कला

शिव श्रेष्ठले बाटो खोले कि बन्द गरे ?

इकागज |
माघ १२, २०७७ सोमबार १२:१० बजे

काठमाडौं : अभिनेता शिव श्रेष्ठले बन्द रहेका हल खोल्न ठूलो योगदान गरे । सरकारले हल खोल्ने औपचारिक निर्णय गर्नु अघि नै शिव श्रेष्ठले आफूले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज गर्ने निर्णय गरे । तर, शिव श्रेष्ठको फिल्म रिलिज हुने समय तीन दिन बाँकी रहँदासम्म पनि सरकारले हल खोल्ने निर्णय गरेको थिएन ।

सेन्सर नरोकेको भए पनि सरकारले फिल्म चलाउने चाहिने पासवर्ड निर्माता तथा वितरकलाई दिएको थिएन ।  माघ १ फिल्म रिलिज गर्ने घोषणा गरेर धेरथोर प्रचार गरेका शिव श्रेष्ठको फिल्मको पनि नियति पनि यही हुनेवाला थियो । पोस्टर सडकमा टाँसिन सुरु भइसकेका थिए तर सरकारले अनुमति दिने हो कि होइन टुंगो थिएन । तर, यही बीचमा शिव श्रेष्ठले आफ्नो सक्रियता बढाए ।


सञ्चारमन्त्रीसँग भेटे । यताबाट मात्र पार नलाग्ने देखेपछि शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटे । प्रधानमन्त्री कन्भिन्स भएपछि बल्ल हल खोल्ने निर्णय मन्त्री परिषद्मा पुग्यो । यसपछि पुस २६ गते बसेको मन्त्री परिषद्को बैठकले हल खोल्ने निर्णय गर्यो ।  माघ १ गतेबाट बिहीबारको दिनबाट ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । तर, जब फिल्म रिलिज भयो, यस्तो फिल्म किन रिलिज भयो ? भन्ने प्रश्न उठ्यो ।

फिल्म हेरेका दर्शक फिल्म देखेर विरक्त भए । कलाकारको भिड रहेको फिल्ममा को कलाकार किन आउँछ र पर्दामा गएर के गरिरहेको छ ? दर्शकले भेउ पाएनन् । यो फिल्म पहिलो दिनदेखि नै दर्शकविहिन रह्यो । ‘एउटा यस्तो प्रेम कहानी’को असफलताले बाँकी फिल्म निर्मातालाई तर्साएको छ । यो फिल्मको परिणाम हेरेर फिल्म रिलिज गर्ने कि भन्ने सोचमा रहेका निर्माता हच्किएका छन् । फलतः दोस्रो हप्ता मात्र हैन तेस्रो हप्ता पनि हलमा कुनै नयाँ फिल्म छैनन् । 

यसले शिव श्रेष्ठले बाटो खोले कि बन्द गरे ? भन्ने बहस सुरु भएको छ । किनकि पहिलोपल्ट फिल्म रिलिज गर्दा दर्शकले रुचाउने फिल्म रिलिज भएको भए त्यसले बाँकी फिल्म निर्मातालाई लोभ्याउँथ्यो । तर, शिव श्रेष्ठले यस्तो फिल्मबाट बोहनी गरे कि दर्शक हल जानै हच्किएका छन् । यो देखेर निर्माता पनि नयाँ फिल्म रिलिज गर्ने मुडमा छैनन् । अब यो सब देख्दा शिव श्रेष्ठले बाटो खोले कि बन्द गरे भन्नै मुस्किल देखिएको छ । 


Author

थप समाचार
x