कला

तपाईंलाई थाहा छ, लुडोको आर्ट डिरेक्टर नेपाली हो नि

सामीप्यराज तिमल्सेना |
माघ १४, २०७७ बुधबार ८:२२ बजे

कुरा गर्न चाहेको सन्देश छाडेको एक दिनपछि अन्जन गजुरेलको मेसेज आयो । मेसेजमा लेखिएको थियो, ‘आज सुटमा बिजी छु । भोलि कुरा गरौं ल ।’ भोलिपल्ट मैले फेरि फोन गरेँ । कुरा होला भन्‍ने झिनो आश थियो । तर एक-दुई रिङपछि फोन उठ्यो । मैले शेखर खरेल (लेखक, निर्देशक) दाइसँग कुरा भएको र सोही सिलसिलामा कुरा गर्न चाहेको बताएँ । ‘हुन्‍छ, गरौं न त !’ आत्तिने पालो मेरो थियो । मैले यति चाँडै कुरा गरिएला भन्‍ने सोचेको थिइनँ । अफिसको छतमा बसेर घाम ताप्दै चिया गफ चलिरहेको थियो । ‘म तपाईंलाई ५ मिनेट पछि कुरा गरौं ? म पेन र पेपर पनि ठीक पार्छु,’ मैले आफूलाई मेन्टल्ली कुराकानीका लागि तयार पार्दै प्रस्ताव राखेँ । उताबाट हुन्‍छ भनेपछि हाम्रो एक मिनेटभन्दा छोटो कुराकानी सकियो ।

दुई दिन अघि शेखर खरेल दाइसँग कुरा गर्दा हाम्रो कुराकानीमा दुई महिना अघिजसो नेटफ्लिक्समा रिलिज भएको ‘लुडो’को चर्चा चलेको थियो । सोही फिल्मको कुरा गर्दा शेखर दाइले मलाई भन्‍नुभो, ‘तपाईंलाई थाहा छ, लुडोको आर्ट डाइरेक्टर नेपाली हो नि । फिल्मभित्र देखिने सबै सेट अन्जन गजुरेलजीले बनाएको हो । उहाँ हाम्रो जनकपुरको हो ।’


‘हो र दाइ ? त्यो सेट त गज्जब छ नि । पंकज त्रिपाठीको डेन त मलाई एकदमै युनिक लागेको थियो । पानीमाथि कसरी सेट लगाको होला जस्तो लागेको थियो ?’ मैले एकैसासमा आफ्नो उत्साह पोखेँ । यसपछि शेखर दाइले अन्जन गजुरेलले गरेका थप कामबारे जानकारी दिनुभयो । शेखर दाइले सन् २०११ मा नेपालबाट बलिउडमा जमेका नेपालीबारे एउटा डकुमेन्ट्री बनाउनु भएको थियो । नाम थियो, ‘रेन्बो ओभर मुम्बई' ।

नेपालस्थित भारतीय दूतावासको सहयोगमा बनेको यो डकुमेन्ट्रीमा नामझैँ नेपालबाट गएर बलिउडमा जमेका सात हस्तीको संघर्ष र सफलताको कथा समेटिएको थियो । मनीषा कोइराला, उदितनारायण झा, मनोहरि सिंह, लक्ष्मण श्रेष्ठ, राकेश श्रेष्ठ आदिसँगै अन्जन गजुरेलको कथा पनि यो डकुमेन्ट्रीमा अटाएको थियो । शेखर दाइले यत्तिका कुरा सुनाएपछि मैले अन्त्यमा भनेँ, ‘दाइ उहाँसँग कुरा गर्न मिल्दैन ? कुरा गरौँ न ।’ शेखर दाइले ‘हुन्‍छ नि त’ भनेर कुरा गराइदिने वाचा पूरा गरेपछि अन्जन गजुरेल र मबीच माथिको कुराकानी सम्भव भएको थियो ।

कलाकारितामा लाग्ने अधिकांश नेपालीको ‘अन्तिम इच्छा’  भनेकै बलिउड हो । बलिउडमा गएर काम गर्ने धेरैको सपना हुन्‍छ । तर, अन्जन गजुरेल यथार्थमा त्यो सपना बाँचिरहेका रहेछन् । ‘लुडो’ त उनले गरेका थुप्रै राम्रा कामको पछिल्लो कडी मात्र रहेछ । 

पाँच मिनेटपछि अन्जनलाई फोन गर्दा उनी काममै रहेछन् । उनले आफू नयाँ वेब सिरिजको सेटमा रहेको जानकारी गराए । अन्जनले डिजाइन गरिरहेको यो सेट बालाजी फिल्मस्ले बनाउन लागेको ‘क्रस’ भन्‍ने वेब सिरिजका लागि रहेछ । सँगसँगै उनले ‘कि लाइट’ भन्‍ने प्रडक्सनका लागि पनि सेट बनाइरहेका रहेछन् ।

अन्‍जनले बनाएको लुडोको स्केच ।

‘यहाँ धेरैजसो समय वर्किङ टाइटल एउटा हुन्‍छ र रिलिजको समयमा अर्को । अहिले मैले क्रसका लागि भनेर काम गरिरहेको छु, थाहा छैन भोलि कुन नाममा आउँछ,’ उनले मलाई बलिउडे शैलीको हल्का ज्ञान दिँदै भने । अनि उनले काम गरिहेको कि लाइटले चाहिँ रियालिटी सो निर्माण गर्ने रहेछ । फ्रेब्रुअरी र मार्चमा सुटिङ हुने सोको नाम निर्माताले अहिलेसम्म अन्जनलाई पनि बताएका छैनन् । एक साथ तीनवटा सेटमा एकसाथ काम गरिरहेका अन्जनले बनाएको तेस्रो सेटमा चाहिँ अर्जुन रामपाल लगायतका कलाकारले काम गर्ने रहेछन् । यसको नाम रैछ, ‘तुझसे है राबता ।’

फिल्म थिएन, गन्तव्य
कामको खोजीमा भारत पुग्‍ने नेपालीको संख्या तथ्यांकले राम्रै देखाउँछ । योबाहेक हुने-खानेका सन्तान पढ्न पनि भारत जान्‍छन् । अन्जन पनि पहिलो होइन, दोस्रो उद्देश्यले भारतको रंगीन सहर मुम्बई पुगेका थिए । जनकपुर मुजेलियाका अन्जन एसएलसीपछि ललितकला पढ्न काठमाडौं आए । यहाँ दुई साल पढेर सन् १९९८ मा अन्जनले मुम्बईको ट्रेन समातेका थिए । उसबेला पढ्न अमेरिका/अस्ट्रेलिया जाने फेसन थियो । अन्जनले पनि अस्ट्रेलिया जाने सोचेका थिए तर प्रक्रिया नथाल्दै अन्जनका पिताले खर्चमा हात उठाए । पिताको घोषणा आयो, ‘भारतमा सम्म पढ्न जाने हो भने खर्च दिन सक्छु । त्योभन्दा बाहिर हो भने सक्दिनँ ।’

यसैबीच अन्जनले थाहा पाए, अस्ट्रेलिया वा अमेरिका जाने हो भने काम गर्दै पढ्नुपर्छ । जुन मोडल यो विधाको पढाइका लागि सुहाउँदो थिएन । किनकि आर्टमा जति समय दिए पनि कम हुन्‍छ । अन्जनले बुबाकै पैसामा पढ्ने निर्णय गर्दै गोरखपुरको रेल समाते । भारतमा पनि बडोदा, बनारस, कलकत्ता र मुम्बई गरी चार ठाउँमा अन्जनले पढ्न चाहेको विधाको पढाइ हुन्थ्यो । उनी बनारस पुगे तर त्यहीँको डिनले उनलाई ‘बनारसमा भन्दा मुम्बईमा पढेको राम्रो’ भन्‍ने सल्लाह दिएपछि अन्जन मुम्बई जेजे स्कुल अफ आर्ट पुगे । चार वर्षको कोर्स सकेपछि अन्जनले एनिमेसनमा भविष्य देखिरहेका थिए । आर्ट कलेजबाट निस्केर उनले भिएफएक्स पढाउने कलेजमा इन्ट्रान्स दिएका पनि थिए तर जनकपुरमा रहेका बुबाले खर्च गर्न नसक्ने भन्दै दोस्रो पटक हात उठाए ।

यतिन्जेलसम्म अन्जन कलेजको होस्टलमा बसिरहेका थिए । तर, होस्टलबाट निस्कन परेपछि अन्जनलाई गाँस-बास दुवैको समस्या पर्यो । तर, यही संकटले अन्जनलाई भारतको टेलिभिजन उद्योगको ‘बादशाह’ बालाजी टेलिफिल्मस्भित्र छिरायो ।

कलेजबाट निस्केपछि अन्जन मुम्बईकै बोरीभेलीमा सीए पढ्ने नेपाली साथीहरूसँग रुम सेयर गरेर बसिरहेका थिए । एउटा गेट टुगेदरमा जनक पोखरेलसँग उनको भेट भयो । कामको खोजीमा रहेको चाल पाएपछि जनक स्वयंले भने, ‘आर्ट पढेको मान्‍छे फिल्म/टेलिफिल्मतिर आर्ट डिरेक्सनको काम हुन्‍छ नि, गर्ने हो ?’ अन्जन कामको खोजीमा थिए । अझ प्रस्ताव आफूले पढेको विधासँग मिल्दोजुल्दो थियो ।

‘भोलिपल्टै जनक सरले बालाजी लगेर रवि सरलाई भेट्टाउनु भयो,’ १७ वर्षअघिको ऐतिहासिक दिन सम्झँदै अन्जनले इकागजसँग भने, ‘उहाँले आर्ट डिरेक्टरलाई भेट्टाउनु भयो । भोलिपल्टबाटै मैले सहायकका रूपमा काम थालेँ ।’

‘आर्ट पढेको मान्‍छे फिल्म/टेलिफिल्मतिर आर्ट डिरेक्सनको काम हुन्‍छ नि, गर्ने हो ?’ अन्जन कामको खोजीमा थिए । अझ प्रस्ताव आफूले पढेको विधासँग मिल्दोजुल्दो थियो । 

अन्जन बालाजी छिर्दा ‘कसौटी जिन्दगीको’, ‘कुसुम’को सुटिङ भइरहेको थियो । अन्जनले भने आर्ट डिरेक्टरको असिसटेन्टका रूपमा ‘कोही अपनासा’बाट आफ्नो करिअर सुरु गरे । रजत पोद्धार उनका बोस थिए ।

फिल्म तथा टेलिफिल्ममा आर्ट र सेटको बरोबर महत्व रहन्‍छ । आर्टमा कम्पोजिसन, इम्प्लिमेन्ट र एक्सप्रेसन आदि कुरामा ध्यान दिइन्‍छ भने सेटमा कन्स्ट्रक्सनको । आर्ट डिरेक्टरले भोग्ने अर्को चुनौती भनेको बजार र कथा अनुसार रङको संयोजन पनि हो । अनि यो सबबाट निस्कने भनेको सौन्दर्य हो । तर, अन्जनलाई पर्दामा देखिने सौन्दर्यको रहस्य चाल पाउन पाँच वर्ष लाग्यो । उनले कलेजमा चार वर्ष रटान मार्दा पनि थाहा पाउन नसकेको यसको रहस्य एकदिन अचानक पत्ता लगाए ।

बालाजीकै कुनै टेलिफिल्मको सुटिङ थियो । बालाजीका टेलिफिल्मको मुख्य विषय नै धनी परिवारका सासू-बुहारीको झगडा हो । उनले धनी हिरोइनको पछाडि आफ्नो अवार्ड विनिङ पेन्टिङ राखेका थिए । तर, जब उनले मनिटरमा सट हेरे, त्यो पेन्टिङ नसुहाएको महसुस भयो । उनले अवार्ड विनिङ पेन्टिङको साटो साधारण एब्स्ट्रयाक  पेन्टिङ राखे । सट औधि राम्रो देखियो ।

अन्‍जनले बनाएको लुडो सेट ।

‘त्यो दिन मैले ब्युटी भन्‍ने के रहेछ भन्‍ने थाहा पाएँ । मैले टेक्निकल चिजका लागि अवार्ड पाएको थिएँ । आर्ट डिरेक्टरको आँखाबाट हेर्दा त्यो सुहाउँदो थिएन । सुहाउने र नसुहाउने छुट्याउन सक्ने खुबी नै आर्ट डिरेक्टरको विशेषता हो,’ अन्जनले इकागजसँगको ४० मिनेट लामो कुराकानीमा भने । आर्ट डिरेक्सनलाई लिएर अन्जनले दिएको यो जवाफमा, संसारकै ठूलो फिल्म उद्योग मानिने मुम्बईभित्र उनले पाएको सफलताको रहस्य पनि लुकेको थियो ।

कामको खोजीमा बालाजी छिरेका अन्जनले असिस्टेन्ट डिरेक्टरका रूपमा बालाजीमा डेढ वर्ष चानचुन बिताए । ‘कुछ तो है’ बालाजीमा काम गरेको अन्तिम टेलिफिल्म थियो ।  त्यसपछि भने अन्जनले बालाजी छाडे ।

बालाजी छाडेपछि अन्जनले गरेको ठूलो काम अरुणा इरानीले निर्माण गरेको ‘देश में निकला होगा चाँद’ थियो । यसबीचमा उनले सहायकका रूपमा ‘साया’ ‘मर्डर’, ‘इम्तिहा’, ‘मैंभी माधुरी दिक्षित बन्‍ना चाहती हुँ’ आदि फिल्ममा पनि आफ्नो प्रतिभा तिकार्खे मौका पाए । यतिन्जेलसम्म उनको भूमिका आर्ट डिरेक्टरलाई सघाउने थियो अर्थात् सहायक ।

सन् २००५ तिरको कुरा होला । अन्जन टेलिभिजन कार्यक्रम ‘साकालाका बुम’का लागि काम गरिरहेका थिए । एक दिन सेटमा आएर ‘एसोसिएसन अफ सिने एन्ड टेलिभिजन डिरेक्टर्स’का पदाधिकारीले उनको काममा बाधा हाले । उनीमाथि बिनाअनुमति काम गरेको आरोप थियो ।

लुडोको सेट पहिले र अहिले ।

‘यहाँ काम गर्न एसोसिएसनको सदस्य हुनैपर्छ । यसका लागि ५ देखि १० वर्षसम्म काम गरेको हुनुपर्ने । क्रेडिटमा नाम हुनुपर्ने आदि सर्त थिए,’ उनले भने, ‘तर मैले काम गर्न थालेको बल्ल दुई वर्ष भएको थियो । १५ हजार फाइन तिराएर सदस्य बनेँ ।’ अन्जनका अनुसार सदस्य बन्‍न २० हजार जति शुल्क लाग्थ्यो भने थप १५ हजार तिरेर उनले सदस्यता लिए । उनका अनुसार त्यतिबेलाको ४० हजार राम्रै रकम हो । किनकि उसबेला मुम्बईमा दुई लाखमा अपार्टमेन्ट आउँथ्यो जुन आजको समयमा करोडभन्दा कममा पाइन्‍न ।

यही समयमा उनको बोससँग पनि लफडा पर्यो । स्थिति यस्तो आयो कि उनले नचाहँदा नचाहँदै पनि एक्लै हिँड्ने निर्णय गर्नुपर्‍यो । ‘देश मै निकला होगा चाँद’का लागि अन्जनले गोदामलाई लन्डनको अस्पताल बनाएका थिए । तर, गोदाममा उनले यति राम्रो अस्पताल बनाए कि स्टुडियो लाइनमा यसको चर्चा चल्यो । आर्ट डिरेक्टरले एक साथ दुई-तीनवटा प्रडक्सनको काम लिन्थे । अन्जनलाई यसको जिम्मा दिएर बोस अर्कै काममा व्यस्त थिए । एक दिन अन्जनले बनाएको सेटको हल्ला उनको कानमा पनि पर्यो । बोस आयो, हेर्यो । तर, मुखबाट एक शब्द पनि निकालेन ।

ठीक यही समयमा स्टुडियो हेर्न आएको समूहले पनि बोसलाई मतलब नगरी अन्जनको तारिफ गर्न थाले, ‘बहुत अच्छा काम किया । तहल्का मचा दिया ।’ बोसकै अगाडि अरूको मुखबाट यो सब सुन्दा अन्जन भने भित्रभित्रै पानी पानी भइरहेका थिए । अन्जन अरुबाट भन्दा पनि बोसको मुखबाट यिनै शब्द सुन्‍न चाहन्थे । यही अपेक्षासाथ जब उनले बोसलाई पछ्याए ताली हैन गाली सुने, ‘तु ज्यादा हो रहा है । तु मेरे साथ मत आ ।’ गोर्खालीको छोरोलाई नगरेको गल्तीका लागि ज्यादा बिन्ती भाउ गर्न मन लागेन । अन्जनले चटक्कै बोसलाई छाडेर आफैं बोस हुन बाटो रोजे ।

‘मुम्बईमा उसबेलासम्म पनि क्रिएटिभ मान्‍छे थिएनन् । कन्फिडेन्स लेबल हाई थियो,’ उनले त्यतिबेलाको माहोल सम्झँदै भने, ‘एलिभेसन र डिजाइनमा समस्या थिएन । ल्यान्डस्केप दामी बनाउँथेँ । खाली कलरमा कन्फ्युजन थियो । तैपनि भोकै मर्दिनँ भन्‍ने थियो । त्यसैले उसले पछि नआइज भनेपछि पछि लागिनँ ।’

सोलो आर्ट डिरेक्टर भएपछि उनले टेलिभिजनका लागि थुप्रै काम गरे । तर, सन् २००६ मा यशराज फिल्मको ‘काबुल एक्सप्रेस’मा काम गर्ने अवसर पाएसँगै फिल्ममा पनि उनको सोलो यात्रा सुरु भयो । यो फिल्मपछि उनले ‘विल यु म्यारी मी’, ‘वसुधा’, ‘केरी अन कुट्टो’, ‘ओमप्रकाश जिन्दावाद’ आदि फिल्ममा काम गरे । एउटा गीत वा दृश्यका लागि त उनले गरेका कामको संख्या प्रशस्त छ । जस्तो आमिर खान नाचेको ‘देल्ली बेल्ली’को गीत ‘लाइक अ लभ यु’को सेट पनि अन्जनले नै बनाएका हुन् । एन्टिक्लक वाइज थिममा बनाएको सेट आफूले गरेको काममध्ये गाह्रो काम मान्‍छन् अन्जन । उनले यसको सेट ७० लाख हाराहारीको बजेटमा बनाएका थिए ।

ब्याक टु ‘लुडो’
सन् २००३ मा अन्जन भट्ट परिवारका दुई फिल्ममा एकसाथ काम गरिरहेका थिए । एकातिर विक्रम भट्टले ‘इन्तेहा’ बनाइरहेका थिए भने अर्कोतिर अनुराग बसुले ‘मर्डर’ निर्देशन गरिरहेका थिए । अन्जन भने दुवैतिर काम गरिरहेका थिए । अन्जलले पहिले ‘मर्डर’मा काम गरिरहेका थिए तर बीचैमा विक्रम भट्टले बोलाएपछि अन्जन ‘इन्तेहा’मा काम गर्न गए । पछि जब अन्जन ‘मर्डर’को सेटमा गए, अनुराग र क्यामरामेन किन यता काम नगरेर उता गएको भनेर रिसाए । तर, यो फिल्मपछि अनुराग आफ्नै दुनियाँमा व्यस्त भए भने अन्जन आफ्नै । तर, तीन वर्षअघि एक दिन अचानक अनुरागले अन्जनलाई ‘लुडो’मा काम गर्ने प्रस्ताव गरे ।

‘अनुराग बसु जसले तपाईंलाई हेलिकप्टरमा लिएर जान्‍छन् । पूरा ख्वाइ पियाइ गर्छन् र अनकन्टार जंगलमा पुर्याएर ल हाम्फाल भन्‍छन्,’ अन्जनले बसुको बेहोरा बताउँदै ‘लुडो’मा काम गर्दाको अनुभव बताए । अन्जनका अनुसार बसुले यसमा पनि उनलाई काम गर्न त भने तर के काम कसरी गर्ने पूरा कुरा भनेनन् । एक दुई महिना त उनलाई बसुलाई बुझ्‍नै समय लाग्यो । बुझेपछि भने काम गर्न सजिलो भयो । अन्जनले यो फिल्मको सेटमा अरु कसैले कल्पना नगरेका थुप्रै चिज गरे ।

जस्तो कि उनले स्विमिङ पुललाई पंकज त्रिपाठीको अड्डा बनाएका छन् जुन पछि आगो लागेर ध्वस्त हुन्‍छ । आदित्यरोय कपुर र सानिया मल्होत्राका धेरै दृश्य रहेको होटलमा खासमा फिल्मसिटीको मन्दिर हो । अरु फिल्ममा मन्दिरका रूपमा प्रयोग हुने सेटलाई अन्जनले होटलका स्विट रुम बनाएका हुन् । यही मन्दिरको स्पेसलाई नै उनले लिभिङ रुम बनाएका छन् ।

सेटमा कर्न्भट भएको लुडोको स्वीमिङ पुल ।

अन्जनका अनुसार जुन फिल्ममा धेरै कलाकार हुन्‍छन् त्यो ठाउँमा नजिक-नजिकमा सेट बनाइन्‍छ । यो फिल्ममा पनि धेरै कलाकार भएकाले नजिकै पर्ने चाँदीबेली, फिल्मसिटी आदिमा सेट बनाएको अन्जन बताउँछन् । ‘यो फिल्मको ९० सुटिङ सेटमा भएको छ । सेट बनाउन मात्र हामीलाई १ वर्ष लागेको थियो,’ अन्जनले भने, ‘तर फिल्म रिलिज पछि सोचेभन्दा राम्रो प्रतिक्रिया पायौँ ।’ तर, अन्जनले दुनियाँबाट सेटका लागि तारिफ पाए पनि अनुराग स्वयंबाट भने प्रतिक्रिया पाएनन् ।

‘अनुराग बसु बोल्ने मान्‍छै हैनन् । उनको श्रीमती पानी बसुसँग मेरो कुरा भइरहन्‍छ । उनले उसबेला नै ‘तुम लोगों ने बहुत अच्छा किया.. तुम लोगोंका काम दिख रहा है’ भनेकी थिइन् । यत्ति हो,’ रिलिजपछि बसुले केही भने कि भन्‍ने इकागजको प्रश्नमा अन्जनले भने ।

आफ्नै घर फर्की आउँछु 
पढ्न माया नगरी पुगेको अन्जन आज बलिउडमा रोज्जा आर्ट डिरेक्टर तथा प्रडक्सन म्यानेजर हुन् । आज पनि अन्जनका हातमा एकसेएक प्रडक्सनका फिल्म छन् । तर, अन्जन अब भने नेपाल फर्कन चाहन्‍छन् । उनले सबै कुरा अनुकूल भए ६ महिनापछि नेपाल फर्कने योजना बनाइरहेका छन् । ‘चटक्कै छाड्ने भनेको हैन तर म नेपालमा पनि काम गर्न चाहन्‍छु । नेपालको पनि फिल्म उद्योग राम्रो होस् भन्‍ने लागेको छ,’ उनले कारण खुलाउँदै भने । उनले यसअघि श्रीकृष्ण श्रेष्ठ अभिनीत अन्तिम फिल्म ‘कोहिनूर’का लागि काम पनि गरिसकेका छन् ।

आज पनि फुर्सद हुँदा अन्जन नेपाली फिल्मका ट्रेलर तथा म्युजिक भिडियो हेर्छन् । उनलाई राम्रो लाग्छ । अन्जनलाई पनि लाग्छ, बजेट भएर मात्र राम्रो काम हुने होइन । थोरै खर्चमा पनि राम्रो परिणाम निस्कन्‍छ । उनले नेपाल आएर काम गर्दा पनि यो चेतसहित काम गर्ने योजना बनाएका छन् ।

अनुराग बासुसँग अन‍जनको परिवार ।

‘रेन्बो ओभर मुम्बई’ बनाउँदा अन्जनको काम नजिकबाट नियालेका शेखर खरेल पनि ‘मिनिमलास्टिक एप्रोच’मा काम गर्न सक्ने खुबी अन्जनको विशेषता मान्‍छन् । अन्जनको यो खुबीबाट नेपालको मनोरञ्जन उद्योगले राम्रो लाभ लिन सक्ने खरेल बताउँछन् ।

‘एउटा कथालाई आर्ट डिपार्टमेन्टले धेरै नै फरक पार्छ । मुम्बई जस्तो ठूलो उद्योगमा काम गरे पनि अन्जनलाई सीमित स्रोत-साधनबाट कसरी निकाल्ने राम्ररी थाहा छ,’ खरेल  भन्‍छन्, ‘उनलाई यहाँको मनोरञ्जन उद्योगले प्रयोग गर्ने हो भने धेरै फाइदा हुन्‍छ ।'


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x