कला

कवि लेखकले मात्रै विसंगतिलाई खबरदारी गर्छन् - तुलसी दिवस

लेखराम सापकोटा |
फागुन ८, २०७७ शनिबार १४:४३ बजे

सौराहा, चितवन :  कवि तुलसी दिवसले मुलुकमा बेथिति र विसंगतिका विरुद्ध निर्धक्क भएर बोल्न सक्ने कवि, लेखकहरू नै भएको बताएका छन् ।  कविडाँडा साहित्य समाजको १८ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै कवि दिवसले कवि, लेखकहरूले मात्रै बेथितिलाई खबरदारी गरिरहेको बताए ।

`लेखकले जहिले पनि आफूलाई लेख्नुपर्छ, आफ्नो ढंगले लेख्नुपर्छ´, कवि दिवसले भने -`अर्काको सिको गरेर आफूलाई अर्काको अधिनमा राख्नुहुन्न, लेखकले स्वतन्त्र भएर लेख्नुपर्छ ।´ 


बिदेशमा कवि लेखकहरूलाई जीवित सम्पदाको रूपमा सम्मान गर्ने गरिएको तर नेपालमा स्रस्टाहरू सधैँ ओझेलमा बस्नुपरेकोमा दिवसले असन्तोष व्यक्त गरे । `लेखक स्रस्टालाई सम्मान गर्नुपर्छ भनेर नियम बनाइन्छ, तर कार्यान्वयन गरिन्न´, कवि दिवसले भने- `नेपालमा कुर्सीमा बस्नेले गफ मात्रै गर्ने तर काम नगर्ने परिपाटी अहिलेसम्म हटेन ।´ 

समारोहमा कविडाँडा साहित्य समाजले आयोजना गरेको कविता प्रतियोगितामा पुरस्कृतलाई सम्मान गरियो । प्रतियोगितामा तेह्रथुमका रोहित ढुंगाना प्रथम भएका छन् । ढुंगानाको `सेतो तन्ना´ शीर्षकको कवितालाई निर्णायकले प्रथम भएको घोषणा गरे । उनले नगद १५ हजार १६० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी झापाका निरज दाहालले द्वितीय स्थान हासिल गरे । दाहालको `भकारी´ शीर्षकको कवितालाई नगद १० हजार १६० रुपैयाँ सहित प्रमाणपत्रले पुरस्कृत गरियो । त्यसैगरी बाग्लुङकी अस्मिता पौडेलको `प्रेमको इन्द्रेणी´ शीर्षकको कविताले तृतीय स्थान हासिल गर्‍यो । पौडेलले नगद ७ हजार १६० रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा नवलपरासीका अन्जान प्रदीपको ` रक्तवीर र निशानीहरू´, चितवनकी अमिता कँडेल आख्यानको `संयोगले सुरक्षीत म´, मोरङका नगेन्द्र सुवेदीको `मलाई बा जस्तै बन्नुछ´, रौतहटकी रेणुका जिसीको `प्रश्नसहित उभिएकी उहिलेकी एक अबला´, अछामका लक्ष्मण संगमको `झर्नु´, अछामकै वीरेन्द्र जैसीको `पहाड धानिरहेकी नारीको मनोदशा´ र कास्कीका संयोग वस्यालको `न्याय उवाच´ शीर्षकका कविताहरू उत्कृष्ट  १० भित्र परे ।

उत्कृष्ट १० भित्र परेका यी स्रस्टालाई नगद २ हजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरियो । कार्यक्रममा उपस्थित पुरस्कृत स्रस्टाले आआफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा कविडाँडा साहित्य समाजले स्थापना गरेका विभिन्न पुरस्कारहरू पनि वितरण गरिएको छ ।

कविडाँडा साहित्य सम्मान तथा देव-खिना स्मृति  पुरस्कार-२०७७ बाट कवि एवम् निबन्धकार गायत्री श्रेष्ठलाई सम्मान गरिएको छ । यो पुरस्कारको राशि ११ हजार १६० रुपैयाँ र सम्मानपत्र छ । कविडाँडा राष्ट्रिय साहित्य सम्मान तथा देव - खिना स्मृति पुरस्कार-२०७७ बाट कवि गोपाल पराजुली र कुन्ता शर्मा सम्मानित भएका छन् । यो पुरस्कारको राशि पनि ११ हजार १६० र सम्मानपत्र छ ।

त्यसैगरी कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार रामबाबु घिमिरेको निबन्धसङ्ग्रह `केन्द्र र परिधी´लाई दिइएको छ । यो पुरस्कारको राशि पनि ११ हजार १६० र सम्मानपत्र छ । त्यस्तै कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार भुवन ढुंगानाको उपन्यास `परित्यक्ता´लाई दिइएको छ । यो पुरस्कारको राशि २५ हजार १६० रुपैयाँ र सम्मानपत्र छ ।


Author

थप समाचार
x