कला

अभिनेता राजेश हमालको ‘सत्यम’लाई चाहियो कलाकार

इकागज |
माघ ११, २०७७ आइतबार १०:२८ बजे

काठमाडौं :  अभिनेता राजेश हमालले अभिनय गर्ने भनिएको नयाँ चलचित्र ‘सत्यम’ले थप कलाकार छान्न अडिसन कल गरेको छ ।  निर्माण टिमले ‘थिमेटीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिसन कल गरेको छ । निर्माण टिमले विभिन्न उमेर समूहका १० जनाका लागि कलाकार छान्न लागेको जनाएको छ । यसका लागि निर्माण टिमले काठमाडौंसँगै पोखरा, बुटवल र झापामा अडिसन गर्ने जानकारी गराएको छ । 

फिल्मका लागि अनुपविक्रम शाही अनुबन्ध भइसकेका छन् । यो चलचित्रमा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमति जनाएको निर्माता रेशम सापकोटाले बताए । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको यो चलचित्रमा काम गर्न सहमति जनाउनको लागि अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए ।


निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पुरै चलचित्र टुडी प्रविधिमा बनिरहेको छ । फ्लोरमा जानुअघि टुडीमा हेरेर आवश्यक सुधार गरिने निर्देशक कार्कीले बताए । यो चलचित्रमा हमाल नै मूख्य पात्र (सत्यम) हुन् भने अनुपविक्रम शाही भिलेनको रुपमा रहनेछन् ।

यसअघि चलचित्र ‘सौर्य’मा दुवै एकसाथ देखिएका थिए ।  यो चलचित्रमा काम गर्न राजी भएका पल र उपासनाको भूमिका भने खुलाइएको छैन । छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी अडिसनबाट छनौट भएका अन्य कलाकारहरु तथा बाँकी जानकारी सार्वजनिक गरिने बताइएको छ ।

अडिसनबाट अन्य दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारहरु छनौट गरिने बताइएको छ भने अन्य २२ कलाकारहरू पनि अडिसनबाट नै छानिनेछन् । चार जना मुख्य चरित्र अभिनेता, दुई जना मूख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरू पाँच जनाको लागि अडिसन हुनेछ ।

काठमाडौमा यही माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिसन हुनेछ । अडिसनमा सहभागि हुन चलचित्र इच्छुकले निर्माता कम्पनी नवयुग सिनेमाको इमेल ठेगानामा  आफ्नो सम्पर्क नम्बर सहित प्रोफाइल तथा सो रिल पठाउनुपर्नेछ ।


Author

थप समाचार
x