कला

एकै सिजन धेरै अवार्ड जित्नैमा ‘नोमडल्यान्ड’ निर्देशकको कीर्तिमान

इकागज |
फागुन ६, २०७७ बिहीबार १७:६ बजे

लसएन्जल्स : नयाँ वर्ष लागेसँगै अमेरिकामा दिनहुँ नयाँ अवार्ड कार्यक्रम हुन्छन् र तिनमा विजेताको नाम घोषणा हुन्छ । अमेरिकाको सबैभन्दा ठूलो अवार्ड अस्कर हुन बाँकी नै छ । यसैगरी गोल्डेन ग्लोबको पनि मनोनयन मात्र सार्वजनिक भएको छ । तर, यसबाहेक जति पनि अवार्ड घोषणा भएका छन् तिनमा विरलै क्लोई झाओ छुटेकी छिन् ।

‘नोमडल्यान्ड’बाट हरेक अवार्डको मनोनयनमा स्थान बनाउँदै आएकी उनले खाली हात पनि हुनु परेको छैन । उनले यही सिजन मात्र तीन विधाबाट ५४ अवार्ड जितेकी छिन् । ‘वुमन इन हलिउड’ले उनले जितेका अवार्डको तथ्यांक सार्वजनिक गर्दै क्लोईले निर्देशनबाट ३४ , पटकथाबाट १३ र सम्पादनबाट ९ अवार्ड जितेको जनाएको छ ।


भेराइटीका अनुसार क्लोईले एकै वर्ष अवार्ड जित्नेमा अलेक्जेन्डर पाइने (साइडवेज,२००४)को नाममा रहेको रेकर्डलाई उछिनेकी हुन् । पाइनेले उसबेला ४२ ओटा अवार्ड जितेका थिए । तर, क्लोईको अवार्ड थाप्ने सिलसिला यहीँ सकिनेवाला छैन । ‘नोमडल्यान्ड’ गोल्डेन ग्लाबेमा चार विधामा मनोनयनमा छ भने आउँदो मार्च १५ मा अस्करको पनि घोषणा हुनेछ । दुवै अवार्डमा ‘नोमडल्यान्ड’लाई मुख्य दाबेदार मानिँदै आएको छ । 
को हुन् क्लोई झाओ ?
फिल्म बनाउन सुरु गरेको ५ वर्षमै हलिउडको टप निर्देशक बन्न सफल क्लोई चिनको बेइजिङमा जन्मिएर पढाईको सिलसिलामा अमेरिका आइपुगेकी हुन् । न्युयोर्क फिल्म प्रडक्सनको अध्ययन गरेकी उनले सन् २०१५ मा पहिलो फिल्म ‘सङ्स माई ब्रदर टट मी’ निर्देशन गरेकी थिइन् ।

दाजु बहिनीको सम्बन्धको कथा पेस गर्ने यो फिल्म सन्डान्समा छनोट भएको थियो भने कान्समा पनि देखाइएको थियो । यसको दुई वर्ष पछि उनले ‘दि राइडर’को निर्देशन गरेकी थिइन् । यो फिल्म पनि कान्समा प्रदर्शन भएको थियो भने यसले अन्य केही फेस्टिभलमा अवार्ड जितेको थियो । 

त्यसपछि क्लोईले निर्देशन गरेको ‘नोमडल्यान्ड’ले अवार्डको भेल नै ल्याएको छ । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्मले त्यहीँ गोल्डेन लायन जितेको थियो भने टोरन्टो र पिपल्स च्वाइस अवार्डमा पनि उत्कृष्ट फिल्म चुनिएको थियो । क्लोई गोल्डेन ग्लोबमा मनोनयनमा पर्ने एसियाली मुलकी पहिलो महिला निर्देशक हुन् । 

लेखन, निर्देशन र सम्पादन पनि आफैं गर्ने क्लोईको अबको फिल्म भने मार्भल स्टुडियोले निर्माण गरेको ‘इटर्नल्स’ हो । यो फिल्ममा एन्जोलिना जोली, सलमा हायक, कुमाई नान्जिआनी, रिचार्ड मेडन आदि कलाकारको अभिनय रहेको छ । 


Author

थप समाचार
x