कला

हिन्दी फिल्मको बाटो हेर्दै नेपाली हल, धमाधम रिलिज हुँदै पुराना फिल्म

इकागज |
फागुन ३, २०७७ सोमबार १५:२९ बजे

काठमाडौं : सरकारले हल नखोलेर आफ्नो व्यवसाय धरापमा पारेको भन्दै जबर्जस्ती हल खोलेका हल व्यवसायी अहिले नयाँ फिल्म नपाउँदा पछुताउने अवस्थामा पुगेका छन् । हल खुलेका छन् तर हलमा न नयाँ फिल्म छन् न दर्शक ।

अझ हलमा चलाउन मिल्ने फिल्म पनि नभएपछि काठमाडौंका केही मल्टिप्लेक्स पुराना नेपाली फिल्म रि–रिलिज गर्न बाध्य भएका छन् । जस्तो अहिले तपाईंले काठमाडौंका मल्टिप्लेक्सको वेब साइट चाहार्नु भयो भने ‘सानो संसार’, ‘कबड्डी कबड्डी कबड्डी’ जस्ता फिल्म चलिरहेको देख्न सक्नुहुन्छ ।


यसमध्ये ‘सानो संसार’ १३ वर्ष अघि रिलिज भएको फिल्म हो भने ‘कबड्डी..’ २ वर्षअघि । अझ क्युएफएक्सले त युट्युबमा रिलिज भइसकेको ‘कागबेनी’लाई पनि पुनः रिलिज गर्ने सूचीमा राखेको छ । त्यसो त ‘सानो संसार’ पनि युट्युबमा उहिल्यै सार्वजनिक भइसकेको फिल्म हो । 

आखिर किन बासी फिल्म रिलिज गर्न बाध्य छन् फिल्महल ? लेखक, निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ बजारमा नयाँ फिल्म नहुनु नै मुख्य कारण मान्छन् ।
‘यो त सबैले देखिराखेकै कुरा हो , निर्माताले नयाँ फिल्म रिलिज गरिरहेका छैनन् । हलसँग धेरै विकल्प छैनन् । सहज हुने निर्माताका फिल्म पुनः रिलिज भइरहेका हुन्,’ प्रचण्ड भन्छन् । 

हल खुलेको डेढ महिना दिन बितिसक्दा पनि निर्माता नयाँ फिल्म रिलिज गर्न जुर्मुराइरहेका छ्रैनन् । कसैले फिल्म रिलिज गरेर माहोल बनाइदिए, बल्ल आफूहरू पनि रिलिज गर्ने धेरै निर्माताको सोच देखिन्छ ।

यसरी माहोल बनाउन भने नेपाली निर्माता हिन्दी फिल्मको आस गरेर बसिरहेको प्रचण्ड बताउँछन् । ‘यो पनि ओपन सेक्रेट जस्तै हो । कुनै ठूलो स्टारको हिन्दी फिल्म नआएसम्म यहाँ कोही निर्माता रिस्क लिन तयार देखिँदैनन् ,’ उनको तर्क छ, ‘ यसले फेरि हाम्रो उद्योगको हैसियत देखाएको छ ।’


Author

थप समाचार
x