प्राणी जो उसको बाल्यकालको साथी बनेको थियो, जोसँग उसले बडो उमंगसँग दुई दशक बिताएको थियो । आखिर मानिस दुई दशक बिताएको प्राणीबाट भौतिक रूपमा टाढा भए पनि मनमस्तिष्कदेखि कसरी अल्पिन सकिएला र ? 

ऊ बोल्न सक्दैनथ्यो तर बुझ्‍न सक्थ्यो । पढ्न सक्दैनथ्यो तर बुद्धिविवेकले काम गथ्र्यो । उसले ढाँट्न, छल्न, ठग्‍न जान्‍नु त परको कुरा । ऊ निकै इमानदार थियो । के यी यावत् कुरा कुनै जनावरबाट सम्भव हुन्छ र ?   

प्रेमविनोदले त्यस प्राणीलाई सुरुआतमा ‘काले’को संज्ञा दिएको थियो । काले उसका लागि यति मायावी थियो कि बरु घरका अरू सदस्यलाई ऊ बिर्सन सक्थ्यो तर उसलाई होइन । जब ऊ आठ वर्षको हुँदो हो उसले त्यस कालेलाई विद्यालयबाट फर्किंदा एउटा गुरुंगो घरबाट ल्याएको थियो । 

उसका साथीहरूले पनि एकएक वटा काखीमा च्यापेर बढो मुस्किलसँग आफ्नो घरघरमा ल्याइपुर्याएका थिए तर भोलिपल्टै तिनीहरूले त्यस कुकुरको छाउरीलाई त्यहीँ गुरुङको घरमा पुर्याइदिएका थिए, आमाबुबाको आदेशमा । 

यतातिर प्रेमविनोदको घरमा भने उसले निकै संघर्ष गर्नुपर्‍यो । तत्क्षण ‘प्रेमविनोदको बा’बाट त्यसलाई घरमा ल्याउन र पाल्न इन्कार गरियो । ‘अति तुच्छ प्राणी, ती माथि छाउरी’ भन्दै भोलि नै, जहाँबाट ल्याएको त्यहीँ पुर्याइदिने भन्दै त्यो साँझ तमासा भयो । तर प्रेमविनोदको एकोहोरो बालसुलभ ढिपी अगाडि कसैको केही पनि चलेन । ऊ डाको छाडेर रोयो । अतः त्यो कालेले त्यस घरमा हुर्कने सौभाग्य प्राप्त गर्यो । यस्तो सौभाग्य जुनसुकै कुकुरका दूधे छाउरीहरूले गाउँघरमा अझैसम्म पनि पाउँदैनन् ।

उनीहरूको अल्पायुमै हत्या हुनेदेखि लिएर मायाविहीन भएर कुनै सडकको किनारमा धिपधिप बत्तीझैँ आफ्नो प्राण त्याग्‍नुपर्ने हुन्छ वा अञ्‍जानमा द्रुत सवारी साधनको धक्कामा एकैचोटि पेलिएर ईहलीला समाप्त पार्नुपर्ने हुन्छ । यदि त्यसो भएन भने गल्लीको जिन्दगी त छँदै छ, जो चरम भोकमारी र हेयताबाट गुज्रिदिन्छ । 

उसले दिनप्रतिदिन त्यो रातो र पूर्ण बेसारे रङको छाउरीलाई सुम्सुम्याइरह्यो । त्यसलाई कसैले कतै लग्‍ने हो कि वा हराउने पो हो कि भन्‍ने भयले सुरुताका उसलाई विद्यालय नजाऊँ जस्तो पनि भयो । त्यो कलिलो उमेरमा प्रेमविनोदको सम्पूर्ण माया त्यो कुकुरको छाउरीउपर यसरी पोखियो कि एक सखार हुँदै बादलविहीन आकाशबाट घामको कलिलो प्रकाश जसरी मध्याह्नसम्म बढोत्तरी भएर जान्छ । 

उसले कालेलाई आफ्नो भागको खाना अरूको आँखा छलेर दिन्थ्यो । घरमा रहँदा उसलाई खेलाइरहन्थ्यो । सुम्सुम्याइरहन्थ्यो । काले पनि ऊ जहाँ जान्थ्यो लड्दै र घिस्रिँदै त्यहीँ पुग्थ्यो । काले प्रेमविनोदको मुखमा हेरिरहन्थ्यो । ऊ पनि कालेको छेउमा बसेर विद्यालयको गृहकार्य सक्थ्यो । सिसाकलम उसको मस्तिष्कमा राखेर कालेलाई जिस्क्याइरहन्थ्यो ।

गर्न हुने-नहुने सबै कुरा प्रेमविनोदले कालेलाई गर्थ्यो । काले घ्यार्रघुर्र गर्दै रिसाउँथ्यो । यद्यपि काले धूर्त थियो । कहिलेकाहीँ मात्र जोडले चिच्याउँथ्यो, प्रेमविनोदले उसलाई औधि रिस उठाएको बेला । यसरी प्रेमविनोदको खेल्ने साथी भनौँ या सहयात्री, हप्ता दिन नबित्दै त्यो काले भइसकेको थियो । यसबाट न प्रेमविनोदलाई टाढिन सहज थियो, न त त्यो दूधे कुकुरको छाउरी कालेलाई नै ।
   
अर्कोतिर, घरमा छाउरी हुर्किंदै गएको देखेर प्रेमविनोदका बा झिँझिरहेका थिए । अरू सदस्यहरूलाई त्यो प्राणीप्रति दयाको भाव थियो किनकि त्यो अबोध थियो । विशेषतः हजुरआमा र आमालाई उसको त्यो उपरको प्रेम देखेर बीचमा कुनै धाँजा हाल्न मन पटक्कै थिएन । यद्यपि अन्तरहृदयभित्र हजुरआमा पनि चाहन्थिन् कि नातिले खेलाएको प्राणी छाउरीभन्दा छाउरो होस् । 

यदि छाउरी बढे पहिले पहिले पहाडमा जस्तै असरल्ल कुकुरका सन्तान हुर्किन्छन् र सबैलाई पाल्न सकिँदैन । त्यसकारण, उनीहरूले कलिलो उमेरमै जिन्दगीभर आमाबाट छुट्नुपर्छ । यदि बाँचे भने त ठीक छ, तर मरे भने घरका मानिसलाई पाप लाग्ला । हजुरआमा नातिलाई जतिखेरै जिस्काउँदै सोध्थिन्, ‘ए नाति,  तँलाई यो कुकुरको छाउरीको बढी माया लाग्छ कि मेरो ?’

तर प्रेमविनोद सिधै प्रतिक्रिया दिनुको सट्टा दगुरेर कालेसामु पुग्थ्यो र घुतुमुन्‍ने छाउरीलाई दुई हातले छातीमा बोक्थ्यो । नातिको प्राणीप्रतिको अतिव प्रेम देखेर उनले आफ्ना पतिलाई भन्दै थिइन्, ‘छाड्दिनुस् अब, यहीँ हुर्कियोस् । साह्रै रहर गर्यो नातिले ।’ तर बा फन्किने गर्थे । 

२०५५ माघको दोस्रो हप्ता । उनका बाले मध्यान्ह हजुरआमाको अव्यक्त चाहनालाई सम्बोधन गर्दै त्यस छाउरीलाई अन्त उतै पुर्याई एक भकुल्ले डाँगो वा छाउरो ल्याए र यथास्थानमा राखिदिए । सायद यो चलाखी गर्न उनकी हजुरआमाले पो बाटो देखाइन् कि ! त्यो छाउरो दुरुस्तै रङको थियो र निकै सुडौल र मोटो । सम्पूर्ण रूपमा मातृवात्सल्य पुगेर खेलाइरहूँ जस्तो तर त्यो दिनैभर कराइरह्यो क्‍वाइँ क्‍वाइँ गर्दै । 

आफ्नो आमासँग उसले तीन हप्ता मात्र बिताउन पाएको थियो । छाउरा छाउरीका लागि २१ दिन पनि निकै मान्‍नुपर्छ । कहाँ सबै कुकुरका छोराहरूले तीन हप्ता जन्म दिने आमासँग बिताउन पाउँछन् । कसैले न कसैले उनीहरूलाई आमाबाट छुटाएर लगिहाल्छन् घरको पहरेदार बनाउन ।

जब प्रेमविनोद घर आइपुग्यो र काले भन्दै काले समीप गयो । अचानक त्यसको रूपरङ र जिउको ढाँचा देखेर केही असजिलो भयो तर जब उसले त्यसलाई छोयो, ऊ निकै सजिलो मानेर भुइँमा पल्टियो र आवाज निकाल्न छाड्यो । यदि त्यस छाउरोले उसको स्पर्श पाउँदा तर्सिने वा डराउने गरेको हुन्थ्यो त कालेभित्र शंकाका बीजहरू एक पछि अर्को उम्रन्थे होला । फलस्वरूप, ऊ आमा वा हजुरआमासामु पुगेर अनेक पृच्छाहरू गर्थ्यो होला । तर त्यो त भएन त्यहाँ । सहजतामाथि झन् सहजता थपियो छाउरोको जिउडाल र रूपरङले ।

भोलिपल्ट एक जना आगन्तुक आएर प्रेमविनोदको कुकुरप्रतिको अगाध माया र साथित्व देखेर एक नाम राखिदिए, ‘अबदेखि यसलाई काले नभन्‍नू, पप्पी भन्‍नू, पप्पी ।’ 
प्रेमविनोदलाई त्यो नाम सुरुमा त मन पनि परेन । निकै अप्ठ्यारो लागेथ्यो तर घरका सबैले पप्पी भनेर बोलाउन थालेपछि उसलाई पनि बानी परेछ । अतः उसले काले नभनेर पप्पी भन्न थाल्यो । दिनप्रतिदिन पप्पीले सबैबाट माया पायो । घरका सम्पूर्ण सदस्यबाट, छरछिमेकबाट र आगन्तुकबाट । 

पप्पी ठूलो हुँदै गयो । उसले भुक्ने आवाज महिनैपिच्छे फरक र शक्तिशाली सुनिन थाल्यो । भोजनको समयमा भान्साकोठाको तोरणद्वारमा बसेर कुर्थ्यो र सबैबाट भातको डल्लो पाउँथ्यो । प्रेमविनोदले दूधभात दिन्थ्यो । उसले खान बस्दै गर्दा पप्पीका लागि भनेर खाना छुट्ट्याउँथ्यो । उसको त्यसो गर्ने आदत नै बनेको थियो । परिवारले उसलाई सम्झाउने गर्थे, ‘अन्तिममा दिउँला, त्यो दिएको खान ।’ तर, अहँ उसले पप्पीलाई आफ्नो गाँस नै काटेर दिन्थ्यो । निकै आतुर पप्पीले व्यग्रताका साथ आँखा नझिम्काई खाना कुर्थ्यो । 

गाउँमा प्रेमविनोद जहाँ जान्थ्यो पप्पी पछिपछि लाग्थ्यो । कहिलेकाहीँ त प्रेमविनोदलाई डर लाग्थ्यो । डर यो मानेमा कि यदि पप्पी तल्ला वा माथ्ला गाउँ गयो भने अरूले टोक्लान् र मार्लान् । यही कारणले पनि टाढा जानुपर्दा ऊ लुकेर जाने गर्थ्यो तर पप्पीले देखिहाल्थ्यो र पछ्याउँथ्यो । फलस्वरूप, ऊ फर्केर आउनुपर्थ्यो । धेरै चोटि यस्तै भएको थियो । ऊ स्कुल जाँदा पप्पीलाई पातलो साङ्लोमा बाँधेर जाने गर्थ्यो । ऊ झोला बोकेर फर्केर हेर्दै हेर्दै जान्थ्यो । पप्पी निकै जोड गर्थ्यो साङ्लोबाट फुत्किनलाई । 

साङ्लो चुडाऊँला झैँ गर्थ्यो । पछि विद्यालयबाट आउँदा उसलाई लिन भनेर हो या आइपुग्‍ने बेला भयो भनेर हो, पप्पी आफैँ माथि माथिसम्म पुगेर कुर्थ्यो । अनि जब उसलाई देख्थ्यो हुत्तिएर उसको सामु पुगी पुच्छर हल्लाउथ्यो र यता र उता, वरिपरि घुम्थ्यो । यो कार्य ज्यादै आश्‍चर्यजनक देखिन्थ्यो । उसका सामु हुँदा पप्पीले बाँकी सबै अपरिचितलाई भुक्थ्यो ।

अन्य कुकुरहरू आए भने त यति तेजले भुक्थ्यो कि उसलाई नभुक भन्‍नुपर्थ्यो वा प्रेमविनोदले खेदाउन बाध्य हुनुपर्थ्यो । द्रुत गतिका मोटरबाइकलाई भुक्दै परसम्म पछ्याउँथ्यो । सायद पप्पी चाहन्थ्यो, ‘बाइकवालाले मेरो पनि ख्याल गरिदिऊन् र आस्ते आस्ते अगाडि बढून् ।’ 

पप्पी जतिखेरै तदारुक अवस्थामा रहन्थ्यो । ऊ आफ्नो जिउडालमा एक पनि मख्खीलाई बस्‍न दिँदैनथ्यो । जति दिन बित्दै गयो त्यति नै आकर्षक हुँदै र बन्दै गयो । एक समय यस्तो आयो कि उसको ढसरा वा बाक्लो ज्यान बढ्दो उमेर र चढ्दो जवानीको बीचमा परेर च्यापियो ।

फलस्वरूप, केही महिना ज्यान लिन सकेन । घरमा अन्य चौपाया भएकाले पनि उसले प्रशस्त खान त पाउँदैनथ्यो । तर दिएको खाना ऊ यसरी खान्थ्यो कि उसले एक सितो पनि बाँकी राख्दैन्थ्यो । ऊ छरछिमेकमा बिहानसाँझको खाना खाने बखत टुप्लुक्क पुग्थ्यो तर रातमा आफ्नै घर आउँथ्यो ।

ऊ राति सुनसानमा जोडजोडले भुक्थ्यो जब गाउँका अरू कुकुरहरू भुकेको सुन्थ्यो । ऊ अनौठा मानिसहरू उपर झम्टिन्थ्यो तर टोक्दैन्थ्यो । वरपर घुमेर भुक्दै झम्टिन्थ्यो । यस्तो अवस्थामा जब प्रेमविनोदले ‘नभुक–नभुक’ भन्थ्यो अनि चुपचाप लाग्थ्यो र लुसुक्क पथ्र्यो । 

ऊ कहिल्यै पनि भान्सा कोठा भित्र पसेन । एक दिन प्रेमविनोदले आफू भित्र बसेर भान्साकोठामा बोलायो तर उसले आफ्नो रेखा कहिल्यै पनि पार गरेन । बरु पुच्छर हल्लाइरह्यो । प्रेमविनोदले उसलाई घर घुम्न पनि सिकाएको थियो । उसले आफ्नो हातको चोरी औँलोलाई गोलाकार रूपमा घुमाइदियो भने पप्पी फुर्तिका साथ एक फन्को घर घुमेर टुप्लुक्क आउँथ्यो । उसले आफ्ना अगाडिका खुट्टा माग्यो भने सर्लक्क हातमा राखिदिन्थ्यो । नबस्‍न आग्रह गर्यो भने ऊ जुरुक्क उठेर पर जान्थ्यो । यस्ता असाधारण बानीहरू उसका थिए जुन आगन्तुकलाई दंगदास बनाउने ।

उसको अर्को फरक आदत थियो । धेरैजसो कुकुरहरूसँग बिरालाको सम्बन्ध राम्रो हुँदैन तर ऊ पछिल्लो समय बिरालोसँग खेल्थ्यो । प्रेमविनोदको घरमा एक सेती बिरालो थियो जोसँग प्रेमविनोदको निकटता हुन पाएन । 
 
आज २०७५ साल, प्रेमविनोदले पप्पीका यस्तै यस्तै कुरा सम्झिरहेको छ । उसले स्नातक तहमा सफलता पाएर थप अध्ययनका लागि राजधानी आएको दुई वर्ष भएको छ । २०५५ सालको पप्पी आज २० वर्षको भएको छ । पोहोर साल ढेड वर्षमा घरमा पुग्दा पप्पीले एकै चोटि चिनेर पुच्छर हल्लाएको थियो । प्रेमविनोदलाई कतिखेर घर पुगेर पप्पीको मुख हेरुँ भएको थियो । ऊ बुढो भएको रहेछ । ज्यानबाट रौंहरू पातलिएका थिए । बीचबीचमा अंगुर आकारका काला दागहरू देखिन्थे । रोगीझैँ हिँडाइ पनि निकै सुस्त सुस्त । त्यो रौनक र सान उसमा थिएन जस्तो त्यो बेला थियो । 

उसको गति देखेर प्रेमविनोदको मन भक्कानिएर आएथ्यो र उसले टुसुक्क बसेर पप्पीको मस्तकमा हातले थप्थपाएको थियो । यसो गर्दा पप्पीका आँखा घरी प्रेमविनोदउपर, त घरि अन्त कतै घुमिरहे । हेर्दा हेर्दै उसले पप्पीका आँखाहरू रसाएको देख्यो । पप्पी जुरुक्क उठेर पुच्छर हल्लाउँदै फुत्त उठेर अन्त भाग्यो । प्रेमविनोदले उसलाई पछ्याइरह्यो तर पप्पी नजिक आउन मन गरेन । टाढाटाढा गयो । आखिर पप्पी किन प्रेमविनोदबाट यसरी टाढा भाग्यो ?

प्रेमविनोदले उसलाई दूध र भात दिन भनेर भरे साझँसम्म पर्खिरह्यो तर आएन । उसको खाना खाने थालीमा राखेर निराश मुद्रामा सुतेथ्यो । भोलिपल्ट बिहान त्यो खाना थिएन । सायद उसले राति खायो । तर उसले कसरी खायो ? कसलाई सम्झेर खायो ? कसले राखिदिएको भनेर खायो ?

यतिकैमा प्रेमविनोद सपनाबाट झसंग हुन्छ । घडीले बिहान ५ बजेको संकेत दिन्छ । त्यसपछि ऊ कलेज जाने तरखर गर्छ ।

यहीँ बखत प्रेमविनोदको फोनको घण्टी बज्यो । उसले उठायो । घरबाट उसले नयाँ समाचार पायो । आउँदो बुधबार उनीहरूको परिवार गाउँबाट सहर बसाइँ सर्ने भए रे । उनीहरूको यो अपर्झटको निर्णय थियो । हुन त पहाडबाट मधेस, दुर्गम मधेसबाट सुगम मधेस वा सहरी इलाकातिर बसाइँ सर्नेहरूको क्रम चलिरहेछ । उनीहरूको परिवार पनि चलेको चलनअनुसार अगाडि बढ्ने भए । तर, जब प्रेमविनोदले यो खबर पायो, ऊ गलेर खत्रक्क भयो । सुकेर खण्डहरसरह भयो । ओठ सुक्लाझैँ भयो । 

उसको पप्पीको गत हाल सम्झेर ऊ छटपटाउन थाल्यो । एकैचोटि उसभित्र वेदनाको पहाड चुलिएर आयो । उसले घुटुक्क पानी पियो र फेरि यथास्थानमा आएर पल्टियो । उसलाई आफू जन्मथलो छोडेर जाँदै छु भन्‍ने बिछोडको चिन्ताभन्दा पप्पीको जीर्ण हाल, उसको परिवारविहीन अवस्था, र गाउँमा अरू सबैबाट हेपिँदाको क्षण सम्झन थाल्यो । उसलाई यो आश्‍चर्य लागिरहेथ्यो कि ‘आखिर पप्पी किन मदेखि टाढियो ? मलाई चिने पनि किन उसले त्यो बखत मेरो नजिक नजिक आएर परिचित भई बसेन ? 

पप्पी किन रिसायो ? अब उपरान्त पप्पीसँग मेरो भेट होला र ?’ यस्तै कुराहरूको चाङमा परेर उसले मध्यरातमा एक सपना देख्यो जहाँ उसको परिवार पप्पीलाई छोडेर बसाइँ सरेर हिँड्ने क्रममा थिए । 

‘आकाश बादलले ढाकेको छ । कत्ला कत्ला बादलले नीलो र सेतो नभमा छिद्रछिद्र पारेको बिहान छ । घाम उदाउने समय भए पनि धर्तीउपर मधुरो प्रकाश फिजिएको छ । घरको हालत चौपट छ । घामको झुल्कोसँगै सामग्रीहरू असरल्ल आँगनमा निकालिएका छन् । चार पाँच जना कामदारहरू खटिएका छन्, कोठाचोठाबाट खाट, टेबुल, कुर्सी, दराज, तखता, बाकस आदि झार्न भनेर ।

गाउँका केही मानिस दुःखेसो पोखिरहछन् जोशी परिवारमाथि । जोशी दम्पती यता र उता अल्झिरहेछन् सामग्रीको तलासमा । उनीहरू केही गर्न खोजिरहेका देखिन्छन् तर अहिलेसम्म महत्वपूर्ण केही गरेका भने छैनन् । सट्टामा एकदमै आत्तिएका देखिन्छन् । सबैजना आउँदै भनिरहेछन्, ‘सहर पुगर हाम्लाई बिर्सिनु होला नि काकाकाकी ?’ प्रेमविनोदको मुख नै हेर्न नपाई जाने भयो ? प्रेमविनोद आएको छ र ?’

यतापट्टि पर एकान्तमा एक वृक्षमुन्तिर पप्पी बसेको छ । पप्पीले सोचिरहेछ, ‘आज के भइरहेछ मेरो घरमा ?’ ऊ भुक्न सक्दैन अहिले । उसलाई हिजोदेखि झन् गाह्रो अवस्था आइरहेछ । घरमा प्रशस्ती खान पाएको छैन । छरछिमेकमा जाऊँ भने पनि सबैका घरमा ऊजस्तै बसेका छन् । उसलाई माया गरेर खाना दिने मान्छे एक जनाले संसार छाडेर गइसकेका छन् । अनि बढी माया गर्ने मान्छे ऊबाट टाढा । 

यतिखेर उसको शरीरमा झिँगा, किर्नाहरूले राज गरेका छन् । आफ्नो बलबुतोले भ्याएसम्म आफ्ना अगाडिका दातले जिउलाई बंग्याएर किटीकिटी टोकिरहेछ तिनीहरूलाई । ऊ घरि उठेर आफू बस्‍ने ठाउँमा पुग्छ । घरी बाटोपारि पुग्छ । घरी जोशी दम्पतीको छेवैमा पुग्छ । तर कसैबाट पनि नजर नलाइँदा पुनः फर्केर आफ्नै स्थानमा आइपुग्छ ।

यत्तिकैमा एउटा मालवाहक ट्रक आउँछ र सामानहरू त्यहाँ अपलोड गरिन्छन् । पप्पी जुरुक्क उठेर भुक्न थाल्छ । बूढो भइसकेको कुकुरले त्यसरी भुकेको देखेर जोशी परिवार पनि दंग पर्छन् । दामोदर जोशी भन्छन्, ‘यसले यसरी भुक्न सक्छ भन्‍न मैले सोच्या थिइनँ बा !’ जोशीनी मनमनै भन्छिन्, ‘बिचरा के सोच्दो हो यसले आज, जान्छ भने त लग्नु पर्ला यसलाई गाडीमा हालेर ।’ 

त्यसपछि उनी उसको नजिक पुगेर भन्छिन्, ‘नभुक नभुक पप्पी ।’ त्यसपछि मात्र ऊ चुपचाप हुन्छ । उनको बोली सुनेपछि कुकुर अलि चनाखो पनि हुन्छ । उठेर यता र उता गर्दै सरसामानको रेखदेख गर्छ । उमेरले ऊभन्दा तलका कुकुरलाई नजिक पर्न दिँदैन । गाउँका अन्य जवान कुकुरहरू बढिसकेका हुन्छन् । तिनीहरूसँग घार्रघुर्र गर्दै आफ्नो घरमा शक्ति जमाउन खोज्छ । ती कुकुरहरू पनि टाढाटाढा जान्छन् । 

यसरी दुई गाडी मालवाहक ट्रक अब जाने तरखरमा हुन्छ । छरछिमेकीहरूले बढो दुःख पोख्छन् । महिलावर्गहरू वियोगको क्षणमाझैँ रति बोल्न सक्दैनन् । पुरुषहरू भन्छन्, ‘गाउँ नबिर्सिनू, आउँदै गर्नू ।’ जोशीनी एक आँखर पनि बोल्न नसकेर गाडीभित्र पसेर साडीको सप्कोले आँसु पुच्छन् थाल्छिन् । 

पप्पी गाडी अगाडि पर बाटोमा एक्कासि देखा पर्छ र आफ्ना मालिक मालिक्नी गाडीभित्र चढेको हेर्छ । ऊ एकोहोरो हेर्दैन । घरीघरी पल्याक पिलिक्क हेर्छ र फेरि भुक्न थाल्छ । उसलाई माया गर्ने जोशीनीलाई सायद ऊ हेर्न खोजिरहेछ । गाडी अब स्टार्ट हुन्छ र विस्तारै विस्तारै अगाडि बढ्छ । जोशी दम्पतीको आँखाभरी आँसु आउँछन् ।

उनीहरू हिँडेपछि पप्पी मरेसमानको मुद्रामा फर्केर उही वृक्षको मुन्तिर बस्न पुग्छ । भरे साँझमा युवा कुकुरको हुल आएर उसलाई झम्टिन्छन् र टोक्छन् । सके जति त उसले प्रतिकार गर्छ तर नसकेपछि ज्यान नै छाड्छ । यतिकैमा प्रेमविनोद सपनाबाट झसंग हुन्छ । घडीले बिहान ५ बजेको संकेत दिन्छ । त्यसपछि ऊ कलेज जाने तरखर गर्छ ।


Author

विमल सिटौला

सिटौला त्रिवि केन्द्रीय शिक्षा विभागअन्तरगत स्‍नातकोत्‍तर तहमा अध्ययनरत छन् ।


थप समाचार
x