कला

के तपाईं कलाकार ट्रम्पलाई चिन्नुहुन्छ ?

इकागज |
कात्तिक १२, २०७७ बुधबार १३:८ बजे

ट्रम्प (बायाँ) विल स्मिथ र मार्ला मापल्सका साथ ‘द फ्रेस प्रिन्स अफ बेल एयर’ को सेटमा ।

काठमाडाैं : अमेरिकाको राष्ट्रपति चुनिनु अघि डोनाल्ड ट्रम्पलाई विश्वले प्रतिष्ठित व्यापारीका रुपमा चिनेको थियो । विश्वका कुनै ठूला सहर छैनन् जहाँ ट्रम्पको व्यापार नफैलिएको होस् । युरोपसँगै छिमेकी देश भारतका नयाँ दिल्ली, मुम्बई, कलकत्ता जस्ता सहरमा ट्रम्पले आफ्नो नाममा ठूलठूला व्यापारिक मल सञ्चालन गर्ने गरेका छन् । 

अमेरिकाको राष्ट्रपति भइसकेपछि त दुनियाँले नचिनी धर पाउने कुरै भएन । देश र राजनीतिमा थोरै पनि चासो राख्नेबीच ट्रम्प परिचित छन् । अनौठो भावभंगीमा र गम्भीर कुरामा पनि ठट्टा गर्ने शैलीका कारण विश्वमा उनका फ्यान र आलोचक दुवै छन् । तर, व्यापार र राजनीतिबाहेक ट्रम्पको रुचिको अर्को क्षेत्र पनि छ जुन धेरैलाई थाहा छैन । 


कुनै समय बग्रेल्ती सौन्दर्य प्रतियोगिता आयोजना गरिहिँड्ने ट्रम्प खासमा कलाकार पनि हुन् । राजनीतिमा आउनुअघि उनले  दर्जन हाराहारी सिरिज, फिल्म र रियालिटी सोमा आफ्नो अभिनय कला देखाएका छन् । अभिनयमा उनको यस्तो मोह थियो कि कोही उनको घर वा बिल्डिङमा सुटिङका लागि अनुमति लिन आयो भने आफूले पनि अभिनय गर्न पाउनु पर्ने सर्त राख्थे रे । 

पर्दामा बाक्लै देखिन रुचाउने अभिनेता ट्रम्प के दोस्रो पटक पनि शक्तिशाली देशको सर्वोच्च नेता चुनिएलान् ? 
 

अभिनेता म्याट डेमनले हलिउड रिपोर्टरसँग कुरा गर्दै ट्रम्पको यही बानीको चर्चाका गरेका थिए । ‘उनको ठाउँमा सुटिङ गर्ने हो भने उनलाई पनि 
खेलाउनैपर्ने सर्त हुन्थ्यो । त्यसमा पनि उनलाई फिल्ममा नामैले बोलाउनुपर्ने । तर, धेरै निर्देशक ट्रम्पको सर्त मानेर खिच्थे तर धेरैजसो समय उनी भएको दृश्य एडिटिङ टेबलमै गायब हुन्थ्यो । कसै कसैले मात्र दया गरेर उनको दृश्य राखिदिएका हुन्,’ डेमनले भनेका थिए । 

ट्रम्पले सबैभन्दा पहिला खेलेको फिल्म थियो, ‘गोस्ट कान्ट डु इट’ । फिल्ममा ट्रम्प आफ्नै भूमिकामा थिए जहाँ उनले फिल्मकी नायिका बो डेरेकलाई जिस्काउने काम गर्छन् । तर, दुर्भाग्य पहिलो फिल्ममै उनले झुर एक्टरले पाउने राज्जी अवार्ड पाएका थिए ।  ट्रम्पले दोस्रो पटक अभिनय गरेको फिल्म थियो, ‘होम अलोन २’ । यो फिल्ममा पनि ट्रम्प सेकेन्डभर पर्दामा देखिन्छन् जहाँ उनले फिल्मका मुख्य कलाकार म्याकुले कुलकिनलाई लबीमा बाटो देखाउँछन् । ट्रम्प देखिएको अर्को फिल्म ‘दि लिटिल रास्कल’ थियो । यहाँ पनि ट्रम्प बच्चाको बाबुको भूमिकामा केही सेकेन्ड पर्दामा देखिन्छन्  ।

यसैगरी ट्रम्पले ‘एक्रोस दि सि अफ टाइम’, ‘इडी’, ‘५४’, ‘सेलिब्रेटी’ आदि फिल्ममा पनि छोटोछोटो भूमिका निर्वाह गरेका छन् । ट्रम्प अन्तिम चोटि देखिएको फिल्म ‘मार्मालाडे’ सन् २००४ मा रिलिज भएको थियो । यसअघि सन् २००१ मा रिलिज भएको ‘जुल्यान्डर’ र यसको एक वर्षपछि रिलिज भएको ‘टु विक्स नोटिस’मा पनि ट्रम्पले ‘केमियो’ गरेका थिए ।  फिल्मबाहेक ट्रम्प टेलिभिजन सोमा पनि बाक्लै देखिएका छन् जसमा ‘दि न्यानी’, ‘सडेन्ली सुसान’, ‘दि ड्रिउ क्यारी सो’, ‘नाइटमेन’ र ‘स्पिन सिटी’, ‘सेक्स एन्ड दि सिटी’ आदि मुख्य छन् ।

ट्रम्प यतिबेला दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्नै दौडमा छन् । तर, अवस्था यस्तो छ कि हलिउडका अधिकांश कलाकार उनको हारको कामना गरिरहेका छन् । -यापर कान्यु वेस्ट त ट्रम्पविरुद्ध उम्मेदवारी दिएर उनलाई हराउन लागिपरेका छन् । त्यसबाहेक टेलर स्विफ्ट, म्याट डेमन, ड्वाने जोन्सन, जिम्मी किमेल आदि सेलिब्रेटी पनि ट्रम्पविरुद्ध लबिङ गरिरहेका छन् । एजेन्सीहरूकाे सहयाेगमा


Author

थप समाचार
x