कला

उपाध्यायको ‘कफी लभ’ लोर्कापण

इकागज |
फागुन ३, २०७७ सोमवार ११:२६ बजे

काठमाडौं : गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् । 

कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँच जना नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा घटेका विभिन्न घटना र उनीहरूको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।


पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र वर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेको बताए । गीत लेखनबाट कीर्तिमान कायम गरेका डा.उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय भएको भनाइ उनले उक्त कार्यक्रममा राखे ।

अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले दिएको बताए । समकालीन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाइ जस्तो लाग्ने र प्रौढ पुस्ताले आफ्ना कलेजका दिनहरू स्मरण गर्ने पनि उनले बताए ।

आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफू २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरूको संगतमा रही उनीहरूको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । 

पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतीय पुरुषमा लेखिएको यो उपन्यास सम्वाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यास भित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए । यस्तै संगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यास भन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए ।

पुस्तक पढ्दा आफुलाई एउटा सफल चलचित्र हेरेको महसुस उनले सुनाए । प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् । २ सय ४० पृष्ठकोे पुस्तकको मूल्य ३७५ रुपैँया रहेको छ ।


Author

थप समाचार
x