कला

'सम्बोधन'पछि 'वरदान'मा दोहोरियो दया र नम्रताको जोडी

इकागज |
फागुन ९, २०७७ आइतबार १५:४४ बजे

काठमाडौं :  दयाहाङ राई र नम्रता श्रेष्ठले ुवरदानु नामक सर्ट फिल्ममा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन शनिबार ललितपुरमा सकिएको छ । दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा अभिनय गरेका हुन् । यसअघि दया र नम्रताले 'सम्बोधन'मा सँगै काम गरेका थिए । 

मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय फिल्ममा उठाइएको छ । विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा दर्शकले हेर्न पाउनेछन् । मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन् । फिल्म कोसिस नेपालले निर्माण गरेको हो ।


कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस बढेकोले यस विषयमा फिल्म बनाउने सोच पलाएको निर्देशक दीपेन्द्रले बताए । 'डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ, तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,' दीपेन्द्रले भने, 'डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो ।'

फिल्मको कथावस्तु मन परेर नै अभिनय गर्न आफू तयार भएको नम्रता बताउँछिन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका विषयमा मैले विभिन्न मञ्चमा बोल्दै आएको छु, नम्रताले भनिन्, यो फिल्मले यस विषयमा सशक्त सन्देश दिन्छ भन्ने विश्वास लिएको छु ।'

करिब २० मिनेट अवधिको  फिल्ममा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको फिल्म केही हप्तापछि अनलाइन प्लेटफर्ममा रिलिज गरिनेछ ।


Author

थप समाचार
x