स्रष्टाहरूद्वारा आन्दोलनको घोषणा, नारायण ढकालदेखि नाजिर हुसेनसम्म सडकमा
काठमाडौं : साहित्यकार, रंगकर्मी, चलचित्रकर्मी र संस्कृतिकर्मीहरूले प्रतिगमनविरुद्ध सडक आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमलाई ‘प्रतिगमनकारी कदम’ भन्दै ८५ जना स्रष्टाहरूले जनआन्दोलन २०६२/०६३ का उपलब्धिहरूसमेत खोस्न, संकुचित पार्न र मुलुकलाई अझै निरंकुशतातिर लैजान खोजिएको वक्तव्यमा उल्लेख गरेका छन् ।
‘आजको राजनीतिक प्रतिगमन एवम् राज्यको बढ्दो निरङ्कुश व्यवहारले सम्पूर्ण स्रष्टाहरूलाई फेरि एकपटक अग्रगमनका लागि साझा र संयुक्त आन्दोलनमा एकतावद्ध हुन उत्प्रेरित गरेको छ’, सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘विद्यमान सामाजिक संरचना, राजनीतिक प्रणाली र सत्ता–अभ्यासका कारण उत्पन्न सङ्कटहरूको अग्रगामी समाधान खोज्नुको सट्टा नागरिकको बोल्ने, विरोध गर्ने र भेला हुने स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने सरकारी रवैया निन्दनीय छ ।’
स्रष्टाहरूले गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको पनि विरोध तथा भत्र्सना गरेका छन् । नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता, भेला हुने र विरोध गर्ने अधिकार कुञ्ठित गर्दैमा निरङ्कुशता र तानाशाही शासन टिक्न नसक्ने वक्तव्यमा उल्लेख छ ।
‘नेपाली जनताको सङ्घर्षबाट स्थापित सापेक्षित उपलब्धिहरूको हरण हुन नदिन र सामाजिक न्याय, जनपक्षधरता एवम् सबैखाले विभेदको अन्त्यका लागि अग्रगामी परिवर्तनका नयाँ कार्यसूचीहरू समेत निर्माण गर्न प्रतिगमनविरोधी सम्पूर्ण स्रष्टाहरू संयुक्त आन्दोलनमा सहभागी हुनु आजको आवश्यकता बनेको छ’, वक्तव्यमा भनिएको छ ।
सबैखाले प्रतिगमनका विरुद्ध र निरन्तर अग्रगमनका पक्षमा हामी ‘स्रष्टान्दोलन–२०७७’ घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरू तय गर्न संयोजन टिम र सचिवालय टिम निर्माण गरेको पनि वक्तव्यमा जनाइएको छ । वक्तव्य जारी गर्ने स्रष्टाहरूमा साहित्यकारहरू निनु चापागाईं, नारायण ढकाल, विमल निभा, श्रवण मुकारुङ, इस्माली, भूपाल राई, राजन मुकारुङ, धनकुमारी सुनार, मातृका पोखरेल विनोदविक्रम केसी, राजु स्याङ्तान, स्वप्निल स्मृतिलगायत डट जना रहेका छन् ।
त्यस्तै रङ्गकर्मी र सङ्गीतकर्मीमा अनुप बराल, दयाहाङ राई, दिया मास्के, सिर्जना सुब्बा, आकांक्षा कार्की, केदार श्रेष्ठ, घिमिरे युवराज, नाजिर हुसेन, बुद्धि तामाङ, झुमा लिम्बू, अन्जान बाबु शर्मालगायत रहेका छन् । स्रष्टा आन्दोलनले छिटै सडक आन्दोलनका कार्यक्रमहरू तय गर्ने साहित्यकार राजन मुकारुङले बताए । ‘हामी सबैखाले प्रतिगमन र निरन्तर अग्रगमनका पक्षमा आन्दोलनमा क्रियाशील हुनेछौं’, उनले भने । स्रष्टा आन्दोलनको तयारीका लागि शनिबार मण्डला थिएटरमा ६ दर्जन स्रष्टाहरूले प्रारम्भिक भेला आयोजना गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया