दसैंमा निर्धनको भगवान
समय चाडपर्वको । दसैंले छपक्कै छोपेको छ । दुईतिर, उमेरले दश र बाह्र वर्षका छोरीहरू आफ्नो बुबादेखि रिसाएर बल्ल थेच्चिए जस्ता देखिएका छन् । रामकुमार मुखिया आफ्ना दुई छोरीहरुलाई यसपालि नयाँ पहिरन किन्न असमर्थ छ । मुखियाले स्वयम् पुरानो कमिज टालटुल गरेर परिधान गरेको छ ।
झुस्स दार्ही फुलेका, हेर्दामा कालोमैलो, टाटैटाटा देखिन्छ उसको कमिज । चिउँडोमा हातको टेका लगाएर कुनै प्रतियोगितामा नमज्जाले भर्खर परास्त भएर बसेजस्तो एक बिहानै वाल्ल परेर हेरिरहेछ, क्षितिजतिर । एक हप्तादेखि छोरीहरुले उसलाई कच्कच् गरिरहेछन्‘यसपाला नयाँ फेसनको लुगा किन्दिनु पर्छ ।’उसले छोरीहरुलाई सम्झाउँदै आइरहेको छ “छोरीहरू हो, यसपालि दसैं मनाउँन त हामीसँग पैसा छैन ।”
यद्धपि छोरीहरूको लिँडे ढिपी अझै साम्य भइसकेको भने छैन । त्यही भएर उनीहरु विहानै उठेर आफ्नो बुबाको छेउमा बसि आफ्नो रुन्चे मुहार एकोहोरो देखाइरहेछन्, कतै बुबाको नजर आफूउपर परिदिन्छ कि भन्ने भावमा । तर आफ्नो बुबा बिँडीको सर्कोमै लिप्त देखेर चुपचाप उनी हरू पनि छुक्छुक् नगरी पिर्कामा टुसुक्क बसिरहेका छन् । दशैको मुखमा केही सन्त्रास उनीहरुको बुबाउपर छरिएको प्रष्ट देखिन्छ ।
शिवमाया उताबाट पटुकामा चामल पोको पारेर हावामा उडैँझैँ गरी घरतिर फड्किँदै छिन् । उनी सरासर मूख्य गुमजबाट भित्र पसिन् । उनी पसेसँगै मुखिया पस्यो र दुई छोरीहरू ‘आमाआमा’भन्दै रमाउँदै झुम्मिए । उनले सो पटुका अगेनो छेउमा राखेपछि श्रीमानलाई भनिन् “बरु धने दाइ नै हाम्रो भगवान । यस गाउँमा अरु त अभरमा कसैको भर नगर्दा हुन्छ । धनेनीको चैँ नदिने मनसाय झल्कँदै थियो तर धने दाइको एक बोली एक बात ।
थपक्कै, चार मानाचामल र दशबारेक वटा आलु दिइन् । सम्झिनू नि, परेको बेला म बोलाउँछु, भ्याउँदिन भन्न पाँइदैन भन्ने कुरा भाछ ।”मुखियालाई पत्यार थिएन धनेले उनीहरुलाई परेको बेला यसरी सहयोग पुर्याउँछ भन्ने । त्यसकारण, ऊ छक्क पर्यो र मैलिएको ढाकाटोपी मुन्तिरबाट हातले कपाल कन्याउँदै बाहिर निस्कियो । उसको हातमा अझै तमाखु बाँकी छ ।
“प्याउलीतँलाई आगो फुक्भनेको हैन, किन भनेको नमानेकी?” आमाले उँचो स्वरमा यसो भन्दै पानी लिन गाग्री समाएर बाहिर हिँडिन् । जेठी प्याउलीअगेनाको छेवैमा पुगेर आँखामिच्दै उभि रही । कान्छी रमा आमाले पोकोपारी ल्याएको सामाग्रीलाई खोतलखातल गर्न थालिन् ।
त्यसपछि, सखारबाट बाहिरपट्टि निन्याउरो भावमा एकोहोरिएको मुखियामा केही चमकता आयो । ऊ कतै हतासिएजस्तो, कतै चन्चलिएजस्तो, बढो रमाइलो साथ शरीरको वान्किमा फुर्तिलो कदम बढाउन खोजिरह्यो । यहिभावमा ऊ श्रीमतीको नजिक पुग्यो र सोध्यो,“ओए प्यउलीकी आमा भन्त, हाम्लाई पत्याउने को छ त अब ?”श्रीमतीले सल्लाह पस्किन पुगीन्,“बरु विन्ती बिसायो भने धने दाइकै मन ठूलो छ बा । एक चोटि जानुहुन्छ कि? तर आजहोइन, भोलि जानू । एकै दिन दुइजानै छिनछिनमा जानु राम्रो होइन ।”
मुखिया श्रीमतीको कुराले क्षणभंगुर गम्भिर भयो ।उनीहरुको परिवारलाई गाउँमा पत्याउने कोही पनि नहुँदा एकान्तिकताले अरुण भयो । गरिब भन्ने रोगपचास दशक नाघिसक्दा पनि झन्झन्क्यान्सरझैँ फैलिँदै गएको देखेर भित्रभित्र आतेसकम्प भयो । प्याउली र रमा एकअर्कामा चल्दै र हाँस्दै त्यहाँ आइपुगे र पोल खोलाखोल गरे । सुरुमा रमाले पोल खोली,“यसले अगेनोमा मत्तितेल हालेर आगो बाल्न खोजी ।” रमाले पोलखोली,“यसले आज मासु भात खाने भनी । आलुलाई मासु सम्झेर खानु रे ।”मुखिया र शिवमाया मुखामुख गरे । खै के भयो त्यतिखेर मुखियालाई । ऊ त्यतैबाट सोझै बाटो ततायो । कहाँ हिँडेको आफ्नो श्रीमान-श्रीमतीलाई हेक्का भएन । उनीभने छोरीहरुलाई च्यापेर भित्र पसिन् । एकदमै मरेसमानको अनुहार लगाएर निर्धनताले थिचिएर अवाक हुँदै सुस्तरी अगेनोतिर लागिन् । उनको चालमा सदाझैँ हतारपन प्रस्तुत भएको थिएन ।
यसरी मुखिया कान्छी छोरीको कुराले हृदयसम्म च्वास्स घोचेर केही इन्तजाम गर्न भनि बत्तियो । ऊ सुरुमा दहले चोकको रमिते खाध्यान्न भण्डारमा पुग्यो । हाँक बढाएर कुरामाअल्झिएका गाउँका सुकिँला-मुकिँला हुने खानेहरुका कुरा सुन्न पुग्यो, अलिपर उभिएर । एउटाले सरकारको पक्षमा तेल थप्यो,“कम्युनिष्टको सरकार छ, गरिबहरुलाई मार्दैन ।”मुखियाले घुटुक्क थुक निल्यो । ऊ थोरै नजिक सर्यो । यतिखेरै उसलाई लाग्यो भोकले चैँ मरिदैन । अर्को अनुयायीले थप्यो,“यो हुनेखानेको सरकार होइन, हुँदाखानेको सरकार हो नि ।” दोस्रो कट्टरपन्थीले सो कुरालाई दोस्रो बनाउने हिसाबमा भन्यो,“सरकार त असफल भैसक्यो । केही गर्न सकेन यो सरकारले । अब उही सरकारले गर्न सक्छ ।”मुखियाले केही पनि बुझ्न सकेन पछिल्लो कुरा । न उसलाई त्यहाँ कसैले ध्यान दियो, न दुइ चार कुरा राख्न सक्यो । ऊ त्यहाँबाट पनि हिँड्यो ।
उसलाई दशैँ मनाउँन मुस्किल छ यसपाला । नवआगन्तुक रोगको कारणले गरिरहेको काम एकाएक बन्द भयो । साहुले उसलाई रकम दिन नसक्ने भन्यो । पाँच सात महिनासम्म कहिले सापट त कहिले जोरजाम गरेका केही रकमले गर्जो टार्यो । तर, छोरीहरुको इच्छालाई उसले वर्षैँपिच्छे के के भनेर टारिरहेको छ । पोहोर साल पनि प्याउलीले रुवाबासी गरेकी थिई, नयाँ लुका किन्दिनू भनेर । अहँ, उसले सकेन । त्यो साल उसको परिवारले दसैं चैँ जेनतेन मनाएको थियो, रकम सापट गरेर भए पनि । ऊ अहिले विलखवन्दमा परेर वाल्लित भएको छ ।उसलाई पत्याउने गाउँमा कोही छैन । ‘अब मात्र, धने दाई’ ऊ एक्कासि झस्कियो ।
ऊ धने दाइको घरतिर सोझियो । दुई चार पयर चालेपछि श्रीमतीले भनेको सम्झिएर फेरि रोकियो । “बरु विन्ती विसायो भने धने दाइकै मन ठूलो छ बा । एक चोटि जानुहुन्छ कि तर आज होइन, भोलि जानु । एकै दिन दुइजानै छिनछिनमा जानु राम्रो होइन ।”श्रीमतीको एकछिन अघिका कुराले उसका पाइला रोकिएनन्, ऊ धने दाइको आँगनमा पुग्यो र उभियो । धनेनीले परैबाट आँखाले धेरै कुरा बोलिन् । मुखिया झन् नजिक गयो र सोध्यो,“कान्छा दाइ खै त’ कान्छी भाउजू ?”धनेनी नबोली सरासर भित्र पसिन् । मुखिया टुसुक्क भुइँमा बस्यो । उसलाई अप्ठ्यारो यो अर्थमा भयो कि धनेनी शब्द नबोली भित्र लागिन् । मुखियाले उसैगरी कपाल कन्यायो । पल्याक्पुलुक्क वरिपरी हेर्यो, कतै धने दाइ देखिन्छ कि भन्ने भावमा । तर उसले धने दाइलाई देखेन ।
भाग्यवस्, धने दाइ उनको बुढो साइकल चढेँर आँगनमाअचानक आइपुगे । मुखिया जुरुक्क उठ्यो, अनुहारमा खुसी पोखाएर । “नमस्कार दाइ”उसले सम्मान प्रकट गर्यो ।
“अनि दाइ, कहाँ पुगेर यति सवेरै ?”बोलूँ भनेर होइन बोल्दिऊँ भनेर उसले सोध्यो । किनकि धने दाइले उनको प्रश्न ख्याल गर्दैनन् भन्ने कुरा उसको बुझाइ थियो । सायद अब केही सहजता थपियो स्भन्नका लागि पो हो कि । धने दाइ साइकलको स्टेन लगाएर मुखियातिर आइपुगे र भने,“ए यसो खेततिर मुखिया कान्छा । अनि मुखिया भाइ, तिमी त धेरै व्यस्त छौ भन्ने सुन्याँ थेँ । धेरै दिनपछि पो आयौ त ।”मुखियाले डराउँदै भन्यो,“हामी हजुरको छत्रछायाँबाट टाढा जान नसक्ने भयौँ, धने दाइ ।”
धने दाइले उसको कुरा बुझिहाले, “अँभन।।।!”
“यसपालि दसैं मान्न गार्हो हुने भो, सापट दिनुहुन्छ कि भनेर नि ।” मुखियाले चिउँडोमा हात पुर्याएर बढो दहकस मान्दै समस्या तेर्सायो । उसले यसो भनिन्जेल धने दाइको मुखमा हेर्न पनि सकेन । पर क्षितिजतिर हेरेर भन्यो ।धने दाइको चेहराको रंग यथावत थियो । बरु मुखियाको पो बदलिएको देखिन्थ्यो । धने दाइले एकछिन पुराना कुराहरु खोतालेर उसलाई स्मरण गरायो । यस स्मरण बाटिकामा मुखियाआफ्से आफू कालोमैलो हुनपुग्यो । कुरा यस्तो थियोस ‘आजभन्दा पाँच सात वर्षअघि मुखियाले धने दाइबाट केही रकम यसैगरी चाडपर्वको बेला सापट लगेको थियो । तर, उसले कहिल्यै तिरेन । तिरेन त नभनौँ तिर्न सकेन । ऊ सधैँ टाढाटाढा भइरह्यो तर त्यो रकम शिवमायाले काम गरेर सुलाइदिइन् । यसप्रकार मुखिया त्यहाँ अवाकजस्तै भयो । उसले यसपालि चैँ त्यस्तो हुँदैन भन्नै सकेन । उसलाई बढो हिनताबोध पनिभयो ।
उसलाई पुरानो व्यवहारमा ठोक्काएर धने दाइभित्र पसे । सायद पत्नीसँग केही कुराकानि गरेर बाहिर निस्किए र अपर्झट सोधे “कति चाहिएको हो ?” तर मुखियाले बाटो तताइसकेको थियो । उनी जिल्ल परेर फेरि भित्र पसे । एकछिनपछि बाहिर निस्किएर साइकल चढी बाटो लागे ।
मुखिया फटाफट घरमा आइपुग्यो ।भित्र नपसि निराश मुद्रामा बाहिरपट्टि टुसुक्क बस्यो । प्याउली र रमा रुच्चे अनुहार लगाएर आफ्नो बुबासँग झुम्मिएर बसे । प्यउलीले सोधी,“बुबा, आमाले भन्नुभ’को पैसा लिएर आउनुभयो रे ?” एकछिनपछि शिवमाया बाहिर हतारिदै निस्किन् र श्रीमानलाई आत्तिदै सोधिन,“धने दाइकोमा जानुभयो कि क्या हो ?”मुखियाले भन्यो, “धने दाइले पहिलेको कुरा गरेर म त जिल्ल परेँ ।
म त लाजले जडवत भएर बाँकी केही बोल्न सकिनँ र फुत्त उठेर हिँडेँको !”श्रीमान्श्रीमती यसैगरि “अब के गर्ने त ?”भन्ने सवालमाअल्झिएका थिए, धने दाइ साइकल चढेर टुप्लुक्क आइपुगे । उसलाई देख्ने बित्तिकै मुखिया लुसुक्क भित्र पस्यो । शिवमाया अगाडि बढिन् ।धने दाइले केही नभनी पाँच हजार रुपैयाँ शिवमायालाई दिए र दसैंँ राम्ररी मान्नु भनेर हिँडे । शिवमाया शुरुवातबाटै बोल्न खोज्दै थिइन् तर अन्त्यसम्म पनि उनी एक आँखर बोल्न सकिनन् ।
धन्यवाद पनि टक्राउँन सकिनन् । धने दाइ गएपछि मुखिया बाहिर निस्कियो र श्रीमतीलाई सोध्यो,“मैले गल्ती गरेँछु प्याउलीकीआमा, म त्यसरी हिँड्नु नहुने रैछ । धने दाइ ठूलो मनको छ भन्ने कुरा मलाई थाहा भएनछ ।”त्यसपछि, मुखियाले धने दाइ गएको बाटो हेरिरह्यो । मनमनै धने दाइको गुणगान गाइरह्यो । ऊ खुसी देखियो । खुसी यो अर्थमा कि उसले आफ्ना छोरीहरुको इच्छा अब पूरा गर्नेछ ।
प्याउली ट्वाल्ल परेर आमालाई हेरिरही । शिवमाया हातमा पैसा च्यापेर उभिरही । रमा एउटा आलु हातमा बोकेर दिदीलाई ‘तँलाई मासु दिन्न, दिन्न’भनिरही । शिवमायाले श्रीमानलाई भनिन्“तपाईँ जस्तो सुकै सोच्नुहोस्, धने दाइ भन्या गरिबहरुलाई माया गर्ने गाउँको एक मात्र भगवान हो । आजधने दाइले गर्दा हाम्रो दसैंँ आयो । प्यउलीको लुगा लगाउने इच्छा र रमाको मासु खाने इच्छा पूरा गर्न सक्ने भयौँ ।”मुखिया प्रशन्न देखिए पनि केही नबोली शौचालयतिर पस्यो ।
त्यस दिन खाना खाइ सक्ने बित्तिकै रमा निदाई । शिवमाया प्यउलीलाई लिएर बजारतिर लागिन् । उनीहरू आएपछि मुखिया बजार भर्न भनि निस्कियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया