नेपालमा खिचिएको बीबीसी फिल्म ‘ब्ल्याक नार्सिसस’को नेपालमा विशेष प्रदर्शनी
‘ब्ल्याक नार्सिसस’को एक दृश्यमा अभिनय गर्दै नेपाली कलाकार सबिन बस्नेत
काठमाडौं : मुस्ताङका रमणीय स्थानमा खिचिएको बेलायती फिल्म ‘ब्ल्याक नार्सिसस’को नेपालमा विशेष प्रदर्शनी गरिएको छ । नेपालमा सुटिङ व्यवस्थापन गरेको लोकेसन नेपालले प्रेस तथा फिल्म सम्बद्ध क्रुका लागि विशेष प्रदर्शनको आयोजना गरेको हो ।
फिल्म शनिबार चलचित्र विकास बोर्डको हलमा देखाइएको थियो । सन् १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नार्सिसस’ सन् १९४७ मा सिनेमामा रुपान्तरण भएको थियो । डेबोरा केर अभिनित यो फिल्मले उसबेला अस्करमा दुईवटा अवार्ड जितेको थियो । नयाँ ‘ब्ल्याक नार्सिसस’ यही फिल्मको रिमेक हो । बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको नयाँ फिल्म नेपालमा खिचिनुका साथै यसमा नेपाली कलाकारको पनि अभिनय रहेको छ ।
सन् १९३४ को पृष्ठभूमिमा बनेको फिल्मले स्कुल बनाउने उद्देश्यले नेपाल आएका क्याथोलिक ननको कथा पेश गर्छ । फिल्ममा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘प्रिन्स अफ पर्सिया’ तथा जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म ‘क्वान्टम अफ सोलेस’की अभिनेत्री जेमा आर्टेटोन , ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ आदि कलाकारको अभिनय रहेको छ ।
फिल्ममा बेलायती सिरिज ‘आवर गर्ल’मा अभिनय गरेका सविन बस्नेत, दीपिका कुँवर, दीलिप राई आदि नेपाली कलाकारको पनि अभिनय देख्न सकिन्छ । फिल्ममा दीपिका कुँवर र दीलिप राई प्रभावशाली भूमिकामा छन् ।
पहिलो भागका सह निर्देशक इमेरिक प्रेसबर्गका नाति एन्ड्रुयु म्याकडोनाल्ड यो फिल्मका निर्माता हुन् । म्याकडोनाल्डका अनुसार यो पुस्तक उनको हजुरआमाको मनपर्ने पुस्तक थियो र उनकै इच्छामा पुस्तकलाई सिनेमामा रुपान्तरण गरिएको थियो । तर, उसबेला यो फिल्मको सम्पूर्ण सुटिङ पाइनवुड स्टुडियो भित्र भएको थियो । हिमालयको पृष्ठभूमि माग्ने फिल्मको सुटिङ स्टुडियोमा मात्र सिमित गरेकोमा लेखक रुमेर गोर्डन खुशी भएकी थिइनन् ।
यसैले जब बिबिसीले यसलाई फेरि बनाउने निर्णय गर्यो, निर्माता निर्देशकको छनोटमा नेपाल पर्यो । यसरी नेपाल आएको टोलीले तीन हप्तासम्म मुस्ताङको तल्लो भेगमा सुटिङ गरेको थियो ।
लोकेसन नेपालका प्रमुख गौतम धिमालले आफूहरूले काम गरेको फिल्म क्रुलाई देखाउने मनसायले प्रदर्शन गरेको बताए । ‘फिल्म उता प्रदर्शन भइसक्यो । डेलीमेल जस्ता पत्रिकाले नेपालको पनि तारिफ गरेर लेखेका छन् । यसले हामीलाई झन् कौतुहल बनायो र हेर्ने इच्छा व्यक्त गर्यौं । उनीहरूले फाइल पठाएपछि हामीले क्रुलाई देखाएका हौं,’ धिमालले भने ।
‘ब्ल्याक नार्सिसस’बाहेक यो कम्पनीले आजसम्म दर्जन बढी फिचर फिल्म, अन्तर्राष्ट्रिय विज्ञापन र टिभी सिरिजको काम गरिसकेको छ । ‘ब्ल्याक नार्सिसस’का लागि धिमालले मुस्ताङदेखि इलामसम्मको लोकेसन देखाएको थियो । निर्देशक चारलोट ब्रुसले अन्तिममा मुस्ताङ र छेउछाउको लोकेसन कथाका लागि उपयुक्त ठम्याएपछि फिल्मको सुटिङ मुस्ताङमा गरिएको थियो ।
‘ब्ल्याक नार्सिसस’ सन् २०२० को नोभेम्बरमा अमेरिका र सोही वर्षको डिसेम्बरमा बेलायतमा रिलिज भइसकेको छ । तीन भागको यो सिरिज बिबिसी आइप्लेयरमा रिलिज भइसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया