कला

अविरलको ‘करिया’ सार्वजनिक

इकागज |
माघ २९, २०७७ बिहिवार १२:२३ बजे

काठमाडौं : ‘रक्तकुण्ड’, ‘रक्तबीज’ जस्ता सनसनीखेज उपन्यासका लेखक कृष्ण अविरलले ‘करिया’ शीर्षकको उपन्यास ल्याएका छन् । उपन्यासमा अविरलले लगभग सय वर्ष पुरानो सामाजिक इतिहासलाई आख्यानीकरण गरेका छन् । 

अविरलले उपन्यासमा नलेखिएका सामाजिक इतिहास उत्खनन् गरेको दाबी गरेका छन् । ‘ हामीलाई अब्राहम लिंकन दास भएको कुरा थाहा छ तर हाम्रै बाजे बराजुको पुस्ता पनि दास थियो भन्ने कुरा हामीलाई थाहा छैन । उपन्यासका माध्यमबाट मैले त्यही समय उतार्ने प्रयास गरेको छु,’ अविरलले भने, ‘ यसमा बुढापाकाहरूले भन्ने गरेका कमाराकमारीहरूका रोचक एवम् कारुणिक घटनालाई औपन्यासिक रुपमा प्रस्तुत गरेको छु ।’ 


उपन्यासमा करियाका दुःखदेखि करिया मोचनका लागि चन्द्रशमशेरलाई उत्प्रेरित गर्ने पृष्ठभूमिका चरित्रसम्मका कथा समेटिएका छन् । अविरलले कथाको खाका एउटा नाटकका लागि तयार गरेका थिए । तर, नाटकमा भन्दा आख्यानमै यो कथा भन्दा मात्र पुरै आयाम समेट्न सकिन्छ भन्ने लागे पछि उनले यसलाई आख्यानको स्वरुप दिएको बताए । 

उपन्यासलाई उनले विभिन्न उपशीर्षकमा बाँडेका छन् । तर ती शीर्षक भने चर्चित उपन्यासबाट उठाएका छन् । जस्तो उनले पहिलो उपन्यास वीर चरित्रदेखि पछिल्लो समय प्रकाशित उपन्यास ‘उबडखाबड’सम्मका नाममा उपन्यासका उपशीर्षक जुराएका छन् । उनले नयाँ पुस्ता नेपाली साहित्यका मूर्धन्य व्यक्ति र उनका कृतिसँग परिचित हुन् भन्ने उद्देश्यले यसो गरिएको बताए ।  ४ सय ४५ रुपैंया मूल्यको उपन्यास अजम्बरी पब्लिकेसनले बजारमा ल्याएको हो । 


Author

थप समाचार
x