कला

दयाहाङ राई भन्छन्

‘बजार होइन, सुहाउँदो चरित्र सम्झेर आउनुस्’

सामीप्यराज तिमल्सेना |
माघ २७, २०७७ मंगलबार १४:५३ बजे

तस्बिर : दयाको फेसबुक

काठमाडौँ : एक हप्ताकै बीचमा अभिनेता दयाहाङ राई जोडिएका तीन समाचार सञ्‍चारमाध्यममा आए । पहिलो समाचार थियो उनले खेल्न लागेको नयाँ फिल्म ‘बिहे पास’को । दोस्रो समाचार थियो, ‘२ नम्बरी’को । कोरोना भाइरस महामारीका कारण १० दिन सुटिङ भएर रोकिएको यो फिल्ममा नयाँ निर्माता थपिएको खबर सँगै फिल्म सुटिङमा निस्कने मितिको पनि सूचना थियो । यही बीचमा सार्वजनिक भएको दया सम्बन्धित तेस्रो समाचार भने सुवर्ण थापाको निर्देशनमा बन्‍न लागेको फिल्म ‘दि सेक्रेट अफ राधा’ को हो । बाँकी दुई फिल्म झैं यो फिल्म पनि माघ २५ बाट फ्लोरमा जाने सूचना थियो । 

माथि उल्लेखित तीनै फिल्मको सुटिङ समय लगभग एकै छ । अझ ‘बिहे पास’ र ‘२ नम्बरी’को त बाहिरिएको सुटिङ मितिमा जम्मा एक हप्ताको अन्तर छ । समाचारकै कुरालाई विश्‍वास गर्ने हो भने ‘बिहे पास’ चैतको पहिलो हप्ताबाट फ्लोरमा जानेछ भने ‘२ नम्बरी’ चैतको दोस्रो हप्ताबाट । योभन्दा अघि सौगात मल्लसमेत निर्माता रहेको ‘दि सेक्रेट अफ राधा’ छँदैछ । 


यी त भए समाचारमा आएका दयाका फिल्म । तर, समाचारमा नआएका थुप्रै फिल्म छन् जुन फिल्मले दयालाई कुरिरहेका छन् । जस्तो कि निश्‍चल बस्‍नेतको ‘जिन्दावाद’, रामबाबु गुरुङको ‘कबड्डी ४’, मीन भामको ‘इयर अफ कोल्ड’, दीपक रौनियारको ‘स्काइ इज माइन’ दयाको मुख्य भूमिका रहने फिल्म हुन् । योबाहेक दया नै कुरिरहेका केही फिल्म छन् जसको नाम सार्वजनिक भइसकेको छैन । 

दयाले गर्न लागेको यी फिल्मको सूचीले देखाउँछ, दयामाथि निर्माता/निर्देशकको भरोसा अपार छ । बजारले धेरै भर गरेको छ । तर, दयाहाङ आफैँ यो सूची सम्झेर कस्तो मनस्थितिमा छन् ? अनामनगरस्थित मण्डला थिएटरको अफिसमा रहेका उनले इकागजसँगको फोन संवादमा हाँस्दै जवाफ दिए , ‘बिजोग छ ।’ ‘के यसलाई दयाहाङमाथि बजारको भरोसाको रुपमा बुझ्‍ने ?’ इकागजको दोस्रो प्रश्‍नमा भने दयाले फरकमत जाहेर गरे । 

उनले धेरै फिल्ममा आफू जोडिनुको मतलब बजारभन्दा चरित्र कारक रहेको दाबी गरे । ‘म जति पनि चलचित्रमा जोडिएको छु तिनमा बजार हैन चरित्र जोडिएको हो,’ उनले भनाइको तात्पर्य स्पष्ट पार्दै भने, ‘ मैले जुन चरित्रलाई न्याय गर्न सक्छु त्यो फिल्ममा मात्र आबद्ध हुन्छु । अनि अहिले सतहमा एकै चोटि धेरै फिल्म देखिए, यसमा महामारीको भूमिका पनि बिर्सन भएन ।’

उनले दयाहाङलाई लिए फिल्म चल्छ भन्‍ने भ्रममा रहेका निर्माता/निर्देशकलाई भने यस्तो भ्रम नपाल्न आग्रह गरे । ‘ बजार सम्झेर हैन चरित्रमा सुहाउँछ भन्‍ने लाग्छ भने मात्र आउनुस् । बजारमा केही चिजको ग्यारेन्टी छ भने त्यो राम्रो कथा र फिल्मको मात्र छ । त्यता ध्यान दिनुस्,’ उनले आग्रह गरे ।

‘लुट’को गोफ्लेको रुपमा दर्शकको नजरमा जमेका दयाहाङलाई ‘कबड्डी’ले स्टारडमको स्वाद चखाएको थियो । त्यसयता यस्तै कुनै वर्ष छैन जहाँ दयाहाङ ५/६ फिल्म रिलिज नभएका हुन् । ज्यादा फिल्म गरेकै कारण उनलाई दोस्रो राजेश हमालसमेत भनिने गरेको छ । उनले यस्तो बेला केही फिल्म पैसाका लागि र केही फिल्म सम्बन्धका लागि गर्ने गरेको जवाफ दिने गरेको थिए । उनले अब गर्न लागेका फिल्म पनि साथीभाइकै भएकै कारण गर्न लागेको बताए । 

‘यसको मतलब साथीभाइका फिल्म भन्ने बित्तिकै गरिहाल्ने भन्‍ने होइन,’ उनले भने, ‘ चरित्रमा आफू फिट छु भने मात्र गर्ने हो । तर, जो साथीका फिल्म म गर्छु उहाँहरू सबै जना संघर्षका दिनका साथी हुनुहुन्छ र मलाई राम्ररी बुझ्नु भएको छ । त्यही कारण गर्ने हो ।’

‘दयाले अब कुन फिल्मको सुटिङ गर्छन् ?’ भन्‍ने प्रश्‍नमा भने उनले अब ‘बिहे पास’को सुटिङ ज्वाइन गर्ने त्यसपछि ‘दि सेक्रेट अफ राधा’को सुटिङ सक्ने र बल्ल ‘२ नम्बरी’को बाँकी काम सकाउने सेड्युल बताए । यसपछि भने उनले ‘कबड्डी ४’ र ‘जिन्दाबाद’ को सुटिङ सक्नेछन् । 

दयालाई तत्कालका लागि राहत के पनि छ भने यही साल सुटिङ गर्ने भनेका दीपक रौनियारको फिल्म र मीन भामको फिल्म यो साल सुटिङ नहुने सम्भावना छ । 
  


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x