कला

‘प्रधानमन्त्रीज्यू, छोरी जन्माउन डर लाग्‍न थालेको छ ’

इकागज |
असोज २४, २०७७ शनिबार १२:१९ बजे

केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले नेपाल बलात्कारको सूचकांकमा अमेरिका, दक्षिण अफ्रिकाभन्दा पछि रहेको भन्दै चिन्ता नगर्न आग्रह गरे । गत बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उनको कथन थियो, ‘झन्डै सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति होइन । सवा दुई सयमध्ये हाम्रो स्थान पछाडि आउँछ । पछाडिबाट हेर्दा हामी टप १५ भित्र छौँ भन्ने कुरा विश्लेषणबाट देखिन्छ भने हामीभन्दा अगाडि विकसित मुलुकहरू अमेरिका, दक्षिण अफ्रिका देखिन्छन् ।’
 
गृहमन्त्रीले नै बलात्कारको कुरालाई सामान्यीकरण गरेको भन्दै उनको चर्को आलोचना भएको छ । यही क्रममा नेपाली फिल्मका अभिनेत्रीहरूले पनि जिम्मेवार पदमा बसेको व्यक्तिबाट गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै  सामाजिक सञ्‍जालमा आक्रोस पोखेका छन् । शुक्रबार अभिनेत्री वर्षा राउतले लामो स्ट्याटस लेख्दै कानुनको परिपालना गर्ने निकायका जिम्मेवार माननीयहरू बलत्कारको संख्या गन्दै सफलता आंकलन गर्नमा व्यस्त रहेको भन्दै क्षोभ प्रकट गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘म नारी हुँ । नेपाली नारी ! धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीलाई सम्मानित, सुरक्षित र सामान अवसरका साथ बाँच्‍न पाउने व्यवस्थाको लाभ उठाइरहेकी नारी ! यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद ! तर, कति दिन धन्यवाद भनिरहने ? नारी अधिकारका लागि कानुन छ तर कागजमा मात्र सीमित ।, नेपाली कानुनले आँखा मात्र होइन कान र मुखमा पनी पट्टी बाँधे झैं भान भैरहरको छ ।’ उनले थप लेखेकी छिन्, ‘नारीका रक्तपिपासूहरू खुलेआम कानुनको कार्पेटमा पिसाब गर्दै गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहेका छन् । कानुनको परिपालना गर्ने निकायका जिम्मेवार माननीयहरू बलत्कारको संख्या गन्दै सफलता आंकलन गर्नमा व्यस्त हुनुहुन्छ ।  कसले सुन्ने हाम्रो चित्कार ? कसले मेटाउने हाम्रो त्रास ? कसले दिने हामीलाई सुरक्षा अनि न्याय ?’


बिहीबार अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्‍जालमा प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै महिला नै राष्ट्रपति भएको बेलामा गैर जिम्मेवार अभिव्यक्ति आउनु दुःखद भएको बताएकी छिन् । ‘मलाई भोलिको दिनमा छोरी जन्मिएला भन्‍ने डर लाग्‍न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला भन्ने डर लाग्न थालेको छ’उनले लेखेकी छिन्, ‘दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेयाम हिडेको या ढाकछोप सामान्य जरिवाना र गन्‍न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएकोमा हिजोआज आफैलाई लाज लाग्‍न थालेको छ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातीनीको आँखामा आँखा जुधाइ भनी हेर्नुहोस् कि यो देशमा उनीहरु सुरक्षित छन् ? म सरकारमा विश्‍वास राख्‍ने मान्छे, हिजोआज मेरा पैतला डगमगाउँदैछन् ।’

ऋचाले बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयन गर्ने निकायले नै सामान्य रुपमा लिएको देख्दा अझै आफू सीताले अग्‍नि परीक्षा दिएको युगमा नै रहेको महसुस हुन थालेको पनि उल्लेख गरेकी छिन् ।


Author

थप समाचार
x