कला

जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण फागुनमा

इकागज |
माघ ३०, २०७७ शुक्रबार १६:३२ बजे

काठमाडौं :  जनकपुर साहित्य महोत्सवको दोस्रो संस्करण फागुनमा हुने भएको छ ! आयोजक संस्था नव मिथिला फाउन्डेसन र सह–आयोजक बुकहिल पब्लिकेसन तथा सानो पाइलाले आज राजधानीमा पत्रकार भेट्घाट कार्यक्रम गरी सो जानकारी गराएका हुन्  ।

यही फागुन १९ देखि २२ गतेसम्म ४ दिन मिथिला नगरी जनकपुरमा हुने सो महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् भने १५ जना सहजकर्ताले प्रश्न सोध्नेछन् ।


‘जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ’, घोषणा सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने ‘जनक, जानकी, याज्ञवल्क्य र विधापतिको सहरका ऐतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवद्र्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम भूमिका खेल्नेछ ।’

साहित्य महोत्सवका निर्देशक संचारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य–पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । ‘सामाजिक मूल्य–मान्यता र नैतिकता हराउँदै गैरहेका बेला यो साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई विभिन्न बहसमा सहभागी गराएर जनकपुर एकताको सूत्रमा जोड्नेछ र देशको पठन संस्कृतिमा केही योगदान दिनेछ ।’

महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने बताए । महोत्सवमा नेपालसँगै भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता रहने आयोजकले जनाए ।  


Author

थप समाचार
x