कला

‘बाहुबली’ निर्देशकको फिल्म ‘आरआरआर’ दसैँमा

इकागज |
माघ १२, २०७७ सोमबार १४:५२ बजे

मुम्बई : ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशन रहेको फिल्म ‘आरआरआर’ असोज २७ मा प्रदर्शन हुने भएको छ । तेलगुसँगै थुप्रै भाषामा रिलिज हुने फिल्म दसैँको अवसर पारेर रिलिज हुन लागेको हो । फिल्म यही वर्षको अक्टोबर १३ मा रिलिज हुन लागेको हो । 

फिल्मको अन्तिम सेड्युल केही दिनअघि मात्र सकिएको थियो । आलिया भट्ट र अजय देवगनले केही दिनअघि मात्र फिल्मको सेड्युल सकाएका थिए । 
कोरोना भाइरसले सेड्युल यताउति पार्नु अघि यो फिल्म जनवरी ८ मा रिलिज हुने चर्चा थियो । तर, कोरोना भाइरसका कारण सुटिङ रोकिएपछि यो फिल्मको रिलिज पनि प्रभावित भएको हो । 


फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । राजामौलीको निर्देशन रहेको ‘बाहुबली’का दुई सिरिजले  देशविदेश गरी हजार  करोड कमाइ गरेको थियो । यो फिल्मको पनि बजेट ३ सय करोड हाराहारी रहेको छ ।  

‘आरआरआर’ दसैँमा रिलिज हुँदा यसको सबैभन्दा ठूलो प्रभाव नेपाली फिल्म उद्योगमा पर्नेछ । सबैभन्दा लामो बिदा हुने यो समयमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलै हानाथाप हुने गरेको छ । सुटिङ सकेका फिल्म देखि सुटिङमा जाने सुरसार गरिरहेका फिल्मले पनि दसैँमा रिलिज गर्ने चाँजोपाँजो मिलाइरहेका छन् ।

भर्खरै सुटिङ सकाएको ‘परदेशी २’ हालसालै मात्र दसैँमा फिल्म रिलिज गर्ने घोषणा गरेको थियो भने निर्माता भुवन केसीले पनि अब सुटिङमा जाने ‘पारस’लाई दसैँमा रिलिज गर्ने बताउँदै आएका छन् । अघिल्लो साल कम्तीमा ६ वटा फिल्मले दसैँमा रिलिज गर्ने घोषणा गरेका थिए । तर, कोरोना भाइरसको महामारीका कारण हल बन्द भएपछि कुनै फिल्म रिलिज हुन सकेका थिएनन् । 
 


Author

थप समाचार
x