कोही गरिब कसरी धनी बन्छ ?
‘दि ह्वाइट टाइगर’ हेरिरहँदा खास गरी दुइटा फिल्म दिमागमा आउँछन् । पहिलो ‘स्लमडग मिलिनियर’ अनि दोस्रो गत सालको अस्कर विजेता ‘प्यारासाइट’ । अनि बीचमा बलराम (आदर्श गौरव)को न्यारेसन आउँछ, जहाँ उनी भन्छन्, ‘इन्डिया दुइटा छ । एउटा अँध्यारो इन्डिया अनि अर्को उज्यालो इन्डिया ।’ यतिबेला भने थाहै नपाई तपाईं रामेशको गीत गुनगुनाउन सक्नुहुन्छ, ‘कोही त भने जहाजमा हरर । कोहीको भने पसिना तरर.. हाम्रो नेपालमा ।’
शाब्दिक अनुवादमा जानुभयो भने यो नामैले चाहिँ तपाईंलाई डायमन शमशेर राणा लिखित चर्चित उपन्यास ‘सेतो बाघ’को याद दिलाउँछ, जसमा नीर शाहले सिनेमा पनि बनाएका छन् । गत वर्ष कोरियन फिल्म निर्देशकले दक्षिण कोरियाभित्र नै दुइटा कोरिया रहेको देखाएर विश्व सिनेमालाई नै चकित बनाएका थिए । ‘प्यारासाइट’ नामको यो सिनेमाले कान्स र अस्करमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो । अस्करमा एसियाबाट उत्कृष्ट फिल्मको अवार्ड जित्ने यो पहिलो फिल्म थियो । रामिन बरमानी निर्देशित ‘दि ह्वाइट टाइगर’ले पनि भारतमा गरिबहरू ‘रोस्टर कुप’ (कुखुराको खोर)मा रहेको र त्यहाँबाट निस्कने बाटो मेहनत र इमानदारीको नभएको यथार्थ देखाउँछ ।
‘वर्ग संघर्ष’ साहित्य र राजनीतिले सबैभन्दा धेरै दोहन गरेका शब्द हुन् । यही वर्ग संघर्षका कथाव्यथाका बुई चढेर थुप्रै साहित्यकार धनवान भएका छन् भने राजनीति गर्नेले लिएको लाभ अब शब्दमा व्यक्त गर्न सकिन्न ।
विश्वभर नै हुनेखाने र हुँदाखानेबीचको खाडल झन् झन् गहिरो हुँदै गएको अर्थविद्को निष्कर्ष छ । सिनेमामा भने ‘इमानिसिपेसन अफ रियालिटी’को बहानामा वर्ग खाडलका विषय विरलै सिनेमामा देख्न पाइन्छ । तर, पछिल्लो समय रिलिज भएका केही फिल्मले गरिब र धनीबीचका अनेक आयाम प्रस्तुत गर्ने जमर्को गरेका छन् ।
‘प्यारासाइट’बाहेक अल्फान्सो कुरोनको ‘रोमा’, जोर्डन पेलेको ‘अस’ र सुधीर मिश्राको ‘सिरियस म्यान’ केही फिल्म हुन् जहाँ यी आयामलाई धेरथोर देख्न सकिन्छ । तर, वर्ग विभेदको आयाम पस्कने मामलामा ‘दि ह्वाइट टाइगर’ र ‘प्यारासाइट’ जुम्ल्याहा हुन् । गरिबीलाई बुझ्ने र प्रस्तुत गर्ने दुवै फिल्मको शैली नितान्त फरक छ तर केन्द्रमा गरिबीबाट निस्कने गरिबको प्रयत्नले निम्त्याउने परिणाम एकै छ ।
‘दि ह्वाइट टाइगर’को बलराम र बङ जून होको ‘प्यारासाइट’को किम कि टेक इमानदार गरिब हुन् । जब समयक्रममा उनीहरूलाई थाहा हुन्छ कि यो गरिबीबाट निस्कन सोझो बाटो हिँडेर हुँदैन, उनीहरू दुवैले बांगो अर्थात् हिंसाको बाटो समात्छन् ।
‘प्यारासाइट’ले किम कि टेकको कथा पेस गर्छ जो गरिब छ तर चतुर छ । यही चतुर्याइँ प्रयोग गर्दै किमको परिवार पालैसँग पार्कको घरमा प्रवेश गर्छ । तर, व्यक्तिगत महत्वाकांक्षाको कुनै सीमा हुन्न । कुनै समय सडेगलेको पाउरोटी खाएर गुजारा गर्ने किमको परिवारलाई पार्कको घरमा गएपछि खान-लाउनको कुनै समस्या छैन तर धनी बन्ने र उनीहरू जस्तै जीवन बाँच्ने लालसाले उनीहरू एकपछि अर्को अपराध गर्दै जान्छन् ।
उनीहरूको महत्वाकांक्षाले किमको परिवार त बर्बाद हुन्छ नै, साथमा पार्कको परिवार र पार्ककै घरमा काम गर्ने नोकरको पनि दुनियाँ तहसनहस हुन्छ । किम परिवारको यात्रा जहाँबाट सुरु भएको थियो, त्यहीँ पुगेर टुंगिन्छ । किम परिवारको यो नियतिलाई माध्यम बनाएर फिल्मले पुँजीवादी व्यवस्थाको कटु यथार्थलाई उदांगो पारेको थियो । पुँजीवादी व्यवस्थामा ‘गरिबले जति नै प्रयत्न गरोस्, धनी हुन सक्दैन’ भन्ने शास्त्रीय मान्यताको उद्घाटनसँगै फिल्मले बिट मारेको छ ।
वर्ग विभेदको आयाम पस्कने मामलामा ‘दि ह्वाइट टाइगर’ र ‘प्यारासाइट’ जुम्ल्याहा हुन् । गरिबीलाई बुझ्ने र प्रस्तुत गर्ने दुवै फिल्मको शैली नितान्त फरक छ तर केन्द्रमा गरिबीबाट निस्कने गरिबको प्रयत्नले निम्त्याउने परिणाम एकै छ ।
तर, ‘दि ह्वाइट टाइगर’को मुख्य पात्रको अन्त्य भने ठीक उल्टो छ । बलरामले पनि किमले झैं गरिबीबाट माथि आउन हिंसाको सहारा लिन्छ तर यसरी माथि आए पनि उसले जमिन छाडेको छैन । ऊ गरिबमाथि सहानुभूति राख्छ र उनीहरूको दुःखलाई आफ्नो दुःख ठान्छ ।
‘दि ह्वाइट टाइगर’ अरबिन्द अडिगाको सन् २००८ मा प्रकाशित अंग्रेजी उपन्यासको फिल्मीकरण हो । ३३ वर्षका अरविन्दले पहिलो किताबबाटै बुकर प्राइज जितेका थिए । इरानी मूलका अमेरिकी निर्देशक रामिन बहरानीले निर्देशन गरेको यो फिल्म जनवरी २२ मा नेटफ्लिक्समा सार्वजनिक भएको थियो ।
रामिनले फिल्मको रिलिज अघि भएका अन्तर्वार्तामा ‘दि ह्वाइट टाइगर’मा सत्यजित रेको ‘लिगेसी’लाई पछ्याउन खोजेको बताएका थिए । विश्व सिनेमामा भारतको सबैभन्दा प्रतिष्ठित अनुहार सत्यजित रेले ५० को दशकमा नै मानवीयता र गरिबीलाई केन्द्रमा राखेर ‘अपु’ ट्रियोलोजी बनाएका थिए । स्वतन्त्रतापछि भारतमा वर्ग विभेदको विकराल रूप प्रस्तुत गर्ने ती फिल्म आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । सन् ९० को दशकमा न्युयोर्कको साउथ कोलम्बिया कलेजका दिनमा रामिनले सत्यजित रेका सबै सिनेमा हेर्ने मौका पाएका थिए ।
रामिनका अनुसार उनी कोलम्बियामा विद्यार्थी हुँदा मार्टिन स्कोरसिजले सत्यजित रेका सिनेमालाई डिजिटाइज गरेर त्यहाँको लिंकन प्लाजामा देखाउने गरेका थिए । उनले यही लिंकन प्लाजामा सत्यजित रेका अधिकांश सिनेमा हेरे । त्यतिबेला उनलाई सत्यजित रेका सिनेमाबारे बताउने र उनलाई हलसम्म लिएर जाने व्यक्ति थिए, ‘दि ह्वाइट टाइगर’का लेखक अरविन्द अडिगा । फिल्ममा सहकार्य गरेका अरविन्द र रामिन कोलम्बिया युनिभर्सिटीमा सहपाठी थिए ।
रामिनले सत्यजितका फिल्ममा पाइने मानवीयता र साधारण तर चरित्रप्रधान कथाले आफूलाई उसबेला निकै प्रभावित गरेको बताएका छन् । त्यसयता आफ्ना फिल्ममा कतै न कतै रेका फिल्मको प्रभाव देख्न सकिने उनको स्वीकारोक्ति थियो । उनले आफूले बनाएका ‘चोप चोप’ र ‘९९ होम्स’मा बलरामजस्तै पात्रको कथा वाचन गरिएको बताएका छन् ।
‘प्यारासाइट’ र ‘दि ह्वाइट टाइगर’को पटकथाको प्रारम्भमा थुप्रै समानता भेट्न सकिन्छ । ‘प्यारासाइट’मा धनी परिवारको छोरीलाई ट्युसन पढाउन गरिब छोरोले धनी बनेको नाटक गर्छ र पालैसँग आमा बुबा र दिदीलाई घरमा छिराउँछ । ‘दि ह्वाइट टाइगर’मा पनि जब बलरामले पढ्नमा तेज हुँदाहुँदै पनि छात्रवृत्तिमा पढ्नलाई लक्ष्मणगढबाट दिल्ली जान पाउँदैन, उसले पनि धनीको घरमा छिर्न झुटको सहारा लिन्छ । दोस्रो चालकका रूपमा अशोक (राजकुमार राव) को घर छिरेको उसले पहिलो चालकलाई ‘ब्ल्याकमेल’ गरेर आफ्नो बाटोबाट हटाउँछ र ‘रोस्टर कुप’बाट बाहिर निस्कने धूर्त यात्रा सुरु गर्छ ।
इमानदारी र बफादारी गरिबको चरित्रसँग जोडिएर आउने विशेषता हुन् । जुन दिन कोही गरिब यी शब्दको भार बोक्न अस्वीकार गर्छन् त्यो दिन धनीको पनि दुनियाँ पहिला जस्तो रहन्न । यो फिल्ममा पनि जब बलरामले थाहा पाउँछ कि हदैसम्मको बफादारीको बदला मालिकले उसैलाई जागिरबाट निकालेर तिर्न लागिरहेको छ, उसको धैर्यको बाँध फुट्छ र अकल्पनीय बाटो समात्छ ।
जसरी ‘प्यारासाइट’ले किमको परिवारको छिँडीमुनिको बासलाई गरिबीको विम्बका रूपमा प्रस्तुत गरेको थियो रामिनले पनि यो फिल्ममा धनी अशोक र पिंकीको (प्रियंका चोपडा) र अशोकको बसाइलाई त्यसरी नै प्रस्तुत गरेका छन् । फिल्मभित्र जहाँ अशोक र पिंकी बिलासी कोठामा बस्छन् त्यहीँ अशोक अँध्यारो अन्डरग्राउन्ड पार्किङमा रात बिताउँछ, मच्छड र साङलोको झुन्डले घेरिएर । त्योबाहेक फिल्मभरि थुप्रै यस्ता दृश्य छन् जसले विश्वकै ठूलो लोकतन्त्र दाबी गर्ने भारतमा आर्थिक र जातीय असमानताका दृश्य जीवन्त बनाउँछन् ।
फिल्मको सुरुवात बलरामको न्यारेसनबाट सुरु हुन्छ । न्यारेसनबाट सुरु भएको कथा फ्ल्यासब्याकमा गएर अशोकको बाल्यकाल हुँदै सफल व्यवसायी बनेको दृश्यमा गएर टुंगिन्छ । यसो गरिरहँदा निर्देशकले फिल्मभरि जंगलको विम्ब प्रयोग गरेका छन् । बलरामले कथावाचनको सुरुवातमै आफूलाई ‘सेतो बाघ’को रूपमा चित्रित गरेको छ जुन कालान्तरमा सही प्रमाणित हुन्छ ।
गरिबीको पुस्तैनी इतिहास भएको परिवारबाट निस्केर बलराम धनाढ्य बन्छ । यसैगरी, फिल्मको सुरुवाततिर नै बलरामलाई गाडी चलाउन सिकाउने ड्राइभरले भन्छ , ‘सडक पनि एक खाले जंगल नै हो ।’ सडकरूपी यही जंगलमा मालिकको पैसा लिएर चम्पट हुँदै उसले आफूलाई गरिबीको चंगुलबाट मुक्त गर्छ ।
नरेन्द्र दामोदर मोदीको शासन सत्तामा उदयपछि भारतमा जात र धर्मको राजनीति संगीन बन्दै गएको छ । तर, भारतमा जातको राजनीतिको लामो इतिहास छ । फिल्मले सभ्य रूपमा जातको राजनीतिको धज्जी उडाएको छ । फिल्ममा स्वरूप सम्पतले ‘दि ग्रेट सोसियालिट’को भूमिका निर्वाह गरेकी छिन्, जसलाई बलरामले आदर्श मान्ने गरेको छ ।
यी सोसायालिट तल्लो जातको राजनीति गर्ने नाउँमा चुनाव जितेर मुख्यमन्त्रीको पदमा सवार छिन् । तर, उनको पनि ध्यान यो विभेद हटाउने छैन, धनीसँगै मिलेर आफ्नो स्तर उकास्नमा मात्र केन्द्रित छ । उनी धनीसँगै पैसा लिएर उनीहरूकै काम गर्नमा आफ्नो भलो देखिरहेकी छिन् । अनि त बलरामहरूले आफ्नो स्वतन्त्रताको बाटो आफैँले नखनेर के गर्ने ?
फिल्ममा कलाकारको अभिनय जबर्जस्त छ । खासगरी, बलराम हलवाई बनेका आदर्श गौरवले उम्दा कलाकार राजकुमार राव र प्रियंका चोपडालाई पनि फिक्का बनाएका छन् । श्रीदेवी अभिनीत ‘मम’मा भिलेन बनेर चकित बनाएका उनले यो फिल्ममा पनि छविलाई थप बुलन्द बनाएका छन् । सपना र गरिबीको बीचमा चेपिएको युवाका रूपमा उनले भारतीय मजदुरको चरित्रलाई लोभलाग्दो गरी बाँचेका छन् । प्रियंका फिल्ममा छोटो भूमिकामा छिन् तर कथालाई रोमाञ्चक बनाएर अलप भएकी छिन् । राजकुमार रावको अभिनय सदाझैं स्वाभाविक छ तर बाँकी कलाकारको तुलनामा उनको भूमिकामा गहिराइको अभाव महसुस हुन्छ ।
स्ट्रोकका रूपमा अभिनय गर्ने महेश माञ्चरेकर र आदर्श गौरवको हजुरआमाको अभिनय गर्ने कमलेश गिलले छोटो समयको उपस्थितिमा पनि दर्शकलाई प्रभावित गर्छन् । रामिन आफैँले लेखेको पटकथामा सुरुमा केही धिमा भए पनि पछिल्लो समय रफ्तारमा कुदेको छ । फिल्मका अधिकांश पञ्चलाइन किताबबाटै उठाइएको छ र यी असरदार छन् । तपाईंलाई फिल्ममा सामाजिक मुद्दा र वर्ग असमानताका कथामा रुचि छ भने यो फिल्म हेर्नुस्, तपाईंलाई मन पर्न सक्छ ।
twitter : @samipya13
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया