कला

पुराण कथामा बलिउडको आकर्षण, महाभारत र रामायण कथामा बन्दैछन् यी फिल्म

इकागज |
फागुन २, २०७७ आइतबार १४:५९ बजे

मुम्बई :  संसारकै ठूलो फिल्म उद्योग भए पनि बलिउडमाथि सदाबहार आरोप छ, नयाँ कथामा फिल्म बनाउँदैन । अहिले पनि बलिउड फिल्मको अधिकांश हिस्सा दक्षिण भारतको फिल्म रिमेक फिल्मले धानेको टिप्पणी हुने गरेको छ । दक्षिणको फिल्म उद्योगमा बनेका फिल्म कि त रिमेक हुने गरेका छन् कि त डब भएर हिन्दीमा आउने गरेका छन् ।

पछिल्लो समय भने बलिउडको रुचि पौराणिक कथातर्फ ढल्किएको छ । महाभारत तथा रामायणका कथामा आधारित रहेर कम्तीमा आधा दर्जन फिल्म घोषणा भएका छन् । यसमध्ये केहीको सुटिङ भइरहेको छ भने केही सुटिङमा निस्कने तरखरमा छन् । पौराणिक कथामा बन्ने घोषणा भएका केही फिल्मको नाम यस प्रकार रहेको छ । 
आदिपुरुष
पौराणिक कथामा बन्नेमध्ये पछिल्लो समय चर्चामा रहेको फिल्म हो ‘आदिपुरुष’ । रामायणको कथामा बन्न लागेको यो फिल्ममा प्रभासले राम र सैफ अलि खानले रावणको भूमिका निर्वाह गर्दैछन् । सैफले यो फिल्मको घोषणा लगत्तै रावणलाई फरक तरिकाले देखाउने खोजेको अन्तर्वार्ता दिएपछि विवादमा परेका थिए । सैफले माफी मागेपछि बल्ल विवाद साम्य भएको थियो । यो फिल्मलाई अजय देवगनलाई लिएर ‘तान्हाजी’ बनाएका ओम राउतले निर्देशन गर्दैछन् । 
रामायण
भर्खरै अनुराग कश्यप र विकास बहलको साझेदारीमा खोलेको फान्टम फिल्म एकलौटी बनाएका मधु मन्टेनाले भने रामायण नाममै फिल्म बनाउने घोषणा गरेका छन् । यसका लागि उनले पनि रामका लागि दक्षिणकै हिरो खेलाउने टुंगो गरेको चर्चा छ । बजार हल्लाअनुसार रामका लागि महेश बाबु र ऋतिक रोशनसँग कुरा भइरहेको छ भने सीताका लागि दीपिका पादुकोनसँग । 
रामसेतु 
रामायणको कथामा बलिउडकर्मीको आकर्षण अचम्मसँगै बढेको छ । केहीले सिंगो कथालाई पर्दामा उतार्न लागेका छन् भने केही कुनै प्रसंग । अक्षयकुमारले मुख्य भूमिकामा अभिनय गर्ने भनिएको ‘रामसेतु’मा भने रामले लंका प्रवेश गर्न बनाएको पुलको कथालाई प्रस्तुत गर्ने बताइएको छ ।  
महाभारत
मधु मन्टेनाले रामायण मात्र होइन महाभारत पनि बनाउने घोषणा गरेका छन् । फिल्ममा दीपिका पादुकोनले मुख्य भूमिका निभाउने चर्चा समेत थियो । दीपिका स्वयंले ‘छपाक’को प्रमोसनको समयमा आफू द्रोपदी बन्न लागेको खुलासा गरेकी थिइन् । तर, पर्याप्त तयारी गर्नुपर्ने कारण यो फिल्मको सुटिङ तत्कालै भने सुरु हुने छैन । विभिन्न भागमा बनाउन लागेको यो फिल्मको पहिलो भाग भने द्रोपदीको आँखाबाट वाचन गरिने बताइएको छ । 
ब्रम्हास्त्र
बलिउडकै महंगो बजेटको फिल्म मानिएको छ, ‘ब्रम्हास्त्र’लाई । हुन पनि दुई वर्षयता सुटिङ चलिरहेको यो फिल्मको सुटिङ अझै सकिएको छैन । अबको हप्ताबाट मुम्बईको स्टुडियोमा यसको सुटिङ सुरु हुने चर्चा छ । यो फिल्म पनि पौराणिक कथामा शक्तिशाली मानिने अस्त्र ब्रम्हास्त्रको खोजीमा आधारित रहेको बताइएको छ । यो फिल्ममा रणवीर कपुर, अमिताभ बच्चन र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरिरहेका छन् । 
अश्वत्थामा (दि इमोर्टल अफ अश्वत्थामा)
कौरव वशंका राजगुरु द्रोणाचार्यका छोरा अश्वत्थामा अष्ट चिरञ्जीविमध्ये एक मानिन्छन् । यिनै अश्वस्थामाको कथामा ‘उरी’ निर्देशक आदित्य धरले फिल्म बनाउने घोषणा गरेका छन् । फिल्ममा अश्वत्थामाको भूमिका भने विक्की कौसलले निर्वाह गर्नेछन् । 
शकुन्तलम् 
महाभारतकै कथा भित्र आउँछ, दुष्यन्त र शकुन्तलाको कथा । कुरु वंशका राजा दुष्यन्त र शकुन्तलाको विवाह हुन्छ तर दुर्वासाको श्रापका कारण दुष्यन्तले शकुन्तलालाई विवाह गरेको बिर्सन्छन् । वर्षौंपछि  शकुन्तला आफैं दरबार पुग्छिन् त्यतिबेला पनि दुष्यन्तले उनलाई चिन्दैनन् । तर, केही नाटकीय घटनापछि दुष्यन्तलाई शकुन्तलासँग विवाह गरेको याद आउँछ र उनले छोरासहित शकुन्तलालाई दरबार भित्र्याउँछन् । शकुन्तलाको यही नाटकीय जीवनलाई पर्दामा उतार्न लागेकी छिन् सामान्था अक्केनेनीले । तमिलसँगै यो फिल्म हिन्दी भाषामा पनि बन्ने छ । 



Author

थप समाचार
x