कला

सुटिङका लागि ताते निर्माता, रिलिजका लागि के कुर्दैछन् ?

इकागज |
फागुन ६, २०७७ बिहीबार १४:१ बजे

काठमाडौं : एक वर्षयता नेपाली फिल्म हलमा रिलिज हुन सकेका छैनन् । माघ १ देखि हल खुले पनि दर्शक नआउने डरमा गत साल रोकिएका फिल्म दर्शक सामु जान डराइरहेका छन् । तर, यही बीचमा सुटिङमा जाने फिल्मको भने कुनै कमी छैन । कति निर्माताले लकडाउनकै बीचमा सुटिङ सकेका छन् त कतिले लकडाउन खुलेपछि ।

कति भने फागुन ÷चैतमा सुटिङ गर्ने तरखरमा छन् ।  यसरी फिल्मको सुटिङ मात्र भइरहने तर फिल्म रिलिज चैं नहुने हो भने अर्को साल रिलिज क्यालेन्डरमा दबाब पर्ने अनुमान गर्न सकिन्छ । अझ यसमा पनि बिदाको समयमा एकै मितिमा तीनचार फिल्म रिलिज गर्न तँछाडमछाड गर्नेछन् । आउँदो दसैँका लागि भइसकेको तीन फिल्मका घोषणाले यही संकेत गर्छ । अझ नजिकै आउन लागेको नयाँ वर्षका लागि पनि तीन फिल्मले आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । 


यसैबीच सुटिङमा निस्कन लागेका फिल्मको सूची पनि कम लामो छैन । जाडो सकिएसँगै निर्माता फ्लोरमा निस्कन लागेका छन् ।  फागुन लागेसँगै सुवर्ण थापा पालुङ निस्किएका छन् । दर्जन हाराहारी चलेका अनुहारको उपस्थिति रहने ‘राधा’को हाल धमाधम सुटिङ भइरहेको छ । 

सरस्वतीको पूजाको दिन मात्र दुई फिल्मले फागुनमा जाने गरी आफ्नो ‘कास्ट एन्ड क्रु’ सार्वजनिक गरेका छन् । दिनेश राउतको ‘प्रकाश’ र दीपक श्रेष्ठको ‘घिन्ताङ’ले दुई दिन अघि मात्र फागुनमा फ्लोरमा जाने गरी कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेका हुन् । 

दयाहाङ राई निर्माताका हट केक बनेका छन् यतिबेला । उनको समय पाउन र पाएको समय मिलाउन निर्मातालाई हम्मे हम्मे परिरहेको छ । समयको चटारोबीच दयाले ‘बिहे पास’को सुटिङ थाल्दैछन् । केही समय अघि सार्वजनिक समाचारमा चैतको पहिलो हप्ता सुटिङमा जाने भनिएको भए पनि दयाको यो फिल्म फागुनमा नै फ्लोरमा जानेछ । 

दीपेन्द्र के खनालको ‘चिसो मान्छे’ पनि फागुनमा नै फ्लोरमा जाने तरखरमा छ । भर्खरै लोकेसन स्काउट गरेर फर्किएको टोलीले लामो समयदेखि फिल्मको तयारी गरिरहेको छ । अनमोल केसीको ‘ए मेरो हजुर ४’ पनि फागुन महिनामै फ्लोरमा जानेछ । १५\२० दिनको अन्तिम सेड्युलसँगै यो फिल्मको सुटिङ सकिनेछ ।

निर्माण टिमले अहिले फिल्मकी हिरोइन सुहाना थापाको प्रतीक्षा गरिरहेको छ । सुहाना हप्तादिन पछि बल्ल नेपाल आउँदैछिन् । भर्खरै अर्पण थापालाई फिल्ममा अनुबन्ध गरेका पुरन थापाले पनि नयाँ फिल्म ‘तीन जुँगे’को सुटिङ फागुन तेस्रो साताबाट गर्ने जनाएका छन् । 

बजारभन्दा धेरै फिल्म निर्माण हुनु नेपाली फिल्म उद्योगको समस्या रहँदै आएको छ । यसले अनावश्यक मूल्यवृद्धिसँगै उद्योगलाई घाटाको व्यापार गर्ने थलोको रुपमा पनि स्थापित गराउँदै लगिरहेको छ । यो समस्या अबका दिनमा झन् बढ्नेछ । किनकि अघिल्लो साल रिलिज हुन लागेका फिल्म छँदैछन् यही बीचमा दोब्बर तेब्बर फिल्म पनि बन्दैछन् । यसले अर्को साल निर्माताबीच राम्रै भिडन्त हुने पक्का छ । 
 


Author

थप समाचार
x