कला

महामारीका कारण दुई महिना पर सर्यो कान्स

इकागज |
माघ १५, २०७७ बिहीबार ११:५२ बजे

फ्रान्स :  कोरोना भाइरसको महामारीका कारण कति फेस्टिभल रद्द भए त कति अनलाइन । पुरानै स्वरुपमा गर्न चाहानेका लागि पनि फेस्टिभल फलामको च्युरा चपाएभन्दा कम भएको छैन । कोरोना भाइरसको यो कहरले कान्सको पनि समयतालिका उथलपुथल बनाएको छ । 

महामारीकै कारण अब यो फेस्टिभल दुई महिना पर पर सरेको छ । यसअघि यही वर्षको मे ११ देखि २२ सम्म हुन लागेको फेस्टिभल सरेर मे महिनामा पुगेको छ । अब यो फेस्टिभल जुलाईको ६ देखि १७ सम्म कान्समा हुनेछ । गत वर्ष भने महामारीकै कारण यो फेस्टिभल अनलाइनमा सिमित भएको थियो । फेस्टिभलले ‘२०२०कान्स स्पेसल’ नाममा सिमित फिल्म देखाउँदै २०२० संस्करण सकाएका थियो । 


नयाँ मितिमा गर्दा फेस्टिभलमा ज्यादा ज्यादा मानिसले सहभागिता जनाउन सक्ने फेस्टिभलको विश्वास छ । अहिले युरोपसँगै अमेरिकामा पनि भ्याक्सिन लगाउने प्रक्रिया सुरु भएकाले त्यो समयसम्म धेरै मानिसले खोप लगाइ सक्ने र उनीहरू पहिले झैं हिँडडुल गर्न सक्ने र यसको लाभ फेस्टिभललाई पनि हुने विश्वास गरिएको छ । कान्सले केही समयअघि मात्र फेस्टिभलमा सहभागिताका लागि आवेदन खुला गरेको जनाएको थियो । 

फेस्टिभलको वेबसाइटमा राखिएको सूचना अनुसार फिल्म स्कुल पढिरहेका विद्यार्थीले फ्रेब्रुअरी १५ सम्ममा आफ्ना फिल्म पठाइसक्नु पर्नेछ भने लघु फिल्मले मार्च १ सम्ममा आफ्ना फिल्म पठाउन सक्नेछन् । फिचर फिल्मतर्फ प्रतिस्पर्धा गर्न चाहने फिल्मकर्मीले भने मार्च ५ सम्ममा आफ्नो फिल्म कान्स पठाइसक्नुपर्नेछ ।  कान्सको याे ७४ औं संस्करण हाे ।  

नेपाली फिल्मकर्मीबीच पनि कान्स फिल्म फेस्टिभल लोकप्रिय रहँदै आएको छ । गत साल प्रियंका कार्कीले कान्सले निम्त्याएर त्यहाँ पुग्ने पहिलो नेपाली कलाकार नै आफू भएको दाबी गरेपछि सर्वसाधारणबीच पनि कान्स फिल्म फेस्टिभल परिचित बनेको थियो । तर, प्रियंकाको कान्सको निम्तोमा पुग्ने पहिलो नेपाली कलाकारवाला दाबी कालान्तरमा झुठो निस्किएको थियो । प्रियंका कान्सको निम्तोमा नभइ त्यहीँ हुने कुनै साइड इभेन्टमा सहभागिताका लागि पुगेकी थिइन् ।

बरु गतसाल नै फिडेल देवकोटा निर्देशित फिल्म ‘काङलिङ’ कान्सको एटलियर डे सिने फाउन्डेसनमा विश्वभरबाट छानिएका १५ फिल्ममध्ये एकमा पर्न सफल भएको थियो । त्यसैगरी पूजा गुरुङ र विभूषण बस्नेतको निर्माणाधिन फिल्म ‘दि ह््वेल टाइमर्स’ पनि दुई वर्षअघि यही सेक्सनमा छानिएको थियो । मीन भामले निर्माण गर्ने तयारी गरिरहेको ‘अ इयर अफ कोल्ड’को स्क्रिप्टले पनि दुई वर्षअघि कान्सकै सिनेफाउन्डेसनबाट ७५ हजार युरो पुरस्कार जित्न सफल भएको थियो । 


Author

थप समाचार
x