सुरु भयो भिडन्तको मौसम, एकै मितिमा पुष्पका दुई फिल्म
काठमाडौं : क्यालेन्डरमा रातो देखिएपछि निर्माता÷निर्देशकको हंस खुशी हुन्छ । त्यो मितिमा फिल्म रिलिज गर्न पाए मालामाल हुने अपेक्षा राख्छन् । तर, अधिकांश समय त्यो आशा निराशामा परिणत हुन्छ । किनकि मालामाल हुन फिल्म पनि मालामाल हुनपर्छ । अधिकांश समय यस्तो हुन्न ।
लामो समयको बन्द पछि हल खुलेका छन् । खुलेका हलमा फाट्टफुट्ट फिल्म पनि लागिरहेका छन् तर ती फिल्ममा दर्शक भने छैनन् । त्यसैले यतिबेला हलवाला ठूलो स्टार भएका हिन्दी फिल्मको प्रतीक्षा गरिरहेका छन् भने नेपाली फिल्ममेकर नयाँ वर्षको । नयाँ वर्ष दर्शक आउने मिति मानिन्छ । यही इतिहास सम्झेर फिल्म निर्माताले आउँदो नयाँ वर्षलाई तीन तीन फिल्मको घोषणा गरेका छन् ।
घोषणा गरेको मितिबाट दायाँबायाँ नभए अबको नयाँ सालमा दर्शकले ‘लप्पन छप्पन २’, ‘मन सँग मन’ र ‘कृष्णलीला’ हेर्न पाउनेछन् । गत साल नै प्रदर्शन मिति सार्वजनिक गरेर बसेको ‘लप्पन छप्पन २’ले यसअघि फागनु २७ मा सार्वजनिक हुने घोषणा गरेको थियो । तर, एक महिना पछि सर्दै यो फिल्म चैत २७ मा पुगेको छ ।
नयाँ वर्षमा प्रदर्शन आउने घोषणा गरेका फिल्म भने फ्रेस फिल्म हुन् ।
जसमध्ये कृष्णलीला’को भर्खरै सुटिङ सकिएको हो भने ‘मनसँग मन’ लक डाउनअघि खिचिएको फिल्म हो । ‘चालबाज’ रुपमा सुटिङ भएको फिल्म हालसालै ‘मनसँग मन’ भएको हो । यी दुवै फिल्मको समान विशेषता के हो भने यी दुवै फिल्मको मुख्य भूमिकामा पुष्प खड्का छन् । अर्थात् नयाँ वर्षमा अब पुष्पले आफैंसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
गत साल पनि नयाँ वर्षमा तीन फिल्म नै प्रतिस्पर्धामा थिए । गतसाल ‘प्रेमगीत ३’, ‘चपली हाइट ३’ र ‘माइकल अधिकारी’ले नयाँ वर्षमा प्रदर्शन हुने गरी मिति घोषणा गरेका थिए । तर, बीचमा कोरोना भाइरसको महामारी सुरु भए पछि सरकारले सिनेमा हलसँगै सिनेमासम्बन्धी सबै गतिविधी बन्द गरेको थियो । माघ १ गतबाट बल्ल सरकारले हल खोल्ने अनुमति दिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया