फिल्मकर्मीलाई प्रहरीको चेतावनी, -‘हामीलाई जथाभावी नदेखाउनू ।’
नेपाल प्रहरीले आफ्नो पोशाक तथा दज्र्यानी चिन्ह दुरुपयोग भएको भन्दै फिल्म, म्युजिक भिडियो तथा टिकटक बनाउनु अघि आफूहरूसँग अनिवार्य स्वीकृति लिन आग्रह गरेको छ । प्रहरी प्रवक्ता कुवेर कडायतले बिहीबार विज्ञप्ति जारी गर्दै टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकहरुको दुरुपयोग भएको भन्दै अनुमतिविना प्रयोग नगर्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी पोशाकको प्रयोग गर्नुपूर्व प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रसार इकाइमा पोशाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौ । प्रहरी प्रधान कार्यलय जनसम्पर्क तथा प्रचार–प्रसार इकाइको स्वीकृति नलिइ कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दज्र्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन समेत जानकारी गराइन्छ ।’
प्रहरी प्रधान कार्यालयको विज्ञप्तिलाई लिएर फिल्मकर्मी सामाजिक सञ्जालमा आक्रोशित देखिएका छन् । निर्देशक दीपेन्द्र लामाले प्रहरीको विज्ञप्तिमा पञ्चायतकालीन मानसिकता देखिएको भन्दै चलचित्र विकास बोर्डको मौनतामाथि प्रश्न गरेका छन् ।
‘नेपाल प्रहरीले पञ्चायत कालको मानसिकता कहिले त्याग्ने ? चलचित्र विकास बोर्डले के हेरेर बसेको छ ? फिल्म, टेलिफिल्म, म्युजिक भिडियो, सर्ट फिल्ममा प्रहरी पात्र देखाउन अनुमति लिनु (पटकथा बुझाउनु) भन्दै प्रहरी डिपार्टमेन्टले उर्दी जारी गरेछ । प्रहरी पात्रले चोरी, जाली काम गरेको देखाइयो भने पटकथा सच्याएर ल्याउनू भन्छ । त्यतिमात्र होइन सिनियर प्रहरीले जुनियरलाई तिमी वा तँ भनेर सम्बोधन गरेको छ भने तपाईं लेखेर ल्याउनू भन्छ । आदरणीय प्रहरी हाकिमहरु ! आफ्नो डिपार्टमेन्टका अफिसरहरूलाई तमिज सिकाउनुस्, घुस नखान, बलात्कार नगर्न, हत्या नगर्न सिकाउनुस् । फिल्मकर्मीलाई फिल्म बनाउन दिनुस्, फिल्मकर्मीको विवेकलाई पनि सम्मान गर्नुस्’लामाले लेखेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया