कला

६ वर्षपछि सिनेमामा कमब्याक गर्दै प्रकृति, ‘बिहे पास’ मा दयाहाङको जोडी

इकागज |
माघ १८, २०७७ आइतबार ११:५६ बजे

काठमाडौं :  ‘उत्सव’ खेलेर अष्ट्रेलिया हान्निएकी प्रकृति श्रेष्ठले ६ वर्ष पछि नेपाली फिल्ममा अभिनय गर्ने भएकी छिन् । प्रवेश पौडेलले निर्देशन गर्न लागेको ‘बिहे पास’ मा प्रकृतिले अभिनय गर्न लागेकी हुन् । फिल्ममा उनले दयाहाङ राईको श्रीमतिको भूमिका निर्वाह गर्नेछिन् । 

प्रवेशले यसअघि ‘अमेरिकी ब्वाइज’को निर्देशन गरेका थिए । बीचमा भने उनले मनिष राउत, साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्मालाई लिएर अर्को फिल्म बनाउने घोषणा गरेका थिए । तर, त्यो फिल्म यतावत छाड्दै प्रवेशले ‘बिहे पास’ सुटिङ गर्न लागेका हुन् । उनले विराटनगरको लोकेसनमा सुटिङ हुने फिल्म चैतको पहिलो साताबाट फ्लोरमा जाने जानकारी गराए । 


‘साम्राज्ञीको समय मिलिरहेको छैन । तत्काल उनको समय नमिल्ने भएपछि यो फिल्म गर्न लागेको हुँ,’ उनले भने, ‘अब त्यो फिल्म साउनमा गर्छौं ।’ प्रवेशले त्यो फिल्मको भने नाम जुराएका छैनन् । उनले पुरानो फिल्मको नामबाट नाम राख्ने योजना भए पनि अनुमति लिन बाँकी रहेकाले पछि मात्र नाम सार्वजनिक गर्ने जानकारी गराए । 

अष्ट्रेलियामा रहेकी प्रकृति फागुनको पहिलो साता नेपाल आउँदैछिन् । प्रवेशले प्रकृति र आफू सहपाठीसँगै ‘होस्टल’मासँगै काम गरेकाले अभिनयका लागि प्रस्ताव गरेको बताए । प्रकृतिले प्रस्ताव सकारेसँगै कास्टिङ पूरा भएको उनको कथन थियो । सन् २०१४ मा रिलिज भएको ‘उत्सव’ पछि प्रकृतिले ‘आभाष’ र ‘जिन्दगी रक्स’मा केमियो गरेकी थिइन् ।

रोहित कट्टेलको प्रस्तुति रहेको ‘बिहे पास’मा  कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राविधिकको छनौट कार्य जारी रहेको छ । 
 


Author

थप समाचार
x